सेयर बजारको उतारचढावमा कारोबार गर्न नसक्ने वा जोखिम लिन डराउने हुनुहुन्छ?
हो भने, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का इकाइहरू एउटा माध्यम हुन सक्छ।
कम्पनीहरूले सेयर जारी गरेजस्तै सामूहिक लगानी कोषहरूले इकाइ जारी गरेका हुन्छन्।
निश्चित अवधिसम्मका लागि बनाइएको यस्तो कोषको व्यवस्थापन सामूहिक लगानी कोष सञ्चालन गर्नेहरूले गरिरहेका हुन्छन्।
नेपालमा सामूहिक लगानी कोषहरूका खुलामुखी र बन्दमुखी गरी दुई किसिमका योजना सञ्चालनमा छन्।
खुलामुखी योजनाको कुनै परिपक्व मिति हुँदैन। सेयर बजारमा यसको कारोबार नभए पनि व्यवस्थापकहरू मार्फत नियमित कारोबार हुन्छ।
हाल यस्ता १४ वटा योजना सञ्चालनमा छन्।
तर बन्दमुखी योजनाको निश्चित अवधि तोकिएको हुन्छ। यसको सेयर बजारमा कारोबार समेत हुन्छ। अहिले बजारमा यस्ता कोषका ४३ वटा योजनाको कारोबार हुन्छ।
यस्ता योजना परिपक्व भएपछि लगानीकर्ताले प्रति इकाइ खुद सम्पत्ति मूल्य (न्याभ) को आधारमा हुने बराबरको रकम फिर्ता पाउँछन्।
यस्ता कोषहरूले हरेक महिना आफ्नो लगानीमा भएको परिवर्तन, खुद सम्पत्ति मूल्यमा भएको परिवर्तनको विवरण पनि प्रकाशन गर्छन्।
बजार घट्दा यस्ता कोषमा किन लगानी गर्ने त?
सामान्यतया साधारण लगानीकर्तालाई भविष्यमा कुन कम्पनी राम्रो हुन्छ भनेर छुट्ट्याउन कठिन हुन सक्छ।
सामूहिक लगानी कोषका व्यवस्थापकहरूले भने विस्तृत अध्ययन, वित्तीय विवरण विश्लेषण तथा बजार अवस्थाको मूल्यांकन गरेर लगानी गर्ने भएकाले दीर्घकालमा राम्रो प्रतिफल दिन सक्ने सम्भावना रहन्छ।
बजार बढिरहेको समयमा भन्दा घटिरहेको समयमा यस्ता कोषले पनि लगानी बढाउन सक्ने अवस्था हुन्छ।
कोष व्यवस्थापकहरूले बजार घटेका बेला चरणबद्ध रूपमा लगानी बढाउने रणनीति अपनाउँछन्। यसले औसत खरिद मूल्य घटाउन सहयोग पुग्छ।
त्यसैले पनि यस्तो समयमा सामूहिक लगानी कोषका योजनाहरूमा लगानी बढाउन सकिन्छ।
बजारमा आफ्नो र राम्रै रणनीति हुनेहरूका लागि भने यो विकल्प सही नहुन पनि सक्छ।
सामूहिक लगानी कोषमा लगानी गर्नुका अन्य फाइदाहरू
सामूहिक लगानी कोषलाई तुलनात्मक रूपमा सुरक्षित र व्यवस्थित विकल्पका रूपमा लिइन्छ। सेयर बजारको ज्ञान नहुनेले समेत यस्ता इकाइबाट लगानी सुरू गर्न सक्छन्।
योजना व्यवस्थापकहरूले बजार विश्लेषण गरेर लगानी गर्ने भएकाले लगानीकर्ता आफैले विश्लेषण गर्नुपर्ने बाध्यता हुँदैन।
त्यस्तै, यस्ता योजनाले बजारका सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन्। त्यसैले कुनै एक क्षेत्र कमजोर हुँदा पनि यस्तो कोषबाट गरिएको सम्पूर्ण लगानीमा ठूलो असर पर्नबाट जागिने गरी रणनीति बनाइएको हुन्छ।
व्यक्तिगत लगानीकर्ताहरूले त आफ्नो भावना अनुसार निर्णय लिन सक्छन्। यस्ता कोष भने संस्थागत हुने भएकाले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट लगानी गर्छन्।
अहिले बैंक तथा वित्तीय संस्थाहरूले सामान्य बचतमा ३ प्रतिशत र मुद्दती बचतमा ६ प्रतिशतभन्दा कम ब्याजदर दिइरहेका छन्। यस्तोमा सेयर बजारमा लगानी गर्न नजान्नेका लागि पनि सामूहिक लगानी कोष एउटा विकल्प हुन सक्छ।
सामूहिक लगानी कोषका कुन योजना किन्ने?
सामूहिक लगानी कोषका कुन योजनाको प्रति इकाइ खुद सम्पत्ति मूल्य धेरै छ। त्यस्तो इकाइमा लगानी गर्न सकिन्छ।
कतिपयको प्रति इकाइ खुद सम्पत्ति मूल्यको तुलनामा बजारमा इकाइ मूल्य कम भएका पनि हुन्छन्।
कोषको सम्पत्तिलाई प्रतिइकाइमा भाग लगाउँदा प्रति इकाइ खुद सम्पत्ति मूल्य निस्कन्छ। खुद सम्पत्ति मूल्यको तुलनामा बजारमा इकाइ मूल्य कम भएका योजना किन्न सकिन्छ।
यस्ता योजनाहरूको कार्यसम्पादनको मूल्यांकन गर्ने भनेको विगतमा यस्ता इकाइले दिइरहेको लाभांश पनि हो। राम्रो लाभांश दिइरहेका यस्ता योजनाका इकाइहरू पनि लगानीको लागि सही हुन सक्छ।
यस्ता योजना सञ्चालकहरू कस्ता छन्, उनीहरूको पृष्ठभूमि कस्तो छ भन्ने विचार गरेर पनि इकाइहरूमा लगानी गर्न सकिन्छ।
यद्यपि, सामूहिक लगानी कोष पूर्ण रूपमा जोखिमरहित हुँदैन। बजार लामो समय घटिरहे यस्ता योजनाको प्रतिफल पनि घट्न सक्छ।
वा, अनावश्यक जोखिम लिएर उच्च मूल्यका सेयरमा लगानी गरेकाहरूले समय समयमा नोक्सान पनि बेहोरिरहेका हुन्छन्।
त्यसैले लगानीकर्ताहरूले यस्ता कुरामा ध्यान दिन जरूरी हुन्छ।