विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेपछि त्यसले कांग्रेसभित्र तरंग ल्याएको छ।
सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र शशांक कोइराला निकट नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
सभापति थापाले नेताहरूसँग छलफल गरेर केन्द्रीय समिति विस्तार गरे कि व्यक्तिगत कुराकानीका आधारमा गरे भन्ने कांग्रेस वृत्तमा चासोको विषय बनेको छ।
विशेष महाधिवेशनमा सहभागी नभएका देउवा निकट ११, शेखर निकट ७ र शशांक निकट १ जना केन्द्रीय सदस्यमा मनोनीत भएका हुन्।
संस्थापन पक्षले यो कदम पार्टी मेलमिलापका लागि गरिएको प्रयास हो भनेको छ।
नेता पूर्णबहादुर खड्काले भने यो निर्णयले पार्टीको बृहत एकता उद्देश्यमा ठेस पुगेको बताएका छन्।
'सम्बन्धित सबैमा प्रस्ट होस्, हिजो वैशाख २८ गते गरेको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल, परामर्श भएको छैन, मेरो जानकारीमा पनि छैन,' उनले भने, 'मेरो प्रस्ट मत छ — २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ।'
यस्तै भनाइ छ, नेता शेखर कोइरालाको पनि।
उनले आफू निकट नेताहरूलाई मंगलबार बिहान सम्पर्क कार्यालयमा बोलाएर कुराकानी गरे।
'वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,' कोइरालाले सचिवालयमार्फत् सार्वजनिक गरेको आफ्नो धारणामा भनिएको छ।
विशेष महाधिवेशनमा भाग नलिएकाहरूलाई केन्द्रीय समितिमा समेट्दा कसरी पार्टीको बृहत्तर एकतामा ठेस पुग्यो भन्ने शेखरले खुलेर भनेका छैनन्।
सभापति थापाले केही दिनअघि नेता पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग कुराकानी गरेका थिए। संस्थापन पक्षले भने त्यही छलफल र नेताहरूका विगतका योगदान हेरेर पनि केन्द्रीय समितिमा समेटिएको बताउने गरेको छ।
यसबारे मंगलबार आफू निकट नेताहरूसँगको छलफलमा शेखरले पनि केही कुरा खुलाएका थिए।
'ठूलो समिति बनाए पनि केही हुँदैन, पार्टीभित्र सबैलाई मिलाएर लैजानुपर्छ भनेर मैले गगनजीलाई भनेको थिएँ,' नेता कोइरालाले आफू निकट नेताहरूसँगको छलफलमा भनेका कुरा उद्धृत गर्दै केन्द्रीय सदस्य दिनेश कोइरालाले सेतोपाटीसँग भने।
क-कसलाई केन्द्रीय सदस्य बनाउने भनेर सभापति थापाले नेता कोइरालासँग नाम भने मागेका थिएनन्।
केन्द्रीय सदस्य मनोनीत गर्दा पुरानादेखि नयाँ पुस्तासम्म, दलित, मधेसी, महिला, जनजाति र हिमाली भूगोलको प्रतिनिधित्वका आधारमा गरेको संस्थापन पक्षको भनाइ छ।
सभापति गगन थापाले केन्द्रीय समितिमा बसेर काम गर्न चाहनेहरूलाई वातावरण बनाउने काम भएको बताए।
'जो १४औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा हुनुहुन्थ्यो तर विशेष महाधिवेशनबाट आएको समितिमा हुनुहुन्न, ती नेताहरूलाई सम्मानपूर्वक अहिलेको केन्द्रीय कार्यसमितिमा बसेर काम गर्ने वातावरण बनाउन हामी तयार भएका हौं,' सभापति थापाले भने, 'थुप्रै साथीहरूले केन्द्रीय समितिमा रहेर काम गर्छु भन्नुभएको छ।'
उनले पार्टीलाई एकताबद्ध बनाउन र असोजमा हुने १५औं महाधिवेशनमा लैजान क्रियाशील सदस्यता व्यवस्थापन समिति र निर्वाचन समिति लगायतमा पनि सबै पक्षलाई समावेश गरेर जान सकिने बताएका छन्।
'महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति छ। त्यो समितिमा को-को सदस्य राख्दा सबैलाई चित्त बुझ्छ, छलफल गरेर बसौं,' सभापति थापाले भने, 'प्रेमबहादुर खड्का नेतृत्वमा निर्वाचन समिति छ, त्यसमा को-को राखे चित्त बुझ्छ छलफल गरेर राखौं। सबैलाई समेटेर १५औं महाधिवेशनमा जाने हो।'
संस्थापन इतर पक्षका नेताहरूले क्रियाशील सदस्यता र निर्वाचन समितिहरू एकलौटी हुन नहुनेमा ध्यानाकर्षण गराउँदै आएका थिए।
प्रवक्ता देवराज चालिसे केन्द्रीय समिति विस्तार गरेर पार्टीभित्र मेलमिलापको सन्देश दिन खोजिएको बताउँछन्।
'पार्टीभित्र मेलमिलापकै सन्देश दिन खोजिरहेका छौं। केन्द्रीय समितिमा सबै पक्षलाई समेट्न खोजिएको हो। हामीले आग्रह र पूर्वाग्रह राखेका छैनौं,' उनले भने, 'पार्टीभित्र केही फरक मत देखियो भने हामी विधान भित्रैबाट समाधान खोज्छौं। विवाद समाधान गर्ने नाममा पार्टी विधानले नचिनेको संरचना बनाएर हुँदैन। उपलब्ध संरचनाभित्रै सहमति खोज्ने हो। हामी पनि प्रक्रियाबाटै आएका हौं।'
संस्थापन इतर समूहले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति र १४औं महाधिवेशनबाट आएको केन्द्रीय समिति मिलाएर १५औं महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने एजेन्डा अघि सारेको छ।
प्रवक्ता चालिसेका अनुसार विधान बाहिरको संरचना बनाउन सकिँदैन।
'अधिवेशन निष्पक्षताको सुनिश्चितता हामीले दिनुपर्ने हो, त्यसमा हामी तयार छौं। अधिवेशन प्रक्रिया अघि बढाउन क्रियाशील सदस्यता समिति लगायत कहाँ कहाँ आश्वस्त पार्नुपर्ने हो, त्यसमा हामी त खुला छौं,' उनले भने, 'व्यक्ति केन्द्रित इच्छा र आकांक्षा त पूरा गर्न गाह्रो पर्ला।'
प्रवक्ता चालिसे नेताहरूको सिफारिसका आधारमा केन्द्रीय सदस्य मनोनीत नगरिएको बताउँछन्।
'नेताहरूको सिफारिसका आधारमा हामीले केन्द्रीय सदस्य मनोनीत गरेका होइनौं,' उनले भने, 'भविष्यमा केन्द्रीय समिति फेरि विस्तार गरिन्छ। हामीले पार्टी एकताबद्ध छ भन्ने सन्देश दिएका हौं। आग्रह-पूर्वाग्रह कसैमाथि राखिएको छैन। हिजो टिकट वितरणमा पनि सबैलाई मिलाएर गएको हो।'
हामीले केन्द्रीय सदस्य मनोनीत भएका केही नेताहरूसँग पनि कुराकानी गरेका छौं।
केन्द्रीय सदस्य दिनेश कोइरालाले आफूलाई मनोनीत गरिएपछि मात्र थाहा पाएको प्रतिक्रिया दिए।
'नेताले नाम दिएर केन्द्रीय सदस्य मनोनीत गरिएको हो जस्तो लाग्दैन, केन्द्रीय सदस्य मनोनीत भएपछि मैले थाहा पाएको हुँ,' उनले भने।
देउवा निकट नेता अजयकुमार चौरसियाले केन्द्रीय सदस्य मनोनीत गरिएको विषयमा अहिले केही टिप्पणी नगर्ने बताए।
'म गाउँतिर छु, केन्द्रीय सदस्य बनाइएको विषयमा अहिले केही नबोलौं,' उनले भने, 'यसबारे पछि कुरा गरौंला।'
केन्द्रीय सदस्य मनोनीत भएकी एक नेताले नाम उल्लेख नगरिदिन आग्रह गर्दै सल्लाहमै सभापतिले केन्द्रीय सदस्य मनोनीत गरेको बताइन्।
'हाम्रो समूहका नेताले नाम दिएर होइन, सभापतिजीसँग सिधा कुराकानी भएर केन्द्रीय सदस्य बनेका हौं। हामीले नै पार्टीमा काम गर्न चाहेर केन्द्रीय समितिमा बसेको हो,' उनले भनिन्।
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि केन्द्रीय समितिमा समेट्दै गर्दा संस्थापन इतर पक्षले भने भेला जारी राखेको छ।
देउवा निकट नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला लगायतले भेलाको अगुवाइ गरेका छन्। मंगलबार कोशी प्रदेशस्तरीय भेला विराटनगरमा भएको छ भने बुधबार बागमती प्रदेशस्तरीय भेला हुनेछ।
देउवा पक्षका एक नेताका अनुसार सातै प्रदेश भेला गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी छ। संस्थापन पक्षसँग एजेन्डागत रूपमा वार्ता नभएकाले विचार समूह बैठक प्रदेशस्तरमा गरिएको ती नेताले बताए।
ती नेताका अनुसार प्रदेशस्तरमा छलफलका लागि कोशीमा पूर्वमहामन्त्री सिटौला, बागमतीमा नेता प्रकाशशरण महत, गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही, सुदूरपश्चिममा एनपी साउदलाई जिम्मेवारी दिइएको छ।
देउवा पक्षले प्रदेशगत रूपमा भेला गरिराख्दा संस्थापन पक्षले भने देउवा पक्षकै धेरै नेता आफूतर्फ तानेर केन्द्रीय सदस्य मनोनीत गरेको छ।