थाइराइड भनेको एउटा ग्रन्थी हो। त्यसले निकाल्ने हर्मोनहरू शरीरका सबै अंगलाई चाहिने हर्मोन हो। यदि हर्मोनमा गडबडी भयो भने कुनै पनि अंगमा लक्षण देखिन सक्छ। टाउकोको कपालदेखि लिएर खुट्टाको नङसम्म कुनै पनि अंगमा त्यसको असर देखिन सक्छ। धेरैलाई देखिने लक्षणहरू यस प्रकार छन्:
- कपाल झर्ने
- अत्यधिक थकाइ लाग्ने
- तौल बढ्ने वा घट्ने
- कब्जियत हुने वा झाडापखाला हुने
- मुटु ढुकढुक हुने (धड्कन बढ्ने)
- महिलाहरूमा महिनावारी गडबडी हुने
- गर्भ रहन गाह्रो हुने वा गर्भ बस्न समस्या हुने
- शरीरका कुनै पनि अंगमा असर देखिन सक्ने (टाउकोदेखि खुट्टाको नङसम्म)
- कुनै पनि अंगको रोग आफ्नै कारणले पनि हुन सक्छ, अनि थाइराइडको कारणले पनि हुन सक्छ।
विशेष गरी महिलाहरूमा अटोइम्युन थाइराइड डिजिज बढी देखिन्छ। यो युवा वयस्क अवस्थामा बढी हुन्छ। तर अहिले बच्चाहरूमा पनि नदेखिने भन्ने हुँदैन। हिजोआज बढ्दो प्रदूषण, केमिकलको प्रयोग लगायतका समस्याले गर्दा महिला–पुरूष दुवैमा देखिन थालेको छ। २० देखि ४० वर्षको उमेरका महिलाहरूमा अटोइम्युन थाइराइड बढी देखिन्छ। तर यसले कुनै पनि उमेर समूहलाई छोड्दैन।
थाइराइडको परीक्षण कहिले गर्ने?
यसमा स्क्रिनिङ गर्ने भन्ने हुँदैन। लक्षण देखिएपछि मात्र थाइराइडको परीक्षण गर्ने हो। कुनै पनि अंगमा लक्षण देखिएपछि थाइराइड परीक्षण गर्नुपर्छ। हामी यत्तिकै परीक्षण गर्न सुझाव दिँदैनौं। यति उमेर पुगेपछि मात्र परीक्षण गर्ने भन्ने पनि हुँदैन। कुनै महिलाले गर्भको तयारी गरेको छ भने थाइराइडको परीक्षण गरिन्छ। किनकि गर्भवतीमा थाइराइड थोरै मात्र बढे पनि त्यसको उपचार चाहिन्छ। थाइराइड भएमा गर्भ नरहने वा रहे पनि खेर जाने खतरा हुने भएकाले परीक्षण जरूरी छ।
यसको उपचार
थाइराइडको उपचार यसको रोगको किसिमको आधारमा हुन्छ। हर्मोन कम हुने रोगलाई हाइपोथाइराइडिज्म भनिन्छ भने हर्मोन बढी हुने रोगलाई हाइपरथाइराइडिज्म भन्छौं। हर्मोन कम हुने रोगको उपचारका लागि बाहिरबाट हर्मोन खाने हो। हर्मोन बढी हुने रोगको लागि हर्मोन घटाउने औषधि खाने हो। कतिपय अवस्थामा अपरेसन गर्नुपर्ने पनि हुन सक्छ।
गलगाँड छ भने त्यहाँबाट पानी निकालेर परीक्षण गरिन्छ। यदि क्यान्सर रहेछ भने त्यही अनुसारको उपचार जरूरी पर्छ। क्यान्सर भएमा अपरेसन वा त्यसलाई सुकाउने उपचार पनि गर्न सकिन्छ।
कहिलेकाहीँ थाइराइडमा पानीको फोका मात्र पनि हुन सक्छ। फोका ठूलो छ भने पानी तानेर सुकाउन पनि सकिन्छ। कहिलेकाहीँ भाइरल संक्रमणले गर्दा पनि हुन सक्छ, तर त्यो अस्थायी मात्र भएकाले औषधिले ठीक हुन्छ। यसको उपचार रोगको प्रकार अनुसार हुन्छ।
के थाइराइडको औषधि सधैं खानुपर्छ?
एउटा गलत बुझाइ के छ भने थाइराइडको औषधि सुरू गरेपछि सधैं खानुपर्छ भन्ने। तर त्यस्तो होइन। अटोइम्युनसँग सम्बन्धित थाइराइड छ भने यसको उपचार लामो हुन्छ, जीवनभर औषधि खानुपर्ने पनि हुन सक्छ। कतिपय थाइराइड समस्यामा केही समय औषधि खाएर ठीक हुन्छ भने कतिपयमा औषधि नखाँदा पनि ठीक हुन सक्छ।
थाइराइडका बिरामी बढ्नुका केही कारण छन्। अहिले एकै दिनमा रिपोर्ट आउँछ। आजभन्दा १५ वर्ष पहिला महिनामा एक पटक मात्र परीक्षण हुन्थ्यो, त्यो पनि नेपालमा सम्भव नभएर बाहिर पठाउनुपर्थ्यो। तर अहिले यसको उपलब्धता धेरै छ, जसले गर्दा रोग पत्ता लागेको हो। अर्को कुरा सबै खालका थाइराइडमा औषधि खानुपर्छ भन्ने पनि हुँदैन। कतिपय थाइराइड छोटो समयका लागि मात्र देखिन्छन्। नुनमा आयोडिनको मात्रा बढी भएको कारणले अटोइम्युन थाइराइड डिजिज बढाएको छ। तर जनचेतनाले गर्दा यसको परीक्षण धेरै भएकाले पनि यो बढेको जस्तो देखिएको हो।
थाइराइडबारे खानपिनमा पनि अलि भ्रम देखिन्छ। सुगर जस्ता रोगजस्तो खाना बार्नुपर्ने भन्ने होइन। कतिपयले बन्दा–काउली खान हुँदैन भन्ने गर्छन्, तर यसले केही अवस्थामा गलगाँडको समस्या बढाउन सक्छ, त्यो पनि धेरै मात्रामा काँचो खानेका लागि मात्र हो। धेरै खाना बार्नुपर्छ भन्ने वैज्ञानिक आधार छैन। जाँड, रक्सी, चुरोट बाहेक अरू विशेष रूपमा बार्नुपर्ने हुँदैन।
कति बिरामीले थाइराइडलाई हल्का रूपमा लिएको पनि देखिन्छ। कतिले राम्रोसँग औषधि नखाने, जसले गर्दा समस्या आउन सक्छ। गर्भवतीले पनि यसलाई खेलाँची गर्नु हुँदैन। कतिपय बिरामीले नखानुपर्ने अवस्थामा पनि औषधि खाइरहेका हुन्छन्। हिजोआज थाइराइडको औषधि अन्य विधाका डाक्टरहरूले पनि दिने गरेका छन्। कतिपय अवस्थामा मेडिकलले समेत थाइराइडको औषधि बेचिरहेका हुन्छन्। त्यसैले बिरामीले उपयुक्त ठाउँमा गएर मात्र उपचार गर्न जरूरी छ।
(वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.अंशुमाली जोशी काठमाडौं मधुमेह र थाइराइड केन्द्रमा कार्यरत छन्।)