जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा पुस्तारन्तरणको लोभलाग्दो परिदृश्य तयार भइसक्दा पनि यसले प्रतिनिधिसभाको तेस्रो ठूलो र पुरानो वामपन्थी दल नेकपा एमालेलाई कुनै प्रभाव पारेको छैन।
अहिले ३६ वर्षका युवा बालेन शाह मुलुकका प्रधानमन्त्री छन्। बालेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५१ वर्षका भए। अर्थ मन्त्रालयको बागडोर सम्हालिरहेका स्वर्णिम वाग्ले पनि ५१ वर्षकै छन्। मन्त्रिपरिषदमा अधिकांश युवा अनुहार र ४० वर्षमुनिकै बाहुल्य छ।
उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्व पनि विशेष महाधिवेशन गरेर पार्टी सत्तामा प्रभुत्व जमाएका ५० वर्षीय गगन थापाको हातमा छ।
यस्तो बेला नेकपा एमाले भने अहिले पनि पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता कि विद्या भण्डारीले प्रतिस्थापन गर्ने भन्ने बहसमा छ।
गत सोमबार बसेको सचिवालयको आठौं बैठकले विद्या भण्डारीको सदस्यता खुला गरेपछि नेतृत्वमा विद्या भण्डारीको सम्भावनाबारे फेरि बहस बाक्लिएको हो।
हुन त विद्या भण्डारीले २०८० वैशाखमै पार्टी सदस्यता नवीकरण गरिसकेकी थिइन्। दुई वर्षको सदस्यता लेबी पनि तिरिसकेकी थिइन्। अघिल्लो वर्ष असार १४ अर्थात् मदन भण्डारीको ७४औं जन्मजयन्तीको छेको पारेर पार्टी राजनीतिमा सक्रिय हुने बताएकी भण्डारीलाई ओलीले नै रोकेका थिए।
पार्टी नेतृत्वमा आफैलाई चुनौती दिन आएपछि क्षुब्ध बनेका ओलीले मदन भण्डारीलाई समेत लाञ्छित गरेका थिए।
मदनजयन्तीकै दिन ओलीले मदन भण्डारीमाथि चारवटा बिहे गरेको, सहकारी ठगेको जस्ता तथ्यहीन आरोप लाग्ने गरेको ओलीले बताएका थिए। ओलीले सम्झेका ती सन्दर्भहरू राजनीतिमा लाग्दै गरेका पछिल्ला पुस्ताले सुनेका पनि थिएनन्।
अघिल्लो साउन ५ र ६ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकबाटै मौजुदा संविधान र पार्टी विधानको धारा देखाउँदै गणतन्त्र संस्थाको नेतृत्व गरिसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कँदा गम्भीर राजनीतिक र नैतिक प्रश्न खडा हुने जस्ता कारण देखाएर ओलीले सदस्यता रोक्ने प्रस्ताव गरेका थिए।
केन्द्रीय सदस्यहरूले तीन मिनेटसम्म ताली बजाएर भण्डारीको नवीकृत पार्टी सदस्यता खारेज गर्ने निर्णयको समर्थन गरेका थिए।
त्यसको १० महिना नबित्दै सोमबारको सचिवालय बैठकले केन्द्रीय समितिको निर्णय उल्ट्याइदियो। अध्यक्ष ओलीले हिजो किन सदस्यता रोके र आज किन फुकुवा गरे? एमाले पंक्तिले यसको भेउ पाउन सकेका थिएनन्।
एक सचिवालय सदस्यले भने यसको सिधा जबाफ दिए, 'हिजो आफैलाई अप्ठ्यारो पार्ने देखिएपछि सदस्यता रोके, आज आफूलाई अप्ठ्यारो परेपछि फुकुवा गरे।'
उनले अगाडि भने, 'एमालेdf यस्ता कुराको खोजीनिती हुन छाडेको निकै भइसक्यो।'
हुन पनि एमालेको नीति, निर्णण अध्यक्ष ओलीले आफू अनुकूल चलाउँदै आएका छन्। २०७८ सालको विधान महाधिवेशनबाट एमालेले कार्यकारी कमिटीमा ७० वर्षे उमेरको सीमा तोकेको थियो। तर २०८० जेठ आइनपुग्दै एमालेले त्यसलाई निलम्बन गर्यो।
विधान र राष्ट्रिय महाधिवेशनले गरेको निर्णय सचिवालय बैठकले खुला गर्यो। विधान नेतृत्व अनुकूल बंग्याउँदा पनि एमालेमा हुनुपर्नेजति बहस नभएको पार्टी पंक्तिकै गुनासो थियो।
त्यो निर्णयलाई दोस्रो विधान महाधिवेशनले संस्थागत गर्यो। किनभने, ७४ वर्षमा हिँडिरहेका ओलीलाई ७० वर्षे उमेर हदको तगारो हाल्ने सामर्थ्य दोस्रो विधान महाधिवेशन र ११औं राष्ट्रिय महाधिवेशनको सामर्थ्य थिएन।
अहिले पनि विद्या भण्डारीलाई हिजो जे कारण देखाएर रोकिएको थियो, आज अवस्था यथावत हुँदा किन फुकुवा गरियो भनेर छलफल भएको छैन। बरू अब केपी ओली नै यथावत कि विद्या भण्डारीमा हस्तान्तरण हुनुपर्छ भनेर नयाँ बहस सुरू भएको छ।
यसले राष्ट्रिय राजनीतिमा मात्र होइन, पार्टी पंक्तिभित्रै कुनै रूचि जगाएको छैन। बरू सदस्यता त्याग गर्नेहरूको सूची बढ्दो छ। यस्तो विकर्षण पैदा हुनुको कारण भण्डारी एमालेमा नयाँ अनुहार होइन। उनी आठौं र नवौं महाधिवेशनमा उपाध्यक्ष भइसकेकी छन्। २०७२ सालमा नयाँ संविधान जारी भएदेखि २०७९ सालसम्म राष्ट्रपतिको भूमिकामा थिइन्।
एमालेमा ओली कि विद्या भन्ने राजनीतिको गति र समाजको चेतनाभन्दा निकै पुरानो भएको एमालेकै नेताहरू बताउँछन्।
एमाले केन्द्रीय सदस्य राधिका खतिवडाले यसलाई हानिकारक निर्णयको संज्ञा दिइन्। पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्र अध्यक्ष हुन पाउने व्यवस्थाको खारेजी जति हानिकारक थियो, यो निर्णय पनि त्यत्तिकै हानिकारक भएको उनको बुझाइ छ।
'एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्र अध्यक्ष हुन पाउने व्यवस्थाको खारेजी जति हानिकारक थियो, त्यत्तिकै हानिकारक छ राजनीतिमा विद्या भण्डारीको पुनरागमन,' उनले भनिन्।
उनले पार्टीको नेतृत्व हस्तान्तरण प्रक्रिया सिध्याएर पटक पटक देश चलाउने सपना नदेख्न नेतृत्वलाई चेतावनी पनि दिएकी छन्।
वर्तमान समयमा ओलीको विकल्प विद्या भण्डारी हुन नसक्ने उनको टिप्पणी छ।
'कमरेडहरू! मंसिरको बाँझोबारीमा ढोडको ठुटा गोडेर मकैको घोगा फल्दैन,' उनको टिप्पणी छ।
केन्द्रीय सदस्य नरेश रोकाया समाजको मनोविज्ञानभन्दा पार्टी फरक दिशामा रहेको भन्दै यो बाटोबाट सही गन्तव्यमा नपुग्ने बताए।
उनले समाजको मनोविज्ञान, पछिल्लो जनादेशले युवा अनुहार, नेतृत्व खोजिरहेको भन्दै पार्टीमा निःसर्त पुस्तान्तरण हुनुपर्ने बताए। उनले दोस्रो या तेस्रो पुस्तामा अविलम्ब नेतृत्व हस्तान्तरण गर्दै अवरूद्ध पार्टी आन्दोलनलाई गति दिनुपर्ने धारणा राखे।
'समाजको मनोविज्ञानले युवा खोजिरहेको छ। पुराना राजनीतिक अनुहारहरू शासनसत्ता, मुलुक चलाउने कुनै पनि ठाउँमा नदेखिऊन् भन्ने चाहिरहेको छ। तर पार्टी निर्णयले ती भावना बोक्न सकेन आन्दोलन कहाँ पुग्छ?' उनले प्रश्न गरे।
उनले अहिलेको समयमा अध्यक्ष ओलीको विकल्प विद्या भण्डारी हुन नसक्ने भन्दै प्रदीप ज्ञवाली जस्तै या सहमतिमा दोस्रो, तेस्रो पुस्ताका नेतालाई अन्तरिम नेतृत्व दिएर विशेष तथा 'अर्ली' महाधिवेशनमा जानुपर्ने बताए।
केन्द्रीय सदस्य समिक बडालले भने नेता फेर्दैमा एमाले आन्दोलन नउकासिने बताउँदै चिन्तनधारा र सांगठनिक संरचना नै पुनरवलोकन गर्नुपर्ने धारणा राखे।
'कतिपय संगठन संरचनाको उपादेयता कमजोर बनेको छ। तिनको कार्यशैलीले युवामा आकर्षण पैदा गर्न सकेको छैन। पछिल्ला युवा पुस्तालाई जोड्ने गरी सूचना, प्रविधि र नवचेतनामैत्री संरचना बनाउनुपर्ने खाँचो छ,' उनले भने।
पूर्वराष्ट्रपतिको सेवासुविधा त्यागेर पार्टी राजनीतिमा फर्कन्छु भन्दा विद्या भण्डारीलाई केन्द्रीय कमिटी बैठकबाटै रोक्नु त्रुटिपूर्ण रहेको भन्दै सचिवालय बैठकले सच्याउँदा तरंगित हुनुनपर्ने उनको भनाइ छ। बरू यसैगरी हिजो गरिएका गल्ती सच्याउँदै जाँदा पार्टी सही ठाउँमा पुग्ने उनले बताए।
'पात्र मात्रै फेरेर अब आन्दोलन अघि बढ्न सक्दैन। जनभावनाको सम्बोधन गर्दै प्रवृत्ति, कार्यशैली, संगठनात्मक ढाँचा फेर्ने र प्रविधिमैत्री व्यवहार गर्ने हो भने आन्दोलन फेरि उठ्छ,' उनले भने।
पूर्व पार्टी उपाध्यक्ष विद्या भण्डारीको सदस्यता खुला गरिएको विषयलाई लिएर एमालेभित्र आ-आफ्नै कोणबाट व्याख्या भइरहेको छ। ११औं महाधिवेशनमा ओली इतर समूहबाट प्रतिस्पर्धा गरेका एक नेताले भण्डारी पार्टी नेतृत्व बन्ने सम्भावना व्यक्त गरे।
'पार्टीभित्र ओलीबाट आन्दोलन अब अघि बढ्न सक्दैन भन्ने साझा बुझाइ बन्दैछ। हिजो ओलीकै समूहमा रहेकाहरू नै अहिले त्यो बुझाइमा बलियो भएर देखापरेका छन्। तर ओली सहजै छाड्ने मनस्थितिमा देखिँदैनन्। यस्तो बेला ओलीलाई छोडाउनकै लागि भए पनि विद्या भए मान्छौं भन्ने अवस्था बन्न सक्छ,' ती नेताले भने।
११औं महाधिवेशनमा ओलीको समूहविरूद्ध प्रतिस्पर्धा गरेकाहरू विद्या भण्डारी आए पार्टीभित्र अवरूद्ध बनेको सामूहिक छलफल, निर्णयपूर्व छलफलको परम्परा पुनः थालनी हुने विश्वास व्यक्त गर्छन्।
'उहाँले कम्तिमा हाम्रो कुरा सुन्नुहुन्छ, बैठकमा विषयवस्तुमा घनिभूत छलफल हुन्छ, हामीले बसाल्न खोजेको सामूहिक निर्णयको थिति पुनः जागृत हुन्छ भन्ने विश्वास छ,' ती नेताले भने, 'ओलीले नछाड्नै नै भएपछि यो विकल्प भए पनि हामीले स्वीकार गर्नुपर्ने हुन्छ।'
संस्थापन पक्षको बलियो आधार बनेका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल अहिले खुलेर ओलीको विकल्प खोज्न थालिसकेका छन्। यो समूहमा ध्रुवीकृत हुने नेताहरूको संख्या बढ्दो क्रममा छ।
'यसबाट त्रस्त ओलीले आफूलाई नेतृत्वमा टिकाउन विद्याको सदस्यता फुकुवा गरेका हुन्। कथम कदाचित् नेतृत्व छाड्नै परे विद्यालाई छाड्छु भन्ने दाउ पनि होला,' ओली समूहकै एक नेताले भने।
तर ओली–विद्या सम्बन्ध सदस्यता फुकुवाकै कारण नसुध्रिने तिनको दाबी छ।
सदस्यता प्रकरणपछि ओली–भण्डारी तिक्तता चरमचुलीमा पुगेको र भण्डारीलाई ओलीबाट अपमानित भएको महसुस गहिरो गरी भएकाले सदस्यता फुकुवाले घाउ नपुर्ने ती नेताले बताए।
पार्टीभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको कुरा उठे पनि र विशेष महाधिवेशनको माग भए पनि सचिवालयसम्म त्यो बहस पुगेको छैन।
सोमबार बसेको सचिवालय बैठकमा पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यता फुकाउनेबाहेक थप निर्णय भएको छैन।
शुक्रबार बस्ने बैठकमा ओलीले विकल्प दिनुपर्नेबारे बहस गर्ने नेताहरूले बताएका छन्।
यो बहस कुन रूपमा उठ्छ र ओलीको प्रतिक्रिया के हुन्छ, त्यसैले आगामी दिशा तय गर्ने एमाले नेताहरूको भनाइ छ।