पाँचथरको याङ्वरक गाउँपालिकामा शनिबार बिहानको रातीको पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी अनिश कर्णले अहिलेसम्म मानवीय क्षति भने नभएको जानकारी दिएका छन्।
उनका अनुसार पहिरोका कारण याङ्वरक-१ निवासी महमलाल खवासको घर र गोठ, कविराज राईको घर तथा बलबहादुर खालिङको घरमा क्षति पुर्याएको छ।
ओयाम बजार क्षेत्र नजिकै पनि पहिरो गएको छ। प्राकृतिक विपद्का कारण सखानेपानी, सिँचाइ कुलो र विद्युत् सेवामा समेत असर पुगेको छ।
बाढी र पहिरोले यस क्षेत्रका विभिन्न पुल र सडक सञ्जालमा क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ भने दोभानेमा डाइभर्सन र एउटा निर्माणाधीन पुल बगेको छ।
पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा आवतजावत रोकिएको छ। यसबाहेक, च्याङथापु-चाम्लिङडाँडा, च्याङथापु-एकराते र नाम्रेक-फलैचा जोड्ने झोलुङ्गे पुलहरूका साथै हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन लिम्बुनी मोटरेबल पुलमा पनि बाढीले क्षति पुर्याएको छ।
प्रभावित क्षेत्रमा विद्युत् र मोबाइल नेटवर्क अवरुद्ध भएकाले घटनाको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। पाँचथरका प्रहरी प्रमुख डिएसपी कर्णका अनुसार प्रहरीले क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेको छ।