लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धा मार्फत छविराज पोख्रेल नियुक्त भएका छन्।
प्यूठान झिमरुक गाउँपालिका – ५ का पोख्रेललाई शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद् बैठकले पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
चार वर्षे कार्यकाल पूरा भएपछि उक्त पद रिक्त रहेको थियो।
पदपूर्तिका लागि प्रदेश सरकारले कार्यविधि तयार गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही आधारमा सिफारिस समिति गठन गरी खुला प्रतिस्पर्धा प्रक्रिया सञ्चालन गरिएको थियो।
सिफारिस समितिले योग्यताक्रम अनुसार तीन जनाको नाम सिफारिस गरेको थियो।
जसअनुसार पहिलो नम्बरमा छविराज पोख्रेल, दोस्रो नम्बरमा बुटवल उपमहानगरपालिका – १६, रुपन्देहीका मन्नुप्रसाद चौधरी र तेस्रो नम्बरमा प्यूठान झिमरुक गाउँपालिका–४ का प्रकाश जिसीको नाम सिफारिस गरिएको थियो ।
योग्यताक्रम अनुसार पहिलो नम्बरमा रहेका पोख्रेललाई नै प्रदेश सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।