फिर्केखोलाको पानी अहिले सङ्लो छैन। धमिलो पनि छैन। खोलामा बहेको पानी नालीमा बगेको ढलजस्तो फोहोर छ, दुर्गन्धित छ, अनि फोहोरको डंगुरले ढाकिएको छ।
पोखराको बीच सहरबाट बग्ने यो सानो खोलाको किनारमा अहिले घरहरू ठडिएका छन्, पर्खालहरू छन्, टहराहरू छन्। कतै ढल सिधै खोलामा खसिरहेको छ। कतै प्लास्टिकको थुप्रो अड्किएको छ। पानीको बहावभन्दा फोहोरको गन्ध बढी महसुस हुन्छ।
तर यो खोला सधैं यस्तो थिएन।
फिर्केखोला किनारमै हुर्किएका पुराना बासिन्दाहरू अझै सम्झिन्छन्— एक समय यही पानी घरमा लगेर पिइन्थ्यो। यही खोलामा बच्चाहरू नुहाउँथे। बर्खामा यसको आवाज सुनेर मानिसहरू मौसम अनुमान गर्थे।
'हामी यही पानी खान्थ्यौं,' स्थानीय वृद्ध बाबुराम अधिकारी भन्छन्, 'त्यो बेला पानी यति सफा हुन्थ्यो कि पानीभित्र जमिनको ढुंगा देख्न सकिन्थ्यो।'
अहिले, त्यही खोला सहरको ढल बोकेर फेवाताल पुग्छ।
फिर्केखोला धेरै ठूलो नदी होइन। जम्मा आठ किलोमिटर लामो छ। अँधेरीकुनाबाट सुरु भएर पोखराका वडा नम्बर २, ४, ५, ६, ७, ८, १७ र १८ हुँदै बग्ने यो खोला अन्ततः फेवातालमा मिसिन्छ।
पोखरा फैलिँदै गयो। घरहरू थपिँदै गए। होटल, पसल, कलेज, सडक— सबै बढ्दै गए।
र, त्यो विकाससँगै, सहरले आफ्नो फोहोर पनि बढायो। त्यो फोहोरको सबैभन्दा सजिलो गन्तव्य बन्यो, फिर्केखोला।
-ink-1779620308.jpeg)
घरका ढल, सडकका प्लास्टिक, निर्माणका अवशेष, बजारको फोहोर सबै बर्खाको भेलसँगै यही खोलामा मिसिन थाले। सहरले बिस्तारै खोलालाई पानी बग्ने ठाउँभन्दा बढी, फोहोर बग्ने नालीमा बदल्दै लग्यो।
कतिपय ठाउँमा खोलाको वास्तविक आकार नै हराइसकेको छ। जहाँ पहिले खुला बहाव थियो। पानी फैलिएका ठाउँहरू थिए। अहिले यी ठाउँमा भवनहरू छन्। घरहरू र टहराहरू छन्। खोलाको किनार मिचेका छन्। कतैकतै खोला नै पुरेर घरसमेत बनाएका छन्।
पोखरा महानगरले २०८० सालमा गठन गरेको प्राविधिक समितिको प्रतिवेदनले यो संकटलाई उतारेको छ।
आठ किलोमिटर लामो खोलामाथि १६० वटा संरचना बनेका छन्। जसमा ९७ वटा अस्थायी संरचना छन्। १५ वटा स्थायी संरचना छन्, जसले खोला नै पुरेका छन्।
११ वटा संस्थागत स्थायी भवन छन्।
ती संरचनामा निजी घर मात्रै छैनन्, सशस्त्र प्रहरी बल तालिम केन्द्र छ। लिटल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज लगायत छन्।
फिर्केखोला अतिक्रमण व्यक्तिको समस्या मात्रै नभई संस्थागत समस्या बनेको छ।
प्रतिवेदन अनुसार, २०६० सालपछि मात्रै फिर्केले ल्याएको फोहोरले फेवातालको ११ रोपनी ४ आना क्षेत्र पुरेर चौर बनाइसकेको छ।
ताल बिस्तारै पुरिँदै गएको छ। फिर्केखोलामा बहेर गएका प्लास्टिक, ढल, सिसा लगायत फोहोरले फेवाताल पुरेर ढिस्को नै बनाएको छ। जसलाई पोखरा महानगरपालिकाले गत वर्ष मात्र डोजर लगाएर निकालेको थियो।
फिर्केखोलामाथि बनेका संरचनामा आइतबार पोखरा महानगरले डोजर चलायो। खोलाघरमा बनेका केही संरचना हटाउन सुरू गरियो।
-ink-1779620307.jpeg)
यो अभियानलाई महानगरले फिर्केखोलालाई नवजीवन दिने प्रयास भनेको छ।
मेयर धनराज आचार्यका अनुसार, योजना केवल अतिक्रमण हटाउने होइन। फिर्केखोलालाई फेरि एउटा सार्वजनिक हरियाली क्षेत्रमा बदल्ने योजना रहेको उनले बताए।
खोला किनारमा साइकल लेन, फुट ट्रेल, पार्क, खुला क्षेत्र र रैथाने बिरुवाले भरिएको हरियाली करिडोर बनाउने योजना छ। एसियाली विकास बैंकको सहयोगमा अघि बढाइने भनिएको यो योजनाको अनुमानित लागत ६२ करोड रूपैयाँ छ।
'फिर्केलाई पूर्ण रूपमा स्वच्छ र निरन्तर बग्ने अवस्थामा ल्याउन चाहेका छौं,' मेयर आचार्यले भने।
हिउँदमा पानी कम हुने भएकाले याम्दी खोलाको पानी मिसाएर फिर्केको बहाव कायम राख्ने योजना पनि महानगरसँग छ। सहरभित्र बग्ने खोलालाई प्राकृतिक बहावमा फर्काएर पर्यटकीय आकर्षण बनाउने योजना महानगरको छ।
महानगरको यस योजना लागू गर्न खोलाघरमा बनेका संरचनामा डोजर चलाएर मात्र पूरा हुँदैन। खोलाको मापदण्ड लागू गर्दा निजी तथा सार्वजनिक भवन भत्काउनुपर्छ।
लालपुर्जा भएका जग्गालाई मुआब्जा दिनुपर्नेछ। त्यसपछि मात्र एसियाली विकास बैंक (एडिबी) को सहयोगमा बन्ने भनिएको फिर्के करिडोरको योजना अघि बढ्न सक्छ।
मेयर आचार्यले खोलाघर खाली गरेपछि मापदण्ड लागू गर्दा लालपुर्जा भएको जमिनको मुआब्जा दिने बताए। खोलाको 'राइट अफ वे' खाली नगर्दा एडिबीको प्रोजेक्ट लागू गर्न ढिलाइ भएको उनले बताए।
'हामीले खोलाको राइट अफ वे खाली गर्न नसक्दा एडिबीको प्रोजेक्ट लागू गर्न २ वर्ष ढिला भयो,' उनले भने, 'अब छिट्टै राइट अफ वे खाली गरेर प्रोजेक्ट सुरू गर्छौं।'
-ink-1779620309.jpeg)
-ink-1779620308.jpeg)