होस्टेलभित्रै हत्या गरिएका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शव ५ दिनदेखि शिक्षण अस्पाल काठमाडौंमा छ।
शुक्रबार बिहान छोराको हत्याको दुःखद खबर सुनेपछि त्यो पीडा सहन गर्न नसकी दाङमा बस्ने उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको पनि दिउँसो घोराहीस्थित घरमै मृत्यु भयो।
उक्त दुःखद खबर सुनेपछि मलेसियामा रहेका बिनाका श्रीमान रोमहर्ष कालाथोकी घटनाको ५ दिनपछि मंगलबार राति स्वदेश फर्किन थालेका छन्।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’ भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी वसन्तको हत्याको खबर सुनेपछि घोराहीबाट आफन्तहरू काठमाडौं पुगेका छन्।
रोमहर्ष काठमाडौं आइसकेपछि मात्रै छोराको शव दाङ लैजाने प्रक्रिया सुरू हुनेछ।
त्यसपछि मात्रै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव गृहमा राखिएको उनकी श्रीमती बिनाको शवको पोस्टमर्टम गरी शव बुझ्ने प्रक्रिया सुरू हुने रेग्मीले बताए।
रोमहर्ष काठमाडौं आएपछि उनका छोरा बसन्त होस्टलमा भित्रै भएको आक्रमण तथा हत्या प्रक्रियाबारे बुझ्ने कार्य हुने र न्याय प्राप्तिका लागि कदम चाल्ने सल्लाह भएको रेग्मीले बताए।
अब घोराहीस्थित घरमा रोमहर्षका ११ वर्षीय कान्छो छोरा शिशिर मात्रै छन्। कक्षा ५ मा अध्ययनरत उनी दाजु र आमाको मृत्युपछि हजुरबुबा र हजुरआमाको घरमा गएका छन्।
काठमाडौंमा हत्या गरिएका वसन्त रोजगारीको खोजीमा फ्रान्स जान होस्टलमा बसेर अध्ययन गरिरहेका थिए।
वसन्तमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा त्यही होस्टलमा बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन्।
वसन्तको हत्याका आरोपी शेखर यादवलाई प्रहरीले काठमाडौंबाटै नियन्त्रणमा लिएको थियो भने अर्का आरोपी प्रमित पटेल घटनापछि फरार थिए।
उनलाई शनिबार दिउँसो मकवानपुरबाट प्रहरीले पक्राउ गरी काठमाडौं लगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।