चितवनका राजु आचार्य सन् १९९२ मा वातावरण विज्ञान पढ्न जर्मनी पुगे। ६ महिना जर्मन भाषा पढेपछि उनले पढाइ अघि बढाए।
सुरूमा उनलाई वातावरणकै क्षेत्रमा काम गर्न मन थियो। तर त्यो बेला परिस्थिति फरक भएकाले उनी व्यवसायतिर लागे।
'त्यो समयमा कागजपत्र बनाउन अलि गाह्रो थियो। पढाइ र कामभन्दा पनि व्यवसायले सहज हुन्थ्यो। त्यही भएर मैले व्यवसाय रोजेँ,' उनले भने, 'केही साथीहरूसँग मिलेर मैले पिज्जा रेस्टुरेन्ट सुरू गरेँ। मलाई त्यो बेला धेरैले प्रश्न गरे। तर जर्मनीको बसाइ सहज बनाउन त्यतातिर लागेँ।'
अहिले जस्तो सञ्चार र सामाजिक सञ्जालको सुविधा थिएन। पत्रपत्रिका पनि सहज रूपमा पढ्न पाइँदैन थियो। जर्मनीको खानाबारे त जानकारी नै थिएन। नेपालमा दालभात, तरकारी, मःम र चाउमिन खाने बानी भएका उनलाई जर्मनीमा नयाँ नयाँ खाना खानुपर्ने अवस्था आयो।
'कहिल्यै नदेखेको खाना एकैचोटि खानुपर्दा अजीब भयो। अहिले पो सबैतिरको खाना नेपालमै पाइन्छ। नखाए पनि जानकारीसम्म हुन्छ,' उनले भने, 'तर पनि मैले व्यवसाय गर्ने आँट गरेँ। दुःख–संघर्ष गरेर मैले जर्मनीमा १२ वर्ष बिताएँ।'

सन् २००३ मा उनले श्रीमती र चार सन्तानलाई जर्मनी लगे।
जेठी छोरीले नेपालबाटै एसएलसी (एसइई) पास गरेकी थिइन्। उनको अंग्रेजी माध्यमबाट पढ्ने चाहना थियो। राजुका आफन्तहरू बेलायतमा थिए। त्यसैले उनले जर्मनी छाडेर बेलायत जाने निर्णय गरे।
'छोराछोरीका लागि नजाने भन्ने नै भएन। उनीहरू आएको केही समयमै म बेलायत आएँ। बेलायतमा पनि रेस्टुरेन्ट नै खोलेँ,' उनले भने।
सुरूमा उनलाई रेस्टुरेन्ट चलाउन अलि गाह्रो भयो। बिस्तारै बानी पर्दै गए। व्यवसाय पनि बढाउँदै लगे।
उनले सुरू गरेको इन्डो–नेपाली रेस्टुरेन्टले बजार लिँदै गयो। सन् २०१० मा उनको रेस्टुरेन्ट बेलायतभरिका १० हजार इन्डियन र नेपाली रेस्टुरेन्टमध्ये १६औं नम्बरमा परेको थियो।
त्यसपछि व्यवसाय अझै फस्टाउँदै गयो। उनले रेस्टुरेन्ट विस्तार गरेर चार ठाउँमा चलाए।
रेस्टुरेन्टकै कमाइले उनले आफ्ना चार सन्तान पढाए। जेठी छोरी सुष्माले केमेस्ट्रीमा पिएचडी गरिन्। उनी क्याम्ब्रिज विश्वविद्यालयमा केमेस्ट्री विभागमा कन्सल्ट्यान्टका रूपमा काम गर्छिन्।
माइली छोरी सुनिताले बायोकेमेस्ट्रीमा स्नातकोत्तर गरेकी छन् र क्यान्सर रिसर्चमा काम गर्छिन्। बिएससी नर्सिङ गरेकी कान्छी छोरी सुजाता न्यू फरेस्ट अस्पतालमा स्ट्रोकसम्बन्धी बिरामी हेर्छिन्। छोरा सुशान्त आचार्य जिपी ट्रेनिङमा छन्।

सन् २०१८ मा राजुले रेस्टुरेन्ट व्यवसाय छाडे र होटलमा लगानी गरे।
अहिले उनी बेलायतको लिन्डहर्स्ट, ह्याम्पसायरमा ओरमन्ड हाउस होटल चलाइरहेका छन्। सन् १९५१ मा खुलेको यो थ्री–स्टार होटलमा उनी तेस्रो लगानीकर्ता हुन्।
होटलमा अहिले नौ जना कर्मचारी छन्। यहाँ आउने ग्राहकहरूमध्ये ९० प्रतिशतभन्दा धेरै बेलायती हुन्छन्। साइक्लिङ, हाइकिङ तथा घुमघामका लागि मानिसहरू आउने ठाउँ भएकाले होटलमा ग्राहकको आवागमन भइरहने उनले बताए।
होटल पुरानो भएकाले यसको आफ्नै प्रतिष्ठा रहेको उनी बताउँछन्। लामो समयदेखि चलिरहेको होटल भएकाले सञ्चालन गर्न पनि सहज छ।
'बेलायतमा काम गर्न सहज छ। अहिलेसम्म कुनै किसिमको झमेला बेहोर्नुपरेको छैन। जर्मनीमा पनि कुनै अप्ठ्यारो भएन,' राजुले भने, 'आफ्नो तरिकाले नियम पूरा गरेर काम गरियो भने सरकारी निकायबाट सहजीकरण नै हुन्छ। मेहनत गरियो भने त्यही अनुसारको कमाइ पनि हुन्छ।'