भदौ ५ गते बिहान काठमाडौंमा हत्या गरिएका २२ बर्षीय बसन्त कालाथोकीको हत्याको विरोधमा दाङको घोराहीमा प्रदर्शन भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’ भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी बसन्तको हत्या भएको थियो।
छोराको हत्या भएको खबर सुनेपछि त्यो सहन नसकी दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरामा उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको मृत्यु भएको थियो।
मंगलबार दिउँसो घोराहीमा आफन्त तथा स्थानीयले हत्यामा संलग्नहरूलाई कडा कानुनी कारबाही हुनुपर्ने माग सहित दबाबमूलक प्रदर्शन गरेका हुन्।
मृतक आमा छोराको तस्बिर सहितको ब्यानर राखेर उनीहरूले प्रदर्शन गरेका थिए। जसमा ‘छोरा बसन्त र आमा बिनालाई न्याय दे, हत्यारालाई फाँसी दे, होस्टेल संचालकलाई पक्राउ गरी छानबिन गर, पीडितलाई उचित क्षतिपूर्ति सहित न्याय दे, हत्याको सत्यतथ्य सार्वजनिक गर’ जस्ता नाराहरू लेखिएका थिए।
हत्याको ५ दिन बितिसक्दा पनि बसन्तको शव शिक्षण अस्पाल काठमाडौंमा र उनकी आमा बिनाको शव घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
छोरा र पत्नी गुमाएका रोमहर्ष कालाथोकी मलेसियाबाट मंगलबार राति साढे १० बजेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने आफन्त ओमकान्त रेग्मीले बताए। ओमकान्त नाताले रोमहर्षका भिनाजू हुन्।
रोमहर्ष स्वदेश फर्किएपछि मात्रै काठमाडौं शिक्षण अस्पतालमा राखिएको छोरा बसन्तको शव र दाङ घोराहीको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको श्रीमती बिनाको शवको पोष्टमर्टम हुने भएको छ।