नेप्से परिसूचक एक महिनापछि फेरि २६०० विन्दुमुनि आइपुगेको छ।
गत असार २९ मा परिसूचक घटेर २५७० सम्म पुगेको थियो। त्यो तहमा केही दिन पनि नबसेर बजार बिस्तारै फर्किन थाल्यो। केही समय २७०० विन्दुमाथि रहेर फेरि ओरालो लागेको बजार २६०० विन्दुमा टिकिरह्यो।
सोमबार भने पुनः २५०० को लाइनमा आइपुगेको छ।
ब्रोकरहरूका अनुसार बजार घट्नुका मुख्य तीन कारण छन्।
पहिलो, बढ्न नसकेको आत्मविश्वास।
बालेन सरकार बनेयता, मंगलबारसम्म लगानीकर्ताको करिब ६ खर्ब रूपैयाँ बराबरको सम्पत्ति क्षय भएको छ। त्यस्तै यही अवधिमा सेयर बजार पुँजीकरण ५ खर्ब ३८ अर्ब रूपैयाँ घटेर ४४ खर्ब ७१ अर्ब रूपैयाँ भएको छ।
२०८२ चैत १२ मा बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रूपैयाँ थियो।
सरकार बनेदेखि नै लगानीकर्ताहरूको आत्मविश्वास बढ्न सकेको छैन। सरकारले यसै आर्थिक वर्षबाट सेयरमा लाग्ने पुँजीगत लाभकर पनि बढाएको छ। घट्दो बजारमा यसको पनि प्रभाव परेको हो।
दोस्रो हो, सरकारको अनावश्यक वक्तव्यबाजी।
एक ब्रोकर भन्छन्, ‘अर्थमन्त्रीले सेयर बजारका बारेमा बेला बेला अनावश्यक चर्चा गरिरहेकाले पनि यसको प्रभाव परेको हो।’
हालै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार दुई–चार महिना बढाउन सरकारले नबोल्ने तर बजार सुधारका कामहरू भइरहेको बताए।
यसअघि केही महिना पहिले संसदमा सम्बोधन गर्ने क्रममा उनले घण्टा घण्टामा सेयर बजार हेरेर सरकार नबस्ने बताएका थिए।
‘अर्थमन्त्रीले पटक पटक स्पष्टीकरण दिनेभन्दा पनि बजार सुधारका काम गरेको भए बजारले स्वतः प्रतिक्रिया जनाउँथ्यो। धेरै पटक चर्चा गर्न जरूरी नै थिएन,’ ती ब्रोकर भन्छन्।
सरकार र धितोपत्र बोर्डले बजार सुधारका विभिन्न रणनीति घोषणा गरेका छन्। त्यसले मूर्त रूप पाउन समय लाग्ने भएकाले पनि अहिले तिनै काम अगाडि बढाउन सरकारले जोड दिनुपर्ने उनको भनाइ छ।
तेस्रो कारण हो, सेयर कारोबारीको सम्पत्ति रोक्का।
केही समयअघि सरकारी निकायहरूले सेयर बजारका ठूला कारोबारी भनेर चिनिने दिपेन्द्र अग्रवालको सम्पत्ति रोक्का गरेको छ। करिब ५६ अर्ब रूपैयाँ बराबरको बैंक मौज्दात र सेयर कारोबार रोक्का गरिएकाले यसको प्रभाव पनि बजारमा देखिएको हुनसक्ने ब्रोकर बताउँछन्।
केही निश्चित कम्पनीमा अग्रवालले लगानी गरिरहेकाले त्यस्ता सेयरको आपूर्ति घटेको हुन सक्ने बताइन्छ। अग्रवालले विभिन्न कम्पनीको सेयर मूल्य अस्वाभाविक उतारचढाव गराएको भनिन्छ। उनलाई अनुशरण गरेका लगानीकर्ताको समेत सेयरमा ह्रास आएकाले बजारमा थोरै भए पनि प्रभाव परेको मानिएको छ।
अहिले बजारमा चरम निराशा देखिएको केही प्राविधिक विश्लेषणका औजारहरूले पनि देखाइरहेका छन्।
नेप्सेको १४ दिने साधारण आरएसआई सूचक २०.५१ मा छ। यो ३० भन्दा तल भए बजारमा उच्च बिक्री बढेको र अधिक बिक्री क्षेत्रमा बजार आएको मानिन्छ।
बजारमा भने साधारण आरएसआई सूचकभन्दा वाइल्डरले विकसित गरेको आरएसआई बढी प्रयोग हुन्छ। हाल यसले यो सूचक १६.२१ मा आएको देखाउँछ। बजारको उच्च उतारचढाव धेरै प्रतिबिम्बित नहोस् भन्ने उद्देश्यले वाइल्डरले विकास गरेको यो सूचक धेरै प्रयोग गरिन्छ।
बजारमा कुनै प्रवृत्ति (बुलिस वा बियरिस) वास्तवमै बलियो देखिँदा मात्रै आरएसआई सूचक १०० वा शून्य नजिक आओस् भन्ने यसको उद्देश्य हुन्छ।
दुवै तरिकामा आधार समान भए पनि औसत वृद्धि र औसत गिरावट गणना गर्ने तरिका फरक भएकाले दुई सूचकको मान फरक आएको हो।
आरएसआई सूचकको ३० देखि ७० सम्ममा किनबेच सन्तुलित क्षेत्रमा रहेको र ७० देखि १०० मा अधिक खरिददारी बढेको मानिन्छ।