विदेशमा गएका अधिकांश नेपालीहरूले नेपालमै आएर दाँतको उपचार गराउँछन्। विदेशमा दाँतको उपचार गराउन निकै खर्चिलो हुन्छ।
अर्को कुरा, त्यहाँ उपचारका लागि चिकित्सकको समय (अपोइन्टमेन्ट) लिनुपर्छ।
काममा अत्यधिक व्यस्त हुने भएकाले आफू अनुकूल समय मिलाउन पनि गाह्रो हुन्छ।
तेस्रो कारण, अधिकांश नेपाली वार्षिक वा दुई वर्षमा एकपटक नेपाल आइरहेका हुन्छन्। पारिवारिक भेटघाट, विवाह, व्रतबन्ध लगायत विभिन्न कार्यक्रममा सहभागी हुन आउने भएकाले 'नेपालमै गएर दाँतको उपचार किन नगर्ने?' भन्ने सोच पनि बढेको छ।
यही कारणले विदेशबाट नेपालमा दाँतको उपचार गर्न आउने नेपालीहरूको संख्या बढिरहेको छ।
हामीले दाँत कीराले खाएको धेरै देख्छौँ। पहिले मानिसहरू त्यस्ता दाँत निकाल्नतर्फ बढी केन्द्रित हुन्थे भने अहिले दाँतलाई जोगाउनुपर्छ भन्ने जनचेतना बढेकाले उपचारतर्फ आकर्षण बढेको छ।
उदाहरणका लागि, कीराले खाएको दाँत जोगाउन रूट क्यानल ट्रिटमेन्ट (आरसिटी) लगायतका विभिन्न उपचार पद्धति अपनाइन्छ। दाँत नभएको ठाउँमा दाँत प्रत्यारोपण (इम्प्लान्ट) गर्न सकिन्छ। नमिलेका वा बाङ्गाटिङ्गा दाँतलाई एलाइनर लगाएर मिलाउन सकिन्छ।
पहिले ब्रेसेस लगाउँदा हरेक महिना चिकित्सकलाई भेट्नुपर्ने अवस्था थियो भने अहिले एलाइनरको प्रयोगले उपचारलाई अझ सहज र सौन्दर्यमुखी बनाएको छ।
पहिलाको तुलनामा अहिले दाँतको उपचारका लागि कम समय लाग्छ। प्रविधिको विकास र दक्ष जनशक्तिका कारण उपचार अझ सहज बनेको छ। नेपालमा कार्यरत अधिकांश डेन्टल जनशक्ति दक्ष छन्, जसले उपचारलाई प्रभावकारी बनाएको छ।
डिजिटल प्रविधिले पनि उपचारमा ठूलो सहजता ल्याएको छ। पहिले आरसिटी गर्न महिनौँ धाउनुपर्ने अवस्था थियो भने अहिले धेरैजसो अवस्थामा करिब एक घण्टामै उपचार सम्पन्न गर्न सकिन्छ।
शरीरको अवस्था उपयुक्त भएमा एक सातादेखि १० दिनभित्र दाँतका अधिकांश उपचार सम्पन्न गर्न सकिने अवस्था आइसकेको छ।
विदेशमा रहेका नेपालीलाई अझ आकर्षित गर्ने हो भने दाँतको उपचार सेवामा थप सुधार आवश्यक छ। सेवा सुविधा, सरसफाइ, संक्रमण नियन्त्रण र बिरामीमैत्री वातावरणमा विशेष ध्यान दिनुपर्छ।
चिकित्सक, डेन्टल अस्पताल तथा क्लिनिक, सरकार र पर्यटन व्यवसायीबीच सहकार्य गर्न सकियो भने नेपाललाई डेन्टल टुरिजमको गन्तव्य बनाउन सम्भव छ। यसका लागि अवसर पनि छन् र चुनौती पनि। हरेक क्षेत्रमा जस्तै यहाँ पनि सम्भावना र चुनौती सँगसँगै हुन्छन्।
हामीले काम सुरू गरेको समय र अहिलेको अवस्था धेरै फरक छ। अहिले नेपालीहरूले विदेशका स्तरीय डेन्टल क्लिनिक देखेका छन्। त्यसैले हामी डेन्टल क्षेत्रमा कार्यरत सबैले अन्तर्राष्ट्रिय स्तरलाई ध्यान दिनुपर्छ। विशेष गरी संक्रमण नियन्त्रणमा अत्यन्त गम्भीर हुन आवश्यक छ। यी पक्षमा ध्यान दिन सकियो भने भविष्यमा नेपाल डेन्टल टुरिजमको एउटा हब बन्न सक्छ।
यसका लागि अझ धेरै मेहनत आवश्यक छ। नेपाल सरकारले यसको प्रभावकारी प्रचार–प्रसार र मार्केटिङ गर्नुपर्छ। नेपाल प्राकृतिक सौन्दर्य र एड्भेन्चर टुरिजमका लागि मात्र होइन, गुणस्तरीय डेन्टल उपचारका लागि पनि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रिय रूपमा दिन सक्नुपर्छ।
दाँत उपचार केन्द्रहरूले पनि स्तरीय सेवा उपलब्ध गराउनुपर्छ। विदेशमा जस्तै स्पष्ट उपचार प्रोटोकल अपनाएर सुरक्षित र गुणस्तरीय उपचार हुने सुनिश्चितता दिन सक्नुपर्छ।
यसो भन्दा विदेशबाट मानिसहरू कसरी नेपालमा उपचार गर्न आउलान् भन्ने लाग्न सक्छ। तर विकसित देशमा बस्ने सबै मानिस आर्थिक रूपमा सम्पन्न हुन्छन् भन्ने होइन। नेपालजस्ता मुलुकले ती देशहरूको तुलनामा निकै कम लागतमा गुणस्तरीय सेवा दिन सकेमा यस क्षेत्रमा ठूलो अवसर सिर्जना हुन सक्छ।
अहिलेसम्म दाँतकै उपचारका लागि भनेर भन्दा पनि नेपाल आएको बेला उपचार गराउने चलन बढी छ। अब विदेशमा बस्ने नेपालीहरूलाई 'दाँतको उपचारका लागि मात्रै भए पनि नेपाल जान्छु' भन्ने वातावरण बनाउनुपर्छ।
साथै, नेपाल आउने विदेशी पर्यटकलाई पनि यहाँ गुणस्तरीय दाँत उपचार उपलब्ध छ भन्ने सन्देश दिन आवश्यक छ।
अस्ट्रेलिया, जापान, अमेरिका, इजरायल तथा खाडी मुलुकमा रहेका धेरै नेपाली नेपालमै आएर दाँतको उपचार गराउँछन्। अब यसलाई व्यवस्थित रूपमा डेन्टल टुरिजमका रूपमा अघि बढाउन आवश्यक छ।
विदेशको तुलनामा नेपालमा दाँतको उपचार झन्डै ७० प्रतिशतसम्म सस्तो पर्न सक्छ। यति हुँदाहुँदै पनि कतिपयले नेपालको उपचार महँगो भएको गुनासो गर्छन्। तर उपचारको मूल्य मात्र हेरेर हुँदैन। न्यूनतम मापदण्ड पूरा गरेका क्लिनिक छन् कि छैनन्, उनीहरूले कस्ता प्रविधि प्रयोग गर्छन्, सरसफाइमा कति ध्यान दिएका छन्, संक्रमण कसरी नियन्त्रण गरिन्छ र चिकित्सकको दक्षता कस्तो छ भन्ने पक्षलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ।
(विदेशमा रहेका नेपालीहरू दाँतको उपचार गर्न नेपाल आउने कारण, डेन्टल टुरिजमको सम्भावना लगायतका विषयमा केन्द्रित रहेर हामीले भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख तथा साइराम डेन्टलका सञ्चालक डा.अजय न्यौपानेसँग भिडिओ कुराकानी गरेका छौं।)