काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित 'भ्याली ब्वाइज होस्टल' भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार हत्या भएको थियो।
शनिबार छोराको हत्याको खबर सुनेपछि यता घोराहीको हरिद्वारस्थित जनप्रिय टोलमा ३८ वर्षीया आमा बिना कालाथोकीको मृत्यु भएको हो।
छोराको हत्याको खबर सुन्नासाथ दिउँसो ३ बजेतिर घरमा बिनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनको मृत्युको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि बेलुकी ४ बजेतिर बिनाको शव पोस्टमर्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। शव अहिले प्रतिष्ठानको शवगृहमै राखिएको छ।
वडा नम्बर १७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान रोमहर्ष कालाथोकी विदेशबाट आएपछि मात्र पोस्टमर्टम गरिने भएको छ।
'रोमहर्षजी मलेसियामा हुनुहुन्छ,' उनले भने, 'उहाँ मलेसियाबाट सोमबार हिँड्ने कुरा छ। उहाँ आएपछि मात्रै पोस्टमर्टम हुनेछ।'
वडाध्यक्ष चौधरी काठमाडौंस्थित होस्टलमा बसेर पढिरहेका जेठा छोराको हत्याको खबर आमा बिनालाई एकाएक नसुनाइनुपर्ने बताउँछन्।
'छोरा गम्भीर बिरामी भएको वा उपचाररत रहेको कुरा भनिदिएको भए सायद आमाले ज्यान गुमाउनुपर्ने अवस्था आउने थिएन होला,' उनले भने।
जेठो छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले त्यो पीडा सम्हाल्न नसक्दा दिउँसो घरमा एक्लै रहेको अवस्थामा दुःखद घटना हुन पुगेको वडाध्यक्ष चौधरीले बताए।
उनका अनुसार आमाको मृत्युपछि ११ वर्षीय कान्छो छोरा शिशिरलाई उनका हजुरबुबाले आफू बस्ने घरमा लगेर राखेका छन्।
वसन्त रोजगारीको खोजीमा फ्रान्स जान काठमाडौंमा बसेर अध्ययन गरिरहेका थिए। उनी ५/६ महिनादेखि होस्टलमा बसेर भाषा शिक्षाका साथै अन्य तयारी गरिरहेका थिए। त्यसबीच उनी दाङ आउजाउ गरिरहन्थे।
वसन्तमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा त्यही होस्टलमा बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन्।
प्रमित र शेखरले वसन्तको टाउको र घाँटी लगायतका भागमा गम्भीर आक्रमण गरेपछि उनलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो। त्यहीँ उपचार क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
वसन्तको हत्याका आरोपी शेखर यादवलाई प्रहरीले काठमाडौंबाटै नियन्त्रणमा लिएको थियो भने अर्का आरोपी प्रमित पटेल घटनापछि फरार थिए।
उनलाई शनिबार दिउँसो मकवानपुरबाट प्रहरीले पक्राउ गरी काठमाडौं लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।