बाराको जितपुर सिमराकी ३ वर्षीय गरिमा चौधरीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन गरिएको छ।
तीन वर्षीय बालिकाको बलात्कारपछि हत्याको विरोधमा शनिबार बुटवलमा विरोध प्रदर्शन भएको हो।
सयौंको संख्यामा रहेका महिलाहरूले शनिबार बिहान ११ बजे बुटवल ट्राफिक चोकबाट प्रदर्शन सुरु गरेका थिए।
बालिकाको बलात्कार र हत्यामा संलग्नहरूलाई हदैसम्मको सजाय गरी गरिमालाई न्याय दिन र छोरीहरूको सुरक्षाको माग गर्दै सुरु गरिएको प्रदर्शन बुटवल उपमहानगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय र तुलसीपुर उच्च अदालत बुटवल इजलासमा पुगेर केहिबेर धर्ना सहित प्रदर्शन गरेका थिए।
हात हातमा प्लाकार्ड र कालो ब्यानर सहित निस्किएका प्रदर्शनकारीले बालिकामाथि बलात्कार र हत्यामा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए।
बालिका बलात्कार र हत्या गर्नेहरूलाई कडा कारबाही हुन नसक्दा नेपाल यस्ता घटना दोहोरिँदै गएको भन्दै यस्ता घटनामा संलग्नहरूलाई हदैसम्मको कारबाहीको व्यवस्था गर्नुपर्ने माग गरे।
जीतपुर सिमरा उपमहानगरपालिका वडा-१ दशधुरे स्थित सुकुम्वासी बस्तीकी गरिमा आइतबार बिहान करिब साढे ८ बजेबाट बेपत्ता भएकी थिइन्।
स्थानीय सरस्वती आधारभूत विद्यालयमा प्ले ग्रुपमा भर्ना भएकी गरिमा बेपत्ता भएपछि खोजी गर्दै जाँदा प्रहरीले मंगलबार साँझ मात्र घरदेखि २०० मिटर नजिकैको एउटा खाली घरमा उनको शव फेला पारेको थियो।
गाउँको बिचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि प्रहरीले खोजी गर्दा कपडामा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला पारेको थियो।