सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा गण्डकी प्रदेशका विभिन्न अदालतको अनुगमन तथा निरीक्षण भ्रमणमा छन्।
शुक्रबार पोखरा आएका प्रधानन्यायाधीश शर्माले उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीको निरीक्षण गरेका थिए।
शनिबार उनले उच्च अदालत पोखराको बागलुङ इजलास तथा पर्वत, म्याग्दी र बागलुङ जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम छ।
शनिबार पोखरामै बसेर आइतबार तनहुँ जिल्ला अदालतको निरीक्षण गर्ने कार्यसूची रहेको उच्च अदालत पोखराका उपरजिस्ट्रार नीलप्रसाद पनेरुले जानकारी दिए।
निरीक्षणका क्रममा जेनजी आन्दोलनका क्रममा जलेका अदालत भवनको पुनर्निर्माण, मुद्दाको अवस्था र अदालतका समस्या लगायतका विषयमा छलफल भइरहेको पनेरुले बताए।
‘प्रधानन्यायाधीशज्यू नियमित निरीक्षणका क्रममा अहिले गण्डकीका अदालतमा हुनुहुन्छ,’ उनले भने, ‘जेनजी आन्दोलनमा जलेका भवनको पुनर्निर्माण र अदालतका समस्या समाधानमा उहाँले चासो दिनुभएको छ।’
प्रधानमन्त्री बालेन शाह पनि शुक्रबार पोखरा आएका थिए।
उनी शनिबार सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका छन्। निजी भ्रमणका क्रममा पोखरा आएका प्रधानमन्त्री शाहले सरकारी निकायका अधिकारीसँग भेटवार्ता नगरेको र पोखराको अस्ताममा बसेका बेला स्थानीयसँग पनि भेटघाट तथा छलफल नगरेको बताइएको छ।
प्रधानन्यायाधीश शर्मा भने मातहतका अदालतमा पुगेर न्यायाधीश तथा कर्मचारीसँग अन्तर्क्रिया र छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाह र प्रधानन्यायाधीश शर्मा शुक्रबार पोखरामा रहे पनि उनीहरूबीच भेटवार्ता नभएको सरकारी अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै मुस्ताङतर्फ जाँदै गर्दा प्रधानन्यायाधीश शर्मा भने मुस्ताङ जाने बाटोमै पर्ने पर्वत, म्याग्दी र बागलुङका अदालतको निरीक्षणमा छन्।