नेपाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, हजारौं किलोमिटर टाढाबाट बसाइँ सरेर आउने चराका लागि पनि पोखरा सुरक्षित गन्तव्य बनेको छ।
हरेक हिउँदमा चिसो छल्न आउने पानी चरा पोखराका ताल र सिमसारमा केही महिना बिताउँछन्। गर्मीयाममा आउने अर्को समूहका चराले यहीँ गुँड बनाउँछन्, बच्चा कोरल्छन् र हुर्किएपछि आफ्नो यात्रामा फर्किन्छन्।
न धेरै चिसो, न धेरै गर्मी—मानिसलाई जस्तै चराका लागि पनि पोखराको हावापानी र प्राकृतिक वातावरण अनुकूल छ।
‘चराका लागि उपयुक्त वातावरण मानिसका लागि पनि उत्तम हुन्छ,’ नेपाल पन्छीविद् संघका उपाध्यक्ष मनशान्त घिमिरे भन्छन्, ‘चरा बस्न नसक्ने ठाउँमा मानिसको बसाइँ पनि दीर्घकालीन रूपमा सहज रहँदैन।’
हिमालको काखमा रहेको पोखराका ताल, सिमसार, खोला–नाला, वन र खेतीयोग्य जमिनले यहाँको पारिस्थितिक प्रणालीलाई समृद्ध बनाएका छन्। नियमित वर्षा र सन्तुलित हावापानीले स्थानीय र बसाइँसराइ गर्ने दुवै प्रकारका चरालाई यहाँ आकर्षित गर्ने घिमिरे बताउँछन्।

यही प्राकृतिक सम्पदालाई संरक्षणसँग जोड्दै पोखरा महानगरपालिका अहिले आफ्नो ‘नगरपन्छी’ खोज्दै छ।
चरा पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणलाई सँगसँगै अघि बढाउने उद्देश्यले महानगरले पोखरा पन्छी समाजसँग सहकार्य गरी चराविद्, पक्षी–गाइड र अन्य विज्ञमार्फत अध्ययन गराइरहेको छ। अध्ययन प्रतिवेदनका आधारमा नगर कार्यपालिकाले नगरपन्छी घोषणा गर्ने तयारी गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार प्रकृतिमा आधारित पर्यटनलाई थप मजबुत बनाउन महानगरले यो अवधारणा अघि सारेको हो।
‘चराविद्हरूको वैज्ञानिक अध्ययनपछि मात्रै नगरपन्छी घोषणा गर्नेछौं,’ उनले भने, ‘यसले संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउनेछ।’
उनका अनुसार महानगरले ‘नेचर, कल्चर एन्ड एडभेन्चर’ अवधारणाअनुसार पर्यटन प्रवर्द्धन गरिरहेको छ। नगरपन्छी घोषणा गरेपछि त्यसको संरक्षणमा पनि विज्ञहरूसँग सहकार्य गर्दै चरा पर्यटनलाई नयाँ उचाइमा लैजाने रणनीति महानगरको छ।
सरकारी तहबाट चरा संरक्षणका ठोस कार्यक्रम सीमित रहे पनि विज्ञ र समुदायस्तरमा भएका प्रयासले चरा पर्यटनप्रति चासो बढाएको छ।
घिमिरेका अनुसार नेपाल आउने पर्यटकमध्ये करिब आठ प्रतिशत र पोखरा आउनेमध्ये करिब छ प्रतिशत पर्यटक चरा अवलोकनकै लागि आउने गर्छन्।
‘चरा हेर्न आउने पर्यटक राम्रो होटल र गुणस्तरीय सेवा खोज्छन्। उनीहरू पैसा खर्च गर्न हिचकिचाउँदैनन्,’ उनले भने, ‘उनीहरूको बसाइ पनि लामो हुने भएकाले चरा पर्यटन पोखराका लागि ठूलो सम्भावना हो।’
पोखरा पन्छी समाजका सचिव तथा पन्छीविद् हेमन्त ढकालका अनुसार नगर पन्छी घोषणा कुनै औपचारिक उपाधि मात्र होइन, चराको बासस्थान संरक्षण गर्ने दीर्घकालीन प्रतिबद्धताको सुरूआत हुनुपर्छ।
‘नगर पन्छी घोषणाको मुख्य उद्देश्य संरक्षण नै हो,’ उनले भने, ‘यसले चराप्रति आकर्षण बढाउँछ, चरा संरक्षणप्रति महानगरको प्रतिबद्धता देखाउँछ र पोखरालाई अन्तर्राष्ट्रिय चरा पर्यटनको गन्तव्यका रूपमा चिनाउन मद्दत गर्छ।’

नेपालमा हाल ९०३ प्रजातिका चरा अभिलेख भएका छन्। तीमध्ये करिब ५०० प्रजाति पोखरामा पाइन्छन्। गर्मीयाममा करिब १५० र हिउँदयाममा ६२ प्रजातिका बसाइँसराइ गर्ने चरा पोखरा आउने गर्छन्। दक्षिण एसियामा पाइने नौवटै प्रजातिका गिद्ध पोखरामा अभिलेख हुनु, शिकारी चराको उल्लेखनीय उपस्थिति र सिमसारमा आश्रित दुर्लभ प्रजातिका कारण पोखरा पक्षी विविधताको दृष्टिले विशेष मानिन्छ।
नगर पन्छीका सम्भावित प्रजातिमा गिद्ध, शिकारी चरा, चखेवा–चखेवी, उल्लु, चित्रकुटलगायतबारे छलफल भइरहेको छ। अन्तिम निर्णय भने चराको दुर्लभता, संरक्षण अवस्था, पोखरासँगको सम्बन्ध तथा पर्यावरणीय र सांस्कृतिक महत्वका आधारमा गरिने विज्ञहरूको भनाइ छ।
‘नगर पन्छी छनोट भावनाका आधारमा होइन, वैज्ञानिक मापदण्डका आधारमा हुनुपर्छ,’ घिमिरे भन्छन्, ‘इकोलोजिस्ट, जुलोजिस्ट र चराविद्सँग छलफल गरेर कुन प्रजातिले पोखराको पहिचान प्रतिनिधित्व गर्न सक्छ भन्ने टुंगो लगाउनुपर्छ। त्यससँगै संरक्षण र चरा पर्यटन प्रवर्द्धनका स्पष्ट योजना पनि हुनुपर्छ।’
पोखराको पर्यटन प्रकृतिमा आधारित भए पनि चराको भविष्य उनीहरूको बासस्थानसँग जोडिएको छ।
फेवा, बेगनास, रूपा, मैदी, खास्टे, न्युरेनी, दीपाङ, गुँदे ताल र कमलपोखरी क्षेत्र स्थानीय तथा बसाइँसराइ गर्ने चराका प्रमुख आश्रयस्थल हुन्। यिनै ताल र सिमसारमा चराले आहार खोज्छन्, गुँड बनाउँछन् र केही प्रजातिले बच्चा कोरल्ने तथा हुर्काउने गर्छन्। यिनै सिमसार पोखराको जैविक विविधताको मेरूदण्ड पनि हुन्।
तर ताल र सिमसारमाथिको अतिक्रमण, बढ्दो सहरीकरण, प्रदूषण, खेतीपातीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग तथा प्रकृतिविपरीत विकासले चराको बासस्थान साँघुरिँदै गएको पन्छीविद्हरू बताउँछन्। त्यसको असर अहिले चराको संख्यामै देखिन थालेको छ। केही प्रजाति दुर्लभ बन्दै गएका छन् भने बसाइँसराइ गरेर आउने केही चराले पोखरा आउनै छाडेका छन्।
विज्ञहरूका अनुसार चरा केवल हेर्नका लागि सुन्दर जीव मात्र होइनन्। उनीहरूले कीरा नियन्त्रण गर्ने, बीउ फैलाउने, वनस्पतिको पुनरुत्पादनमा सहयोग गर्ने र समग्र पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्ने महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले चरा संरक्षण भनेको ताल, सिमसार, वन र समग्र प्राकृतिक प्रणालीको संरक्षण पनि हो। प्रकृतिमैत्री विकास र वातावरणमैत्री कृषि अभ्यासबिना चराको भविष्य सुरक्षित हुन नसक्ने उनीहरूको भनाइ छ।
पछिल्लो डेढ दशकमा पोखरामा चरा अवलोकनका लागि आउने पर्यटकको संख्या निरन्तर बढिरहेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेका अनुसार यस्ता पर्यटक लामो समय बस्ने र तुलनात्मक रूपमा बढी खर्च गर्ने भएकाले चरा पर्यटनले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्छ।
‘पोखरामा धेरै खर्च गर्ने र लामो अवधि बस्ने पर्यटक आकर्षित गर्न चरा पर्यटन प्रभावकारी माध्यम बन्न सक्छ,’ उनले भने।
घिमिरेका अनुसार नगरपन्छी घोषणा अन्ततः एउटा चराको चयन मात्र होइन, पोखराको प्रकृति जोगाउने अभियान पनि हो।
‘घोषणा गरेर मात्रै पुग्दैन,’ उनी भन्छन्, ‘चराले बस्न सक्ने पोखरा जोगाउन सक्यौं भने त्यो मानिसका लागि पनि बस्न योग्य सहर रहनेछ।’
