नुवाकोट घर भएकी १८ वर्षीया अन्नपूर्ण (नाम परिवर्तन) र धादिङका १९ वर्षीय प्रविणबीच साथीहरूको माध्यमबाट चिनजान भएको थियो।
प्रविण काठमाडौं महानगरपालिका-१६ मा बस्थे। अन्नपूर्ण भने गृहजिल्लामै बस्छिन्। प्रविणसँगै पढ्ने साथीहरूमार्फत गत माघ महिनामा अन्नपूर्णसँग चिनजान भएको थियो।
प्रविणका साथीहरूले अन्नपूर्णको नम्बर दिएपछि ह्वाट्सएपमा कुराकानी हुन थालेको अभियोगपत्रमा उल्लेख छ।
'हामीहरूबीच दिनहुँ कुराकानी हुन थालेपछि विस्तारै नजिक हुँदै प्रेम सम्बन्धमा रहेका हौं,' प्रविणले भनेका छन्, 'भविष्यमा विवाह गर्ने समेतको सहमति भएको थियो।'
यसरी कुरा हुँदै गर्दा अन्नपूर्ण फागुन १५ मा काठमाडौं आएकी थिइन्। काठमाडौं महानगरपालिका-१६ को वनस्थली एकलटारमा भेट भएको किशोर-किशोरी दुवैले बयानमा बताएका छन्।
'भेटघाटमा नजिकै मामाघरको हजुरबुबाको कोठा छ भनेर जानकारी गराएपछि त्यहीँ गएर बस्ने सहमति भएको थियो,' प्रविण भन्छन्, 'दुवै जनाको सहमतिमा कोठामा गएका थियौं। केहीबेर कुराकानी गरेपछि सहमतिमै यौन सम्बन्ध राखेका हौं।'
सम्बन्धपछि दुवैजना अनलाइनबाट याङ्गो बुक गरेर आ-आफ्नो कोठामा गएको किशोरले बयान दिएका छन्। सम्बन्धपछि पनि उनीहरूबीच केही महिना कुराकानी भएको दुवैको बयानमा छ।
अन्नपूर्ण अचानक एक महिनाअघि बिरामी भएपछि किशोरीकी आमाले उपचारका लागि अस्पताल लगेकी थिइन्।
उपचारको क्रममा अन्नपूर्ण १३ हप्ताको गर्भ रहेको खुल्यो।
त्यसपछि घटनाले अर्को रूप लियो। उनकी आमाले प्रविणविरूद्ध बलात्कार मुद्दामा प्रहरी वृत्त बालाजुमा जाहेरी दिइन्।
उक्त जाहेरीपछि प्रविण अहिले पक्राउ गरेर पुर्पक्षका लागि थुनामा छन्। तर अन्नपूर्णले पनि प्रेम रहेको स्वीकार गरेकी छन्।
प्रविणका साथीका अनुसार उनीहरू एक-डेढ वर्षदेखि प्रेम सम्बन्धमा छन्।
नाम उल्लेख नगर्ने सर्तमा उनले भनिन्- 'प्रविणकी प्रेमिका मेरी साथी हुन्। दुई वर्षअगाडि कम्प्युटर सिक्न आउँदा हाम्रो भेट भएको थियो। मैले नै नम्बर एकअर्कालाई दिएको थिएँ।'
प्रविणले गलफ्रेन्ड खोजिदेऊन भनेपछि आफ्नो साथीको नम्बर दिएको उनी बताउँछन्।
उनले नम्बर दिएपछि उनीहरू बोल्न थालेका थिए। डेढ वर्षअघि साथी बनेका उनीहरूको सामाजिक सञ्जालमा कुराकानी भइरहन्थ्यो। काठमाडौं आउँदा आफू र प्रविणलाई भेट्ने घुम्ने गरेको उनी बताउँछिन्।
'उनीहरू प्रेम सम्बन्धमा थिए यो कुरा धेरै साथीहरूलाई थाहा छ । तर अहिले प्रविण थुनामा छन्,' उनले भनिन्, 'हामीले बयानमा पनि यही भनेका छौं।'
त्यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका तत्कालीन प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए।
उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएका थिए। उनी हिरासतमा कसरी पुगेका थिए?
यसबारे हामीले उनका परिवारसँग कुराकानी गरेका छौं।
ललितपुरमा डेरा गरी बस्ने २२ वर्षीय श्रीकृष्ण र १७ वर्षीया किशोरीले चैत २८ गते प्रेम विवाह गरेका थिए।
किशोरी पनि श्रीकृष्णको डेरानजिकै बस्थिन्। उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको श्रीकृष्णका भाइ उमेश विश्वकर्माले जानकारी दिए।
उनका अनुसार श्रीकृष्ण ड्राइभर पेसा गर्दै आएका थिए। किशोरी पनि उनीहरूको डेरा नजिकै बस्थिन्। सोही क्रममा श्रीकृष्ण र किशोरीबीच प्रेम बसेको थियो।
'दुई वर्षको प्रेम सम्बन्धपछि उनीहरूले चैत २८ गते विवाह गरेका थिए,' उमेशले भने, 'विवाह गरेँ भनेर उहाँले २८ गते डेरामा ल्याउनुभएको थियो।'
त्यतिबेला किशोरीले उमेशलाई आफू राजीखुसीले श्रीकृष्णसँग विवाह गरेर आएको बताएकी थिइन्।
उनी यसअघि पनि उनको परिवारमा आवतजावत हुने भएकाले घरपरिवारमा पनि खबर पुग्यो। त्यसपछि परिवारले गाउँ बोलाएपछि दाइ र किशोरी सिन्धुली गएको उनी बताउँछन्।
'परिवारसँग पनि उहाँ (किशोरी) ले राजीखुसीले आएको बताउनुभएको थियो,' उमेशले भने, 'नयाँ वर्षको अघिल्लो दिन घर पुगेका थिए। २ गते ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटी पक्षले कुरा गर्न खोजेको छ भनेर पटक-पटक फोन आएपछि ३ गते फर्किएका थिए।'
उनीहरू दिउँसै काठमाडौं आइपुगेका थिए। प्रहरीले ५ बजेतिर आउनू भनेकाले त्यही समयमा गएको उनी सम्झन्छन्।
उमेशका दाजुभाइ प्रहरी कार्यालयमा पुग्दा किशोरीको परिवार त्यहाँ आइसकेका थिए। उनीहरूको अगाडि किशोरीले आफ्नो खुसीले गएको भनेर जबाफ दिइन्।
उनका अनुसार सुरूआतमा प्रहरीले बालविवाह कसुरमा श्रीकृष्णमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेपछि त्यसो नगर्न किशोरीले आग्रह गरेकी थिइन्। पछि प्रहरीले नै कानुनले तोकेको उमेर पूरा नभएकाले तत्कालका लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्न भनेको थियो।
'झन्डै २ घन्टा छलफल भएको थियो। २ वर्षका लागि अलग हुँदा दाइलाई मुद्दा नचल्ने भएपछि किशोरी पनि राजी हुनुभयो,' उनले भने।
दुवै पक्षबीच सहमति भइसकेपछि राति साढे ९ बजेपछि प्रहरीले श्रीकृष्णलाई तत्काल छाड्न नमिल्ने भन्यो र आफूलाई भोलिपल्ट ९ बजे आउनू भनेर फर्काइदिएको उमेश बताउँछन्।
केहीछिनसम्म दुई वर्षसम्म सम्पर्कमा नरहने गरी श्रीकृष्णलाई घर फर्काउने तयारी भएको थियो। पछि मिल्दैन भनेर त्यो रात त्यहीं राख्यो। दोस्रो दिन आउनू भनेर आफूलाई फर्काएको उमेश सम्झन्छन्।
दोस्रो दिन अर्थात् वैशाख ४ गते ८ बजे हामी सातदोबाटो प्रहरी कार्यालय पुग्दा खुर्कोट पठाएको जानकारी आयो। उता पुगेर बुझ्दा बलात्कार कसुरमा नियन्त्रणमा लिएको उनी बताउँछन्।
त्यसपछि किशोरीलाई सम्पर्क गर्न खोजे पनि उनको फोन लागेन। श्रीकृष्णलाई थुनामा राखियो। ७ गते मृत्यु भयो। त्यसपछि किशोरीसँग फोन सम्पर्क हुन नसकेको उमेश बताउँछन्।
'प्रेम सम्बन्ध नै थियो। उहाँले स्वयम् खुसीले आएको जानकारी दिनुभएको थियो। पछि घटनाले अर्कै रूप लियो। हामीले हाम्रो मान्छे पनि गुमायौं,' उनले भने, 'किशोरीको परिवारले गर्दा दाजुको ज्यान गुम्यो।'
उमेशलाई आज पनि किशोरीले आफ्नो खुसी र प्रेमका कारण आएको भनिरहेको कानमा गुञ्जिरहन्छ। तर ती कुराहरू अदालतमा पुष्टि गर्ने कुनै आधार छैन।
प्रविण र श्रीकृष्ण मात्र होइनन्, किशोरावस्थामा प्रेम गरेकै कारण पछि बलात्कार मुद्दा लागेका थुप्रै घटना छन्। उनीहरू त प्रतिनिधि पात्र मात्र हुन्।
१८ वर्षसम्म बालिग मानिन्छ। १८ वर्षमा स्वेच्छाले शारीरिक सम्पर्क गर्न पाउने कानुनी व्यवस्था भए पनि विवाहका लागि २० वर्षको उमेर तोकिएको छ।
त्यही कारण पछिल्लो समय २० वर्ष नपुगी प्रेम सम्बन्धमा बाँधिएर विवाह गरेकाहरूलाई विभिन्न कानुनी मुद्दामा थुनामा पठाउने गरिएको अधिवक्ता यमकुमारी ददेलले जानकारी दिइन्।
'विशेषगरी यस्तो घटना अन्तरजातीय प्रेम सम्बन्ध छ भने किशोरहरूलाई बलात्कार मुद्दा लगाइएका घटना प्रशस्त छन्,' उनले भनिन्, 'किशोरीलाई परिवारको दबाब वा नियन्त्रणमा लिएर बलात्कार मुद्दा दर्ता गराउने वा अभिभावकहरूले नै गरेको देखिन्छ।'
उनका अनुसार १८/१९ वर्षका केटाकेटीले विवाह गर्दा त्यही अनुसारको कानुनी कारबाही अगाडि बढाउन सकिन्थ्यो। तर केटा दलित समुदायको छ भने त्यहाँ बलात्कारको मुद्दा दर्ता हुने गरेको देखिन्छ।
'किशोरीलाई करकापमा राख्ने, परिवारको इज्जतसँग जोडेर धम्की दिने गरेको उदाहरण थुप्रै छन्,' उनले भनिन्, 'यो ग्रामीण क्षेत्रमा मात्र नभई सहरमा पनि देखिन्छ।'
उमेर नपुगी प्रेम सम्बन्धमा रहेका जोडीहरू घरबाट भागेर विवाह गर्छन्। यस्तो अवस्थामा केटीका अभिभावकले केटाविरूद्ध अपहरण वा जबरजस्ती करणीको उजुरी दिने गर्छन्। १८/१९ वर्षका किशोरीहरूलाई कानुनी सीमाबारे थाहा हुँदैन। आपसी सहमतिलाई नै उनीहरूले पर्याप्त मान्छन्, तर कानुनले त्यसलाई अपराध ठहर्याउँछ।
पारिवारिक र सामाजिक दबाब उमेर पुगे पनि वा नपुगे पनि जात, धर्म वा प्रतिष्ठाका कारण परिवारले प्रेम सम्बन्ध स्वीकार नगर्दा केटा पक्षलाई फसाउन कानुनी मुद्दाको सहारा लिने गरिन्छ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनमा पनि कानुनको कडा कार्यान्वयनका नाममा उमेर नपुगेका जोडीहरू कसरी कानुनी चेपुवामा पर्छन् भनेर प्रस्तुत गरिएको छ।
बाल सुधारगृहहरूमा रहेका कुल किशोरहरूमध्ये ४० प्रतिशतभन्दा बढी किशोरहरू प्रेम सम्बन्ध र उमेर नपुगी गरिने विवाहका कारण जबरजस्ती करणीको मुद्दामा थुनामा रहेको अनुसन्धानकर्ता तथा अधिकारकर्मी रिता शाहले जानकारी दिइन्।
'विभिन्न संघसंस्थाले गरेका अध्ययन अनुसन्धानले यस्ता मुद्दामा विपन्न र दलित वा जनजाति समुदायका किशोरहरू बढी रहेको देखाएको छ,' उनले भनिन्, 'धेरैजसो मुद्दाहरू केटीका अभिभावकले केटाको परिवारसँग बदला लिन वा जात/प्रतिष्ठा नमिल्दा रिसइबी साध्न दर्ता गरेको पाइएको छ।'
उनका अनुसार यसबारेमा केही समयअघि धेरै प्रश्नहरू उठेका छन्। संसदमा पनि कुरा उठेको थियो। त्यसपछि सरकारले मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा अनुसन्धान गरेको थियो।
उक्त अनुसन्धानपछि कानुन मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न प्रस्ताव गरेको छ। उमेर नपुगी विवाह गरेबापत हुने सजायको व्यवस्था परिमार्जन गर्न प्रस्ताव गरिएको हो।
जसमा १८ वर्ष पूरा भएर २० वर्षभन्दा कम भएमा बालविवाह मुद्दा चलाउन पाइन्छ। तर अभिभावकहरूले बलात्कार तथा शारीरिक बन्धक मुद्दा चलाउन थालेका छन्। कानुनी प्रावधानको गलत प्रयोग भएको देखिन थालेकाले यसलाई परिमार्जन गर्न प्रस्ताव गरिएको उनी बताउँछिन्।
'हामीले विभिन्न कारागार पुगेर हेर्दा पनि १८/१९ वर्षको उमेरमा प्रेम विवाह गरेको र बलात्कार मुद्दामा थुनामा रहेको देख्यौं,' उनले भनिन्, 'किशोर दलित तथा जनजाति भए सिधै जबरजस्तीको मुद्दा चलाएको देखियो।'
यसरी परिवारको दबाबमा किशोर-किशोरीलाई अदालत तथा सुधारगृह पुर्याउँदा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत विक्षिप्त बनाउने मनोविद् मनिल महर्जन बताउँछन्।
उनका अनुसार किशोरीलाई परिवारले सामाजिक, पारिवारिक र इज्जत भनेर दबाब दिइन्छ। केही छिन अभिभावकको कुरा स्वीकार गरे पनि विस्तारै त्यही कुराले मन दुखाउँदै जान्छन्।
'कतिपय केसमा किशोरको मृत्यु हुँदा किशोरीहरू अझ बढी विक्षिप्त भएर मानसिक स्वास्थ्य गुमाएर उपचारका लागि आउने गरेका छन्,' उनले भने, 'किशोरीहरू आफ्नो कारणले गर्दा किशोरको भविष्य बिग्रिएको र परिवारको दबाबलाई नकार्न नसकेको कुराहरू सुनाउँछन्।'
उनी एक-डेढ वर्षअघि मानसिक अस्पतालको परामर्श कक्षामा काम गरेका थिए।
किशोरहरूमाथि कानुनी कारबाही अगाडि बढाइन्छ, त्यसको असर त झन् सम्पूर्ण परिवारमाथि परेका कयौं उदाहरणहरू देखिएको उनी बताउँछन्।