अहिले इन्टरनेटमा एक खाले विज्ञापनहरूको बिगबिगी छ— केही दिन वा सातामा एआई सम्बन्धी मास्टरक्लास वा कोर्सहरू लिनुस् र अरूलाई उछिन्नुस्।
ती कोर्समध्ये कुन कति उपयोगी भनेर तुलना गर्ने अर्का खाले भिडिओहरू पनि प्रशस्तै पाइन्छन् युट्युबमा।
जो एआईको प्रयोगबारे अनभिज्ञ रहन्छ, ऊ भोलिको श्रम बजारबाट विस्थापित भएर बेरोजगार हुन्छ भनेर त विज्ञापन नगर्ने विज्ञ र विश्लेषकहरूले पनि निरन्तर भन्दै आएका छन्।
तर के कुरा त्यति सरल छ त?
एआईले मानव जातिलाई जुन युगमा प्रवेश गराउँदैछ, त्यसमा केही एआई टुल प्रयोग गर्न जान्दैमा अघि बढ्न सकिन्छ त?
फेरि अरूलाई उछिन्ने भन्ने कुरा व्यक्तिगत जीवनमा त उपयोगी होला। तर समाज र देशको स्वार्थ हेर्नुपर्ने नीति निर्माताहरूले त अघि बढ्ने र पछि छुट्ने सबैको स्वार्थमा काम गर्नुपर्ने हो।
आजको युगमा त्यो काम कस्तो हुन्छ?
यी अहिलेको समाजमा निरन्तर बहस हुनुपर्ने र देशका नीति निर्माताहरूको चिन्ताको अग्रभागमा हुनुपर्ने प्रश्नहरू हुन्। संसारभरि अनेक रूपमा यो बहस चलिरहेको पनि छ। खास गरी एआईले व्यापक बेरोजगारी सिर्जना गरेर सामाजिक विखण्डनको अवस्था निम्त्यायो भने के गर्ने भन्नेमा धेरैको चासो र चिन्ता छ।
हामीले चाहे पनि वा नचाहे पनि सिंगो विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि अब एआई युगमा प्रवेश गर्दैछ।
दुई कारणले नेपाल अरू धेरै देशहरूभन्दा एआई क्रान्तिका दुष्परिणामहरूको बढी जोखिममा छ।
एक त हाम्रो आर्थिक अवस्था अहिले नै पिछडिएको छ। देशमा रोजगारी सिर्जनाको अवस्था दयनीय छ। विदेशमा गएर नेपालीले गर्ने श्रमको आधाजसो काम मात्रै मेसिनले खोसेर दसौं लाख युवा देश फर्किने हो भने देशमा आर्थिक र सामाजिक विघटनको एउटा कारण त्यो बन्न सक्नेछ।
दुई, शक्तिशाली एआई बनेर मानिसको काम खोस्न थाले भने स्वभावतः आर्थिक वृद्धि र समृद्धिको इन्जिन एआई हुने निश्चित छ। जुन देशले शक्तिशाली एआई मोडलहरू बनाउँछन् र तिनको सेवा बेच्छन्, अबको आर्थिक वृद्धि तिनै देशमा केन्द्रित हुनेछ। विश्वबजारमा श्रमबाहेक लगभग केही नबेच्ने नेपाल त्यो अवस्थामा शक्तिशाली मेसिनले दिने कुनै पनि आर्थिक लाभबाट वञ्चित हुन सक्नेछ।
विडम्बना के छ भने हामी नेपालीहरू कुनै पनि विपत्तिसित जुध्न समयमै तयारी नगर्ने अनि विपत्तिले क्षति गरिसकेपछि अलापविलाप र तमासा गर्ने प्रवृत्तिबाट ग्रसित छौं।
धेरै देशहरूको नेतृत्वमा हुनेहरू अहिले एआई लगायतका मानव अस्तित्वलाई नै जोखिममा पार्न सक्ने जटिल मुद्दा कसरी सम्बोधन गर्ने भन्ने चिन्तामा छन् र विज्ञहरू जुटाएर भए पनि यो मुद्दा कसरी छिटो बुझ्ने भन्ने प्रयासमा छन्।
यो लेखमा मैले गर्ने एआई जोखिमको कुरा तपाईंहरू धेरैलाई अतिरञ्जित वा नेपालका लागि असान्दर्भिक लाग्न सक्छ।
तर विज्ञहरू भन्छन्— आसन्न एआई युगमा यस खाले बौद्धिक आलस्य र प्रतिक्रियात्मक प्रवृत्ति खतरनाक हुन सक्छ। त्यसको उल्टो समयमै गरिने बोध र तयारीले समाज र देशलाई ठूला विपत्तिहरूबाट बचाउन सक्छ।
एआईको खर्बौं डलरको जुवा
स्ट्यानफोर्ड विश्वविद्यालयको एआई इन्डेक्स रिपोर्टका अनुसार सन् २०२४ को अन्तसम्म एआई क्षेत्रमा विश्वव्यापी रूपमा १.६ ट्रिलियन (१६ खर्ब) अमेरिकी डलर लगानी भएको थियो। अमेरिकाको शोधकर्ता संस्था गार्टनरका अनुसार सन् २०२५ मा त्यो लगानी १.५ ट्रिलियन डलर थपिएर एकै वर्षमा झन्डै दोब्बर पुगेको थियो।
वर्ष २०२६ का लागि धेरै संस्थाहरूले एआईमा हुने लगानी २.५ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरिरहेका छन्।
यो भनेको कुनै पनि उद्योगमा इतिहासकै तीव्र र ठूलो लगानी हो।
अमेरिका र चीनजस्ता देशमा पुँजीपतिहरूले त्यति ठूलो सम्पत्ति लगाएर बनाएका उत्पादन तपाईं हामीले पनि कुनै न कुनै रूपमा प्रयोग गरिरहेका छौं। च्याट–जिपिटी सार्वजनिक भएयता धेरथोर एलएलएम (लार्ज ल्यांग्वेज मोडल) को प्रयोग अब व्यापक भइसकेको छ।
खास गरी गुगलले सर्चमा जेमिनाइ नामक च्याटबोटलाई समाहित गरेयता जेनेरेटिभ एआई प्रयोग नै नगर्ने इन्टरनेट प्रयोगकर्ता भेट्न गाह्रो छ।
खर्बौं डलर लगानी गरेर निर्माण भएका सेवा तपाईं हामीले धेरैजसो निःशुल्क लिएका छौं। जसको सशुल्क सबस्क्रिप्सन छ, त्यो शुल्कले पनि लगानी अनुसार प्रतिफल दिइरहेको छैन। त्यसैले अहिलेसम्म लगानीको दाँजोमा ठूला एआई कम्पनीहरूको आम्दानी धेरै कम छ। फलस्वरूप अहिले एआई कम्पनीहरू जसरी विकास भइरहेका छन्, त्यो दिगो छैन भन्ने विश्लेषकहरू प्रशस्तै भेटिन्छन्।
उसो भए एआई कम्पनीहरूले अर्बको आम्दानीका लागि खर्बको लगानी किन गरिरहेका छन् त?
यो प्रश्नको जबाफ खोतल्ने हो भने सिंगो एआई प्रविधि कसरी मानव सभ्यताका लागि एउटा हार्ने निश्चित भएको जुवाजस्तो बन्दैछ भन्ने प्रस्ट हुन्छ।
ठूला एआई कम्पनीहरूले तपाईं हामीलाई इमेल लेख्न छिटो होस् वा फेसबुकमा हाल्ने पोस्टर केही सेकेन्डमा तयार होस् भनेर खर्बौंको लगानी गरेका छैनन्। उनीहरूको निशानामा अहिले छ— १२४० खर्ब डलर बराबरको मानव श्रमको बजार।
भविष्यमा त्यसको आधा वा एक चौथाइ मात्रै हिस्सा मानिसबाट खोसेर एआईलाई दिलाउने हो भने अहिलेको एकाध खर्ब बराबर सयौं खर्ब कमाउन सकिन्छ भन्ने उनीहरूको विश्वास छ।
त्यसमाथि अग्रणी एआई शोधकर्ताहरू अहिले विश्वस्त छन् कि, केही वर्षभित्र मानिसले गर्ने कामको चौथाइ वा आधा नभई लगभग सबै हिस्सा मानिसले भन्दा राम्रो, छिटो र अतुलनीय रूपमा सस्तो मूल्यमा मेसिनले गर्न सक्नेछन्।
त्यसैले अहिले अन्धाधुन्ध एआई क्षेत्रमा भइरहेको लगानीले उच्च प्रतिफल दिने अवस्थामा अर्बौं मानिसहरूको काम मेसिनले खोस्नेछ। ती अर्बौंमध्ये जो अमेरिका र चीनजस्ता एआईबाट राजस्वबापत हुने आम्दानी उठाउने देशमा बस्छन्, तिनले युबिआई (युनिभर्सल बेसिक इन्कम) वा अरू कुनै माध्यमबाट कामै नगरी भारी आम्दानी गर्न सक्नेछन्।
हामीजस्ता कुनै प्रविधि पनि आविष्कार नगर्ने तर अरूका आविष्कारका जगमा बनेका उपभोग्य वस्तुहरूको उपभोग मात्रै गर्ने देशहरू सम्पूर्ण रूपमा जिल्लिने छन्। अनि विपन्नता र चौपट बेरोजगारीको नयाँ चुनौतीपूर्ण युगमा प्रवेश गर्नेछन्।
अन्य व्यवसायझैं यो व्यवसाय पनि सफल हुने कुनै ग्यारेन्टी भने छैन।
मानिलिऔं, कुनै कारणले एआईको 'बबल' फुट्यो र एआई कम्पनीहरूको खर्बौं डलर लगानी गर्नेहरू सयौं खर्ब डलर कमाउन भनेर थापेको बाजी हारे।
दुःखको कुरा के छ भने त्यो परिदृश्यमा अमेरिकाबाट आर्थिक महामन्दी सुरू हुन र विश्वव्यापी रूपमा फैलिन सक्नेछ। त्यसले सन् १९२९ मा सुरू भएर दशकभरि चलेको 'ग्रेट डिप्रेसन' लाई सम्झाउने गरी विश्वव्यापी आर्थिक संकट उत्पन्न गर्न सक्नेछ। गरिबी र बेरोजगारी घट्ने होइन, बढ्नेछ।
त्यसैले हामी नेपालीका लागि एआईको 'थुक कि सुक', थुक आए अरूले जित्ने, सुक आए हामीले हार्ने भनेजस्तो हुने जोखिम छ।
एआई विकासको वैकल्पिक चित्र
मैले 'नुन–तेल' पुस्तकमा जलवायु संकटलाई केन्द्रमा राखेर मानिस जातिको भूत–वर्तमान–भविष्यलाई केलाएको थिएँ। त्यो आंशिक संस्मरणसहितको गैरआख्यान थियो।
गत तीन वर्षदेखि मैले त्यही विषयलाई आख्यानमार्फत् भनेर नयाँ किताब तयार पार्दैछु। स्वभावतः आख्यान भएकाले मसित यसमा कल्पनाशीलताको व्यापक प्रयोग गर्ने छुट छ। तर पनि खास गरी एआई लगायत विषयहरूमा लेखिने आख्यान पनि तथ्यपरक होस् भनेर पछिल्ला वर्षहरूमा एआईको भविष्यबारे गरिने बहसहरू नजिकबाट नियालिरहेको छु।
पुस्तकका लागि शोध गर्ने क्रममा ओपनएआईका प्रमुख साम अल्टम्यान, एन्थ्रोपिकका प्रमुख ड्यारियो अमोडेइ र गुगल डिपमाइन्डका प्रमुख डेमिस ह्यासाबिस लगायतका एआईका अग्रणी विकासकर्ता र कम्पनीका मालिकदेखि एआईका जोखिमबारे निरन्तर बोलिरहेका 'गडफादर अफ एआई' ज्याफ्री हिन्टन, प्राध्यापक स्टुअर्ट रसेल र शोधकर्ता ट्रिस्टान ह्यारिससम्मलाई चाखपूर्वक सुनेको छु।
सन् २०२५ मा शोधकर्ताहरू ड्यानियल कोकोटालो, स्कट अलेक्जाण्डर, थोमस लार्सन, एली लिफल्याण्ड र रोमियो डिनले एआई विकासको भावी मार्गचित्रबारे प्रक्षेपण गरेर एआई २०२७ शीर्षक एउटा लामो पेपर तयार गरे।
उनीहरूमध्ये ड्यानियल कोकोटालोले एआईको भविष्यबारे हालै जस्तो प्रक्षेपण गरिरहेका छन्, त्यो मैले माथि उल्लेख गरेको यसै हार्ने, उसै हार्ने जुवाभन्दा निकै फरक छ।
सन् २०२२ देखि २०२४ सम्म ओपनएआईमा काम गरेर एआई उद्योगको भित्री काम गराइ हेरिसकेका कोकोटालोका ६ वर्षमुनिका दुई बच्चा छन्।
एक जना पोडकास्टरले उनलाई सोध्छन्— उनीहरूलाई भविष्यका लागि कसरी तयार गर्नुहुन्छ? के पढाउनुहुन्छ?
जबाफमा कोकोटालो भन्छन्— उनीहरू श्रम बजारमा प्रवेश गर्ने बेलासम्म यो सब खतम भइसकेको हुनेछ (इट विल अल बि ओभर)। त्यसैले के पढ्ने र कुन रोजगार गर्ने भन्ने प्रश्न नै निरर्थक छ।
अहिलेको रफ्तार र होडबाजीमै एआई विकास भइरहने हो भने माथि उल्लिखित दुईमध्ये पहिलो परिदृश्य (जहाँ सबैजसो श्रम मानिसबाट मेसिनले खोस्छ) वास्तविकता बन्नेमा कोकोटालो विश्वस्त छन्।
त्यसका लागि उनी चिन्तित भने छैनन्।
कारण— एआईका 'फ्रन्टियर मोडल' हरू अहिले आफैलाई उन्नत बनाउने होडमा छन्, मानिसको काम खोस्नेमा होइन। अमेरिकाका ओपनएआई, एन्थ्रोपिक र डिपमाइन्डदेखि चीनका डिपसिक र क्वेनसम्म अहिले एएसआई वा आर्टिफिसियल सुपरइन्टेलिजेन्स विकास गर्ने होडमा छन्।
त्यसैले जबसम्म मेसिनले काम खोसेर करोडौं मानिस बेरोजगार हुनेछन्, जुन उनको हिसाबले सन् २०३० को सुरूतिर हुन सक्नेछ, तबसम्म त्यसभन्दा पनि ठूला चिन्ताहरूले हामीलाई घेरिसकेका हुनेछन्।
जस्तो कि मानिस जातिलाई नै लोप पार्न सक्ने नयाँ जैविक हतियारहरूको विकास।
त्यो अवस्थामा बेरोजगारीको समस्या हामीलाई तुलनात्मक रूपमा सानो लाग्नेछ। त्यसैले उनले 'मेरा सन्तान बेरोजगार हुनेछन्' होइन कि 'यो सब खतम भइसकेको हुनेछ' भन्छन्।
एआईका जोखिमबारे 'आधिकारिक' धारणा
विश्व अर्थतन्त्र र भूराजनीतिको एउटा सुदूर कुनामा रहेको नेपालमा बसेर हेर्दा कोकोटालोका जस्ता प्रक्षेपण अर्कै संसारलाई अरू नै समयका लागि गरिएका जस्ता लाग्न सक्छन्।
फेरि अहिले संसारमा एआईले बर्बाद पार्छ भन्नेहरू (डुमर्स) जति छन्, यसले मानव जातिका सबै खाले ठूला समस्या हल गर्छ भनेर उत्साहित हुनेहरू पनि उति नै छन्।
साम अल्टम्यान लगायत ठूला एआई कम्पनीका मालिकहरूले एआईका मद्दतले रोगहरूदेखि जलवायुको संकटसम्म समाधान हुन सक्ने भनेर बारम्बार बताउँदै आएका छन्।
अन्तहीन सम्पत्ति र समृद्धिको नयाँ युगमा मानिस जीविकाका लागि काम गर्ने होइन कि, मेसिनले कमाएर दिएको सम्पत्ति खर्च गर्दै आफूले चाहेको काम गर्न वा जीवनभरि आराम गरेर बस्न सक्नेछन् भनेर प्रक्षेपण गर्नेहरू पनि प्रशस्तै छन्।
त्यसैले एआईबारे निराशावादी मानिसहरूको भनाइलाई मात्रै प्रश्रय दिएको भनेर तपाईंहरूले आरोप लगाउनु अगाडि म तपाईंहरूका लागि अर्को सामग्री सिफारिस गर्छु— यही वर्ष मार्चमा रिलिज भएको वृत्तचित्र 'द एआई डकः अर हाउ आइ बिकेम अ एपोक्यालोपटोमिस्ट'।
ड्यानियल रोहर निर्देशित यो वृत्तचित्रले एआई मुद्दाका सबैजसो कोणहरूबाट विचार राख्दै आएका ओपनएआईका साम अल्टम्यान र एन्थ्रोपिकका ड्यारियो अमोडेइ र गुगल डिपमाइन्डका डेमिस ह्यासाबिस लगायत एघार जना एआई कम्पनीका प्रमुख वा शोधकर्ताहरू, ११ एआई सुरक्षा र 'एथिक्स' शोधकर्ताहरू, तीन जना मानव केन्द्रित प्रविधिका अग्रणी अभियन्ताहरू तथा युवल नोआ हरारी लगायत सात जना अरू विद्वानहरूलाई एकै मञ्चमा ल्याएको छ।
एआईको भविष्यबारे विभाजित आशावादी र निराशावादी दुवै कित्ताका विज्ञका कुरा सुनेर यस विषयमा तपाईं आफ्नो धारणा बनाउन सक्नुहुन्छ।
उक्त वृत्तचित्रमा विज्ञहरूले भनेका जम्मा तीन विचारोत्तेजक प्रसंगहरू म यहाँ उद्धृत गर्छु।
– हाम्रा (अहिले जन्मेका) बालबालिका हाइस्कुल पुग्न पाउने छैनन् (कोकोटालोले 'इट विल अल बि ओभर' भनेको जस्तै एआई शोधकर्ताहरूलाई उद्धृत गरिएको)
– एआईको विकास तीव्र गतिमा कुदिरहेको रेलजस्तै हो। यसमा बस्यौ भने कहाँ पुग्छौ थाहा छैन, यसलाई रोक्न भनेर ट्रयाकमा झर्यौ भने यो रेल तिमीलाई किचिमिची पारेर अघि बढ्नेछ।
– विश्वभरि, खास गरी अमेरिका र चीनमा जुन एएसआई (आर्टिफिसियल सुपरइन्टेलिजेन्स) विकास भइरहेको छ, त्यसरी विकसित हुने सर्वशक्तिमान् सुपरएजेन्टको मानिससित खास रिसइबी हुनुपर्ने वा मानिसलाई लोप पार्ने उसको उद्देश्य हुनुपर्ने खास कारण छैन। तर जसरी मानिसले राजमार्ग बनाउनुपर्यो भने त्यसमा पर्ने कमिलाको बासस्थान मिच्न र कमिलालाई किचिमिची पार्न दुईपल्ट सोच्दैन, मानिसभन्दा बुद्धिमान एआईको मानिसप्रतिको रवैया पनि यस्तै हुनेछ। उसको उद्देश्य (जुन मानिसले बुझ्ने सम्भावना शून्यप्रायः छ) मा बाधा नपुगुन्जेल उसले मानिससित सहअस्तित्व बनाइराख्नेछ। जुन दिन मानिसले बाधा सिर्जना गर्छ, सहजै मानिसलाई लोप पारिदिन सक्नेछ।
नेपाली भएर के गर्ने?
नुन–तेल पुस्तकभरि मेरो सन्देश थियो— जलवायु संकटको कारण हामी होइनौं तर यसको चपेटामा नराम्ररी पर्दैछौं। त्यसैले यो समस्या हामीले गर्दा आएको होइन भनेर टक्टकिएर पुग्दैन।
राँकिएर जल्दै गरेको पृथ्वीमा कसरी बाँच्ने भनेर रणनीति बनाउनमा लागिरहनुपर्छ भन्ने त्यो पुस्तकको निचोड थियो।
नयाँ पुस्तकमा पनि म त्यस्तै खालको निचोडमा पुग्न बाध्य थिएँ। एआईको जथाभावी विकास अहिलेको एकल समस्या होइन। जलवायु संकट मैले नुन–तेल लेख्दाका वर्षहरूमा भन्दा अहिले गहिरिएर गएको छ। त्यसको रफ्तारमा ब्रेक लाग्ने कुनै छनक अहिलेसम्म छैन।
यसबीच संसारभरि नयाँ युद्ध र द्वन्द्व, नरसंहार र जातीय सफायाहरू थपिएका छन्, घटेका छैनन्। गरिबी र भोकमरी बढेको छ।
चरम भोकको संकटबाट अहिले नै गुज्रिरहेका तीस करोड मानिसहरूमाथि अहिले चलिरहेको सुपर–एल निनो नामक मौसमी प्रणालीले अर्को वर्षसम्म पाँच करोड अरू मानिसलाई त्यो संकटमा धकेल्नेछ भन्ने प्रक्षेपणहरू अहिले भइरहेका छन्।
सन् २०२० मा प्रकाशित एउटा अध्ययनका अनुसार अहिलेकै रफ्तारमा पृथ्वी तात्ने हो भने सन् २०७० सम्म संसारभरिका साढे तीन अर्ब मानिसहरू बस्ने ठाउँमा अहिलेको सहारा मरूभूमिको मध्यभागजस्तो तातो हुनेछ र त्यति मानिस त्यसअघि नै विस्थापित भइसकेका हुनेछन्।
त्यो अध्ययन भएयताका ६ वर्षमा पृथ्वीमा कार्बन उत्सर्जन र तापमानको बढोत्तरी झन् तीव्र भएको छ।
यी सबैको पृष्ठभूमिमा अहिले आइरहेको छ एआई संकट।
तर नेपालको हैसियत फेरि पनि उही छ— कुनै पनि विश्वव्यापी संकट आफूले सुरू नगर्ने तर त्यसबाट बच्न न्यूनतम काम गर्न पनि नसक्ने।
लेखकका हैसियतले यसमा मैले भन्न सक्ने यत्ति हो— अरू केही नभए पनि कम्तीमा आसन्न संकटको गुरूत्व बोध गरौं। जति सकिन्छ तयारी गरौं। संकटको तरबार घाँटीमा झरेपछि मात्रै छट्पटिने काम नगरौं। संकट रोक्न सकिँदैन भने पनि त्यसका प्रभाव मत्थर पार्न केके काम गर्न सकिन्छ, ती गरौं।
होइन भने, जलवायु संकट र एआईको जुवामा हारेका कारण सिंगो मानवता खाडलमा पर्दै गर्दा त्यसको सबैभन्दा पिँधमा हामी पर्नेछौं र बाँकी संसारले हामीलाई माथिबाट थिच्नेछ।
(एआई लगायत मानव सभ्यतामाथि आइलागेका विविध संकटहरूमा केन्द्रित लेखकको नयाँ आख्यान कृति आउँदैछ।)