२४ वर्षको उमेरमा बेल्जियममा व्यवसाय सुरू गरेका धादिङका काशी दनै अहिले नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष छन्।
आफ्नो नेतृत्वमा स्थापना भएको 'सुसी किङ' लाई युरोपकै पहिलो नेपाली फ्रेन्चाइज रेस्टुरेन्ट बनाउने लक्ष्य उनको छ।
काशी सन् २००४ को सुरूआतमा नेदरल्यान्ड पुगेका थिए। त्यसको एक वर्षपछि बेल्जियम गए।
'१८ वर्षको उमेरमा विदेश पुगेको थिएँ। सुरूका दिन सहज थिएनन्। नयाँ देश, नयाँ भाषा र कुनै अनुभव नभएकाले सामान्य काम गरेँ। रेस्टुरेन्टमा भाँडा माझेँ,' काशीले भने।
करिब पाँच वर्ष रेस्टुरेन्ट क्षेत्रमा काम गर्दा उनले धेरै कुरा सिके। त्यही अनुभव आफ्नै व्यवसायमा प्रयोग गर्ने सोचे र सन् २०१० मा 'सुसी किङ' रेस्टुरेन्ट खोले।
'रेस्टुरेन्ट क्षेत्रमै अनुभव भएकाले म र ससुराबुबा (लोक दाहाल) मिलेर सुरू गर्यौं। हामीलाई त माछा काट्नसमेत आउँदैन थियो। युट्युब हेर्दै काम सिकेर रेस्टुरेन्ट अघि बढाएका हौं,' उनले भने।
त्यति बेला बेल्जियममा नेपालीहरूले धेरै जापानी रेस्टुरेन्ट खोलेका थिएनन्। त्यसैले उनीहरूले जापानी परिकारमै जोड दिएका हुन्।
उनका अनुसार अहिले बेल्जियममा नेपालीहरूले दुई सयभन्दा बढी सुसी रेस्टुरेन्ट चलाइरहेका छन्।
विगतमा त्यहाँ इमानदार कामदारका रूपमा नेपालीहरूले आफ्नो छवि बनाएका थिए भने अहिले सफल उद्यमीका रूपमा चिनिने क्रम बढेको उनी बताउँछन्।
काशीले सन् २०२२ मा बेल्जियम सरकारको अवार्ड पनि पाएका थिए। आर्थिक गतिविधिमा सक्रिय भएको, स्थानीयलाई रोजगारी दिएको र छिटो प्रगति गरेको भन्दै आफूलाई अवार्ड दिइएको उनले बताए।
पारिवारिक रूपमा स्थापित उनको सुसी किङका अहिले १० वटा शाखा छन्। चाँडै अर्को शाखा खोल्ने तयारी भइरहेको छ। यीमध्ये तीन वटा फ्रेन्चाइज हुन् भने सात वटा उनीहरूकै स्वामित्वमा छन्। फ्रेन्चाइज रेस्टुरेन्टको प्रशासन र त्यहाँ जाने सामग्री उनीहरूकै मातहत हुन्छ।
'हामीले सुसी किङलाई फ्रेन्चाइज बनाउने योजना ल्याइसकेका छौं। सुसी किङलाई युरोपमा नेपालीहरूको पहिलो फ्रेन्चाइज रेस्टुरेन्ट बनाउने लक्ष्यसहित हामीले काम गरेका छौं,' उनले भने।

रेस्टुरेन्टसँगै उनीहरूले आफ्नै गोदाम/भण्डारण बनाएका छन्। आफ्नै भवन बनाएर त्यहीँबाट केन्द्रीय कार्यालय र गोदाम चलाउने तयारी अन्तिम चरणमा पुगेको छ।
त्यस्तै, सुसी किङका लागि आवश्यक १८–२० प्रकारका कच्चा पदार्थ उनीहरू आफै उत्पादन गरेर बेच्न थालेका छन्।
सुसी किङले आफ्नै लेबलमा चीन, जापान र इटालीमा सामग्री उत्पादन गरिरहेको काशीले बताए। ती सामग्री आफ्नै गोदाममा ल्याएर कामदारमार्फत वितरण गरिन्छ।
'यसले बेल्जियमभर रहेका सुसी तथा अन्य रेस्टुरेन्टलाई आवश्यक सामग्री उपलब्ध गराउँछ,' उनले भने।
सन् २०१९ देखि काशीले केही साथीहरूसँग मिलेर 'फुड एसिया' पनि सञ्चालनमा ल्याएका छन्। यसमार्फत ४६० प्रकारका सामग्री बिक्री गर्दै आएका छन्। सबै व्यवसायमा पूर्णकालीन र आंशिक समय गरी झन्डै दुई सय जनाले काम गरिरहेको उनले बताए।
नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष भएको र लामो समयदेखि बेल्जियममै रहेकाले उनले नेपाली व्यवसायीहरूलाई नजिकबाट नियालेका छन्।
'रेस्टुरेन्ट क्षेत्रमा काम गर्न सकिने र सुरक्षित भएकाले धेरै साथी यसमै लागेका छन्। अब भने बिस्तारै होटल, सुपरमार्केट सहितका आधा दर्जन क्षेत्रमा नेपाली समुदायको लगानी भइसकेको छ,' उनले भने।
तर नेपालीहरूलाई व्यवसायमा चुनौती पनि छ। भाषा लगायतका कारण कतिपय नियम स्थानीय सरकारले दिने छुट पाउन सकेका छैनन्। त्यस्तै जरिवाना तिर्नुपर्ने र कहिलेकाहीँ व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ।
जागिरभन्दा व्यवसायबाट धेरै छिटो कमाइ हुने भए पनि धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उनी बताउँछन्।
'विज्ञ तथा चार्टर्ड एकाउन्टेन्टसँग परामर्श गर्नुपर्छ। तर नियम कडा छ भन्दैमा काम गर्न नसकिने भन्ने होइन। प्रक्रियामा गएर काम गर्न सहज नै छ,' काशीले भने।