अमेरिकी खुफिया रिपोर्टले केही वर्षभित्र रूसले नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्न सक्ने सम्भावना देखाएको छ।
नेटो सदस्य राष्ट्रहरूको गठबन्धन कत्तिको सुदृढ छ भन्ने कुरा परीक्षण गर्नका लागि रूसले केही वर्षमै कुनै एउटा सदस्य राष्ट्रमाथि हमला गर्न सक्ने खुफिया रिपोर्ट रहेको भनेर अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले पहिलोपटक सार्वजनिक गरेको हो।
उक्त आक्रमण साइबर हमलादेखि सानो भूभागमा सैन्य घुसपैठसम्म हुनसक्ने सूचना रहेको पनि वालस्ट्रिटले जनाएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले युक्रेनविरूद्धको लडाइँमा तत्कालै जित निकाल्न सहज नभएकाले नेटो सदस्य राष्ट्रहरूमाथि अशान्ति सिर्जना गर्नका लागि कुनै एउटा देशमा हमला गर्न सक्ने बताइएको छ।
अमेरिकी गुप्तचर निकायका पछिल्ला आकलनबारे जानकार तीन स्रोतले पुटिनले नेटोको सामूहिक रक्षा प्रतिबद्धता कति बलियो छ भनेर परीक्षण गर्न सीमित स्तरको कारबाही गर्न सक्ने भनेको हो।
यस्तो कदमले नेटोको ऐक्यबद्धता र प्रतिबद्धतालाई चुनौती दिने तर तत्कालै गठबन्धनको सामूहिक सैन्य प्रतिक्रिया निम्त्याउने स्तरसम्म नपुग्ने पनि खुफिया रिपोर्टमा भनिएको छ।
नेटोको धारा ५ अनुसार गठबन्धनका कुनै एक सदस्यविरुद्ध आक्रमण भए त्यसलाई सबै सदस्य विरुद्धको आक्रमण मानिन्छ।
तर साइबर आक्रमण, हाइब्रिड कारबाही वा सानो स्तरको घुसपैठजस्ता घटनामा धारा ५ लागू हुने अवस्था स्पष्ट नहुन सक्छ।
त्यसैलाई उपयोग गर्दै रुसले नेटोको प्रतिक्रिया परीक्षण गर्न सक्ने अमेरिकी आकलनमा उल्लेख छ।
खुफिया रिपोर्टमा रूसबाट हुने हमलाको समय समेत आकलन गरिएको छ।
उक्त हमला यही शरद ऋतुदेखि सन् २०२९ भित्र हुन सक्ने भनेर रिपोर्टमा उल्लेख रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
जमिनबाट हुने गम्भीर आक्रमणको सम्भावना भने कम रहेको बताइएको छ। तर समय बित्दै जाँदा यसको जोखिम बढ्न सक्ने आकलन गरिएको छ।
एक स्रोतका अनुसार पुटिनले नेटोविरुद्ध कुनै कदम चाल्ने हो भने बाल्टिक क्षेत्रका देश वा पोल्यान्डलाई निशाना बनाउन सक्ने सम्भावना बढी हुन्छ। तर पुटिनले कहिले र कुन स्वरूपमा यस्तो कदम चाल्न सक्छन् भन्ने अझै खुला प्रश्न रहेको स्रोतहरूले बताएका छन्।
अमेरिकी तथा नेटो अधिकारीहरूका अनुसार युक्रेन युद्धबाट पुटिनले आफूलाई सम्मानजनक रूपमा बाहिर निकाल्ने बाटो अर्थात् ‘फेस सेभिङ अफ-र्याम्प’ पाउन नसके उनले नेटोविरुद्ध तनाव बढाउन सक्ने सम्भावना पनि छ।
रुसले युक्रेनमा अपेक्षित सैन्य सफलता हासिल गर्न नसकेको र घरेलु दबाब बढिरहेको अवस्थामा अमेरिकी गुप्तचर निकायले आफ्नो अघिल्लो आकलन परिवर्तन गरेको जनाइएको छ।
यसअघि पुटिन युक्रेन युद्ध चलिरहेका बेला नेटो सदस्य राष्ट्रलाई उत्तेजित गर्ने कदम नचाल्ने अमेरिकी आकलन थियो।
नेटोका वरिष्ठ सैन्य प्रवक्ता मार्टिन ओ’डोनेलले वर्गीकृत गुप्तचर आकलनबारे टिप्पणी गर्न अस्वीकार गरे। तर उनले नेटोले जुनसुकै अवस्थाका लागि निरन्तर सोच्ने र तयारी गर्ने बताएका छन्।
‘नेटोले निगरानी गरिरहेको छ र आवश्यक परे प्रतिरोध तथा रक्षा गर्न तयार छ, जसको हामी निरन्तर प्रदर्शन गरिरहेका छौं,’ उनले भने।
रुसले पछिल्ला वर्षहरूमा नेटोको भूभाग र हवाई क्षेत्रमा विभिन्न किसिमका गतिविधि गरेको आरोप लाग्दै आएको छ।
गत मेमा युक्रेनको बन्दरगाहमा रुसी आक्रमण भइरहेका बेला विस्फोटक बोकेको ड्रोन रोमानियाको एउटा आवासीय भवनमा ठोक्किँदा दुई जना घाइते भएका थिए।
गत सेप्टेम्बरमा युक्रेनमाथि भएको रुसी आक्रमणका क्रममा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नेटोका लडाकु विमानले तिनलाई खसालेका थिए।
यसैबीच, जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिएको घटनाले पनि युरोपको सुरक्षा चिन्ता बढाएको छ।
अमेरिकी गुप्तचर अधिकारीहरूले उक्त ड्रोन रुसी सरकारी निकायसँग सम्बन्धित रहेको आकलन गरिएको छ। वाल स्ट्रिट जर्नलका अनुसार ड्रोन युक्रेनी कार्गो विमाननजिकै सुरक्षित क्षेत्रमा भेटिएको थियो।
जर्मनीका गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिनुलाई नयाँ स्तरको सुरक्षा खतरा भएको भनेका छन्।
उनले विमानस्थल वरपर ड्रोन देखिनु नयाँ नभए पनि विस्फोटकसहितको ड्रोन भेटिनु नयाँ खतराको परिदृश्य रहेको बताएका छन्।
अमेरिकी अधिकारीहरूले उक्त घटनामा रुसको सम्भावित संलग्नताको आकलन सार्वजनिक गरे पनि जर्मनीले औपचारिक रूपमा रुसलाई दोषी ठहर गरिसकेको छैन।
जर्मन राष्ट्रिय सुरक्षा परिषद्ले शुक्रबार विमानस्थल घटनाबारे पनि छलफल गरेको थियो।
रुससम्बन्धी पछिल्लो अमेरिकी गुप्तचर आकलन त्यस्तो समयमा आएको छ, जतिबेला अमेरिकाको हतियार तथा क्षेप्यास्त्र भण्डारबारे पनि चिन्ता बढेको छ। युक्रेनलाई लामो समयदेखि दिइएको सैन्य सहयोग र इरान विरुद्धको युद्धमा भएको ठूलो हतियार प्रयोगका कारण केही महत्वपूर्ण क्षेप्यास्त्र तथा हवाई रक्षा प्रणालीको भण्डार घटेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
द वाल स्ट्रिट जर्नलका अनुसार जोखिममा रहेका हतियारमा प्रिसिजन स्ट्राइक मिसाइल, एटीएसीएमएस र स्टिङ्गरलगायत छन्।
तर अमेरिकी रक्षा मन्त्रालयले भने हतियार अभावसम्बन्धी दाबी अस्वीकार गरेको छ।
पेन्टागनका प्रवक्ता सेन पार्नेलले अमेरिकासँग आवश्यक सैन्य सामग्री पर्याप्त रहेको बताएका छन्। ह्वाइट हाउसकी प्रवक्ता एना केलीले पनि अमेरिकी सेनासँग राष्ट्रपति डोनाल्ड ट्रम्पका रणनीतिक लक्ष्य पूरा गर्न पर्याप्तभन्दा बढी हतियार रहेको दाबी गरेकी छन्।
यसअघि ट्रम्पले पनि अमेरिकी हतियार भण्डार घटेको भन्ने रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
उनले सामाजिक सञ्जालमा अमेरिकासँग विशेषगरी केही प्रकारका हतियारको ठूलो मात्रा रहेको र थप हतियार उत्पादन तथा अमेरिका पठाउने काम भइरहेको दाबी गरेका छन्।
युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र युरोपको नेतृत्वमा भइरहेका कूटनीतिक प्रयास पनि पछिल्लो समय सुस्ताएका छन्।
रुसमाथि लगाइएका अमेरिकी तथा युरोपेली प्रतिबन्धले रुसी अर्थतन्त्रमा प्रभाव पारे पनि पुटिनलाई युक्रेनमा सैन्य कारबाही रोक्न बाध्य बनाउन सकेका छैनन्।
अमेरिकी गुप्तचर आकलनले त्यसैले युक्रेन युद्धको भविष्यसँगै रुसले नेटोको सामूहिक रक्षा प्रणालीलाई प्रत्यक्ष रूपमा परीक्षण गर्न सक्ने सम्भावनालाई पनि आगामी वर्षहरूको प्रमुख सुरक्षा जोखिमका रूपमा अघि सारेको छ।