चितवनका प्रकाश आचार्य सन् २००६ को जुनमा मास्टर्स इन आइटी पढ्न अस्ट्रेलिया पुगेका थिए।
नेपालमा ब्याचलर इन कम्प्युटर एप्लिकेसन गरेका उनले 'टेक माइन्ड' नामक सफ्टवेयर कम्पनीमा काम गरेका थिए।
अस्ट्रेलिया पुगेपछि भने उनले पढाइ सुरू गरे पनि कोर्स पूरा गरेनन्।
'अस्ट्रेलियाको गोल्डकोस्टमा एक वर्ष पढे पनि म नर्दन टेरिटोरीको डार्भिन पुगेँ। नेपालमा पढेको विषय र यहाँको इक्विभ्यालेन्सका कारण मलाई काम खोज्न सहज भयो। मैले त्यो बेला डार्भिनमा डिपार्टमेन्ट अफ प्लानिङ एन्ड इन्फ्रास्ट्रक्चरमा आइटी ग्र्याजुएटका रूपमा काम पाएँ,' उनले भने, 'डार्भिनमा मैले करिब १० वर्ष बिताएँ। त्यसमध्ये चार वर्ष सरकारी सेवामा काम गरेँ भने एक वर्ष गैरसरकारी संस्थामा रहेँ।'
अस्ट्रेलियाको सुरूआती संघर्ष भने सहज थिएन। जुन संघर्ष अधिकांश नेपालीले गर्छन्, उनले पनि त्यही गरे। गोल्डकोस्टमा भाँडा माझ्ने कामदेखि क्लब तथा पबमा सेक्युरिटी गार्डको कामसम्म गरेको उनले बताए।
आचार्य डार्भिन पुगेको एक वर्षपछि उनकी श्रीमतीले पनि डार्भिनमै ग्र्याजुएट नर्सको काम पाइन्।
सन् २०१२ देखि प्रकाशले डिटेन्सन सेन्टरमा काम गरे। त्यहाँ उनी डिटेन्सन सर्भिस म्यानेजरको भूमिकामा थिए। डुंगाबाट आएका तथा विभिन्न माध्यमबाट शरण खोज्दै आएका मानिसहरूको हेरचाह गर्ने ठाउँमा उनको काम थियो।
आइटी पढेका आचार्यले आफ्नो करियर भने फरक क्षेत्रमा मोड्ने सोच बनाए। त्यही भएर सन् २०१६ देखि उनले मोरगेज ब्रोकरका रूपमा काम सुरू गरे। डार्भिनबाट सुरू भएको यो यात्रा अहिले मेलबर्नमा केन्द्रित छ।
मेलबर्नबाट मोरगेज ब्रोकरको लाइसेन्स लिएका आचार्यले चितवनकै अमृत लम्सालसँग मिलेर क्यापकोन होम लोन्स सञ्चालन गरिरहेका छन्।
'हाम्रो मुख्य काम अस्ट्रेलियामा घर किन्न चाहनेलाई होम लोन मिलाउन सहजीकरण गर्नु हो। यसबाहेक बिजनेस लोन, कार लोन तथा कमर्सियल प्रोपर्टीका लागि पनि काम गर्दै आएका छौँ,' उनले भने, 'हाम्रो काम कुनै व्यक्तिले कति ऋण लिन सक्छ भनेर निर्धारण गर्ने र त्यो मिलाउन सहजीकरण गर्ने हो।'
घर खोज्नु मोरगेज ब्रोकरको काम होइन। ग्राहकले आफ्नो आर्थिक अवस्थाअनुसार कति लोन पाउन सक्छ भन्ने स्पष्ट भएपछि मात्र घर खोज्ने प्रक्रिया सुरू गर्नुपर्ने उनको सुझाव छ।
'यो घर किन्नुस् वा त्यो घर किन्नुस् भन्ने हाम्रो काम होइन। घर ठीक छ कि छैन, ठाउँ ठीक छ कि छैन भन्ने कुरा हाम्रो क्षेत्रभित्र पर्दैन,' उनले भने।
घर किन्नुअघि सोलिसिटरसँग समन्वय गर्न आवश्यक हुने उनी बताउँछन्।
आचार्यका अनुसार क्यापकोन होम लोन्सका अधिकांश ग्राहक नेपाली छन्। नेपालीपछि फिलिपिनो समुदायका ग्राहक बढी छन्। अस्ट्रेलियामा घर किन्नका लागि सबैभन्दा पहिले आम्दानी र डिपोजिटको अवस्था महत्वपूर्ण हुन्छ।
'कहिलेकाहीँ पाँच प्रतिशत तिरेर घर किन्न पाइन्छ, कहिले १० प्रतिशत वा २० प्रतिशत पनि आवश्यक पर्न सक्छ। मुख्य कुरा आफ्नो डिपोजिट र आम्दानीले कति धान्न सक्छ भन्ने हो,' उनले भने, 'अस्थायी बसोबास अनुमति पाएका व्यक्तिले समेत घर किन्न सक्ने भए पनि स्थायी अनुमति पाएका र अस्ट्रेलियाका नागरिकलाई प्रक्रिया केही सहज हुन सक्छ।'
अस्ट्रेलियामा बैंकपिच्छे नीति फरक हुन सक्छ। विशेषगरी भिसाको अवस्था र आम्दानीअनुसार पनि बैंकको मूल्यांकन फरक हुन सक्ने भन्दै उनले मोरगेज ब्रोकरले ग्राहकको अवस्था हेरेर उपयुक्त बैंकसँग जोड्ने जिम्मेवारी लिने बताए।
आचार्यका अनुसार घर किन्ने क्रममा नेपालीहरूले केही गल्ती गर्ने गरेका छन्।
नेपाली ग्राहकहरूले घर किन्दा गर्ने मुख्य गल्ती भनेको आफ्नो क्षमताभन्दा ठूलो घर रोज्नु हो। आफूलाई दुई वा तीन बेडरूमले पुग्छ भने पनि चार बेडरूम रोज्ने गरेको देखिन्छ।
'पाँच वर्षपछि सन्तानको योजना छ भने अहिले नै ठूलो घर किनेर आर्थिक भार बढाउनु आवश्यक छैन। धेरैले युवा अवस्थामा ठूलो सपना देखेर ठूलो घर किन्छन्। तर पछि बच्चा भएपछि एक जनाले काम गर्न नसक्ने अवस्था आउँदा समस्या हुन सक्छ,' उनले भने।
अर्को गल्ती भनेको घर आफू बस्नका लागि हो कि लगानीका लागि भनेर स्पष्ट नहुनु हो।
कतिपयले भविष्यमा मूल्य बढ्छ भन्ने सोचेर लामो समय कठिनाइ सहेर बस्ने गरेको उनको अनुभव छ। तर मूल्य बढ्छ भन्ने कुनै निश्चितता नहुने उनी बताउँछन्।
त्यस्तै, सस्तो घरको खोजीमा धेरै टाढा जाँदा भविष्यमा बच्चाको स्कुल, चाइल्ड केयरलगायत विषयमा समस्या आउन सक्ने भएकाले यी कुरालाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।
पेसाअनुसार भविष्यको आम्दानी क्षमता पनि हेर्नुपर्ने उनको बुझाइ छ।
'सेफको काम गर्ने व्यक्तिको तलब एकैपटक दोब्बर–तेब्बर बढ्न कठिन हुन सक्छ। तर आइटी र इन्जिनियरिङ क्षेत्रमा अहिले कम भए पनि पछि आम्दानी बढ्न सक्छ,' उनले भने, 'त्यसैले आफ्नो सीप, व्यवसाय र भविष्यको सम्भावना हेरेर घर किन्नुपर्ने हुन्छ। घर किन्दा जीवन बीमामा पनि ध्यान दिनुपर्छ। घरको ऋणअनुसार बीमा रकम पर्याप्त हुनुपर्छ।'
अर्को गल्ती घरको मूल्यअनुसारको बीमा नगर्नु हो।
धेरैले सामान्य बीमा मात्र गरेका हुन्छन्। एक–डेढ लाखको बीमा गर्छन्। तर घरको ऋणअनुसार आठ–नौ लाखसम्म दाबी गर्न मिल्ने गरी बीमा गर्नु राम्रो हुन्छ। जसले गर्दा कुनै कारणले दुवै जनाले काम गर्न नसक्ने अवस्था आएमा समेत बीमाले सहयोग गर्न सक्छ।
मोरगेज ब्रोकरको काममा चुनौती र सहजता दुवै रहेको आचार्य बताउँछन्।
'बाहिरबाट हेर्दा बैंकले गर्ने काम हो भन्ने लाग्न सक्छ। तर बैंकले पनि हामीलाई निगरानी गरिरहेको हुन्छ। गलत डकुमेन्ट परेको अवस्थामा हाम्रो जिम्मेवारी हुन्छ। ग्राहकले आम्दानीबारे गलत जानकारी दिएको छ कि छैन भन्ने कुरा पनि गम्भीर रूपमा हेर्नुपर्छ,' उनले भने, 'ग्राहकबाट शुल्क लिने व्यवस्था भए पनि हामीले अहिलेसम्म ग्राहकबाट शुल्क लिएका छैनौं। बैंकबाट आउने कमिसनबाटै काम गरिरहेका छौँ। यदि ग्राहकले छिट्टै घर बेच्ने वा सम्झौता तोड्ने अवस्था आएमा भने बैंकमा जान वा शुल्क तिर्नुपर्ने हुन सक्छ।'
नेपालमा घरजग्गाको काम गर्ने व्यक्तिलाई दलाल भन्ने गरिए पनि अस्ट्रेलियामा भने नियमन र लाइसेन्स प्रणालीका कारण काम व्यवस्थित रहेको उनको भनाइ छ।
'हामीले पढेको योग्यता र लाइसेन्सका आधारमा काम गर्छौँ। लापरबाही गरे लाइसेन्स जान सक्छ,' उनी भन्छन्।
आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि सक्रिय थिए। उनी नर्दन टेरिटोरीको संयोजक भइसकेका छन् भने सन् २०१२ मा एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष पनि भएका थिए।
अहिले भने उनी व्यवसाय र परिवारमा बढी केन्द्रित छन्। बच्चाहरू साना भएकाले एनआरएनएमा सक्रियता घटेको उनले बताए।
औपचारिक रूपमा नलागे पनि अनौपचारिक रूपमा सामाजिक क्षेत्रमा सक्रिय रहेको उनको दाबी छ।
उनीहरूले नेपालमा पनि होम लोनसम्बन्धी आउटसोर्सिङ अफिस सञ्चालन गरेका छन्। त्यहाँ ६ जना कर्मचारी छन्। काठमाडौंमा चार जना र चितवनमा दुई जना कार्यरत छन्।
त्यस्तै, नेपाल र अस्ट्रेलियाबीच भावनात्मक सम्बन्ध कायम राख्ने उद्देश्यले उनीसहित १५ जनाभन्दा बढी चितवनका युवाहरू मिलेर 'चितवन कंगारु ग्रुप' स्थापना गरेका छन्।
गैरनाफामूलक उद्देश्य रहेको उक्त संस्थाले दुई बिघा जमिन लिएको छ भने चार जनाले काम गरिरहेका छन्।
अस्ट्रेलिया जाँदा आचार्य २३ वर्षका मात्रै थिए। अस्ट्रेलिया गएको दुई दशक पुग्नै लाग्दा उनको अस्ट्रेलिया बसाइँ व्यवस्थित र सुरक्षित भए पनि परिवारको सम्झना भने उस्तै छ। फेरि उनी यसलाई मानवीय चक्रका रूपमा पनि सम्झिन्छन्।
'मेरो बुवाआमाले पनि पर्वत छोडेर चितवन आउनुभयो। हजुरबा–हजुरआमा उतै हुनुहुन्थ्यो। मैले पनि बुवाआमालाई चितवनमै छोडेर अस्ट्रेलिया आएँ,' उनले भने, 'यो एउटा यात्रा पनि होला। पैसा कमाइयो, व्यवस्थित भइयो तर बा–आमासँग बस्न पाइएको छैन।'