शुक्रबार दिउँसोदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर ६५ वर्षीय किरण सिंहको मोबाइल सोही दिन बेलुका पौने ६ बजेपछि स्विच अफ भएको खुलेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार बेपत्ता सिंहको मोबाइलमा बेलुका पौने ६ बजेसम्म सम्पर्क भए पनि त्यसपछि भने सम्पर्क हुन सकेको छैन। सोही आधारमा प्रहरी प्राविधिक अनुसन्धानमा अगाडि बढेको एसपी भट्टले बताए।
पूर्वमेयर सिंहले दिउँसो आफ्ना एक व्यावसायिक साझेदारलाई आफै फोन गरेर जंगलमा बाटो बिराएकाले सहयोग गर्न आग्रह गरेको पनि खुलेको छ।
'उहाँले व्यावसायिक साझेदारलाई फोन गरी बाटो बिराएकाले ठम्याउन सकिनँ, सहयोग गर्नुपर्यो भनेको खुलेको छ,' एसपी भट्टले भने।
परिवारका अनुसार प्रेसर र दमका बिरामी रहेका सिंह धेरै हिँड्न नसक्ने अवस्थामा रहेको अवगत गराएको एसपी भट्टले बताए।
'यहाँ घनघोर जंगल छ। गएराति मध्यरातसम्म खोजी गर्दा पनि फेला पार्न सकिएको थिएन,' एसपी भट्टले भने, 'आज पनि बिहानैदेखि ठूलो संख्यामा प्रहरी र स्थानीय सहित कुकुरको प्रयोग गरी खोजी गर्दा हालसम्म उहाँलाई फेला पार्न सकिएको छैन।'
एसपी भट्टका अनुसार सोही जंगल क्षेत्रमा रिसोर्ट, बाख्रा फार्म, कुखुरा फार्म तथा माछापालन सहितको कृषि योजनामा बेपत्ता सिंह सहितका व्यक्तिहरूले साझेदारीमा लगानी गरी काम गर्ने तयारी गरिरहेका थिए।
'हिजो हामी कृषि फार्म खोल्ने भनिएको स्थानमा पुगेका थियौँ,' एसपी भट्टले भने, 'त्यहाँ पहिले नै निर्मित पुराना संरचनाहरू रहेछन्। यो टोलीले ती मर्मत गरी रिसोर्ट सहितको कृषि फार्म खोल्ने तयारी गरिरहेको खुल्न आयो।'
तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीले संयोगवश शुक्रबार बेलुकीपख पूर्वमेयर सिंहलाई फोन गरेका थिए।
तिवारीका अनुसार बेलुकी ५ बजेपछि उनीहरूबीच जम्मा १०-११ सेकेन्ड मात्र कुरा भएको थियो।
'उहाँले मलाई ‘बाबु बचाइहाल–बचाइहाल’ मात्रै भनेर फोन काट्नुभएको थियो,' तिवारीले भने, 'मैले फेरि अर्का एक साथीमार्फत फोन गर्न लगाएँ, त्यतिबेला पनि उहाँले त्यही दोहोर्याएपछि म आत्तिएँ।'
सोही क्रममा त्यहाँ कपिलवस्तु–१ का वडाध्यक्ष मुहम्मद जहिद खाँ पुग्छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाध्यक्ष खाँलाई तिवारीले पूर्वमेयर सिंह हराएको घटनाबारे अवगत गराउँछन्।
वडाध्यक्ष खाँका अनुसार सुरूमा तिवारीको कुरालाई उनले जिस्किएको रूपमा लिएका थिए।
तिवारीले गम्भीर रूपमा सोही कुरा दोहोर्याएपछि वडाध्यक्ष खाँले आफ्नै मोबाइलबाट पूर्वमेयर सिंहलाई सम्पर्क गरेका थिए।
'मैले उहाँलाई पाँच बजेर बत्तीस मिनेट जाँदा फोन गरेको थिएँ,' उनले भने, 'मसँग उहाँको मुस्किलले बाइस सेकेन्ड जति मात्र संवाद भयो। उहाँ निकै स्वाँस फुलेको र आत्तिएको सुनिनुभएको थियो।'
पूर्वमेयर सिंहले आत्तिएर जंगलमा हराएको भन्दै खोजीमा सहयोग गर्न आग्रह गरेपछि तत्कालै इलाका प्रहरी कार्यालय गोरूसिंगेका प्रहरी निरीक्षकलाई फोन गरेको वडाध्यक्ष खाँले बताए।
'मैले प्रहरी निरीक्षकलाई तत्काल फोन गरी किरण दाइको फोन नम्बर उपलब्ध गराएको थिएँ,' उनले भने, 'प्रहरी निरीक्षकले पनि तत्कालै फोन गर्दा किरण दाइले निकै आत्तिएको भावमा घना जङ्गलमा हराएकाले आएर सहयोग गर्न आग्रह गर्नुभएछ। त्यसपछि प्रहरी निरीक्षकले आफूहरू तत्काल आउने भएकाले नआत्तिन आग्रह गरेको मलाई बताउनुभयो।'
जिल्ला प्रहरी प्रमुख एसपी भट्टले भने पूर्वमेयर सिंहले अन्य साझेदारसँग फोनमा कुरा गरेको बताए पनि प्रहरीसँग कुरा भएको विषयबारे केही खुलाएनन्।
यसअघि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष कपिलवस्तुको मेयरका रूपमा काम गरेका सिंहको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो जंगलमा फेला परेको थियो। प्रहरीका अनुसार उनी शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट फार्ममा जान भनेर निस्किएका थिए।
प्रहरीले उनको मोटरसाइकल फेला परेको क्षेत्रमा घरबाट लगिएका पुराना कपडा सुँघाएर कुकुरको सहयोगमा खोजी थाले पनि हालसम्म उनी फेला परेका छैनन्। उनको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गदेखि अन्दाजी ८ किलोमिटर भित्र गोरूसिंगे जंगलमा रोकिराखेको अवस्थामा फेला परेको थियो।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार शनिबार पनि ८० भन्दा बढी नेपाल प्रहरी (कुकुरसहित) र स्थानीय गरी एक सयभन्दा बढी मानिस पूर्वमेयर सिंहको खोजीमा खटिएका छन्।
सिंहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सिंहका एक छोरा जापान र अर्का छोरा भारतमा रहेको खुलेको छ। सिंह कपिलवस्तुमा श्रीमतीसँग बस्दै आएका छन्।