बर्खायाममा काठमाडौंको जमल क्षेत्रमा वर्षेनी हुने डुबानको कारण पत्ता लगाउन काठमाडौं महानगरपालिकाले स्थलगत प्राविधिक अध्ययन सुरु गरेको छ।
प्रारम्भिक अध्ययनले जमलमा विभिन्न स्थानबाट ठूलो परिमाणमा पानी आए पनि त्यसको निकासका लागि पर्याप्त क्षमताको ढल प्रणाली नभएकै कारण डुबान हुने देखाएको छ।
महानगरको विपद् व्यवस्थापन विभागको नेतृत्वमा शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय, महानगरको सार्वजनिक निर्माण विभाग, महानगर प्रहरी र स्थानीय बासिन्दासहितको टोलीले जमल क्षेत्रमा स्थलगत निरीक्षण गरेको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्तिपथ क्षेत्रमा पानी निकाससँग सम्बन्धित सबै निकायबीच समन्वय गरी डुबानको प्राविधिक कारण पहिचान गर्न र समाधानसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएपछि टोली अध्ययनका लागि पुगेको थियो।
अध्ययनका क्रममा जमल क्षेत्रमा चार फरक दिशाबाट आउने पानी एउटै स्थानमा जम्मा हुने तर त्यसको निकास भने निकै सानो क्षमताको ढलबाट हुने तथ्य भेटिएको छ।
प्राविधिक विवरणअनुसार ज्याठाबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, येल्लो प्यागोडातर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका ढलमार्फत पानी जमलमा आइपुग्छ।
यसरी कुल २१५ सेन्टिमिटर व्यास बराबरको ढल प्रणालीबाट आउने पानी अन्ततः ६० सेन्टिमिटर व्यासको एउटै ढलबाट बाहिर निकाल्नुपर्ने अवस्था रहेको छ।
डिभिजन सडक कार्यालय काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार २१५ सेन्टिमिटर व्यास बराबरको ढलबाट जम्मा भएको पानी ६० सेन्टिमिटरको पाइपबाट एकैपटक निकास हुन नसक्ने भएकाले वर्षा तीव्र हुँदा डुबान भएको हो।
डुबानपछि ढल सफा नगरिएकाले समस्या भएको भन्ने गुनासो आउने गरे पनि प्राविधिकहरूले भने त्यसलाई अस्वीकार गरेका छन्। उनीहरूका अनुसार निरीक्षणका क्रममा ढलभित्र फोहोर वा अन्य कुनै अवरोध भेटिएको छैन। यदि ढल थुनिएको भए पानी लामो समयसम्म जमिरहने थियो। तर केही समयपछि पानी घट्ने भएकाले मुख्य समस्या ढलको क्षमता नै भएको उनीहरूको निष्कर्ष छ।
जमलबाट तीनधारा पाठशाला, त्रिचन्द्र क्याम्पस, कमलादी हुँदै टुकुचासम्म करिब एक किलोमिटर लामो ढल प्रणालीको पनि निरीक्षण गरिएको थियो।
जमल, त्रिचन्द्र क्याम्पस अगाडि र टुकुचामा ढलको ढकनी खोलेर हेर्दा फोहोर नभेटिए पनि अन्य क्षेत्रको ढलसमेत यही प्रणालीमा मिसाइएको देखिएको थियो।
यसले जमलको पानी निकासका लागि बनाइएको ढलको क्षमता अन्य ढलले पनि प्रयोग गरिरहेको र त्यसले पानी बाहिर जान थप ढिलाइ हुने अवस्था सिर्जना गरेको प्राविधिकहरूको भनाइ छ।
स्थानीय ७० वर्षीय पुरुषोत्तम श्रेष्ठले केही वर्षअघि सडक विभागले नयाँ ढल निर्माण गरेपछि दुई–तीन वर्षसम्म डुबानको समस्या नरहेको बताए।
तर पछि ज्याठा र निर्वाचन आयोगतर्फको ढल पनि यही प्रणालीमा जोडिएपछि समस्या पुनः दोहोरिएको उनको भनाइ छ।
श्रेष्ठका अनुसार पहिले जमलको पानी जनप्रशासन क्याम्पस, उडल्याण्ड होटल र महेन्द्र शालिक हुँदै टुकुचातर्फ छुट्टै ढलबाट निकास हुने व्यवस्था थियो।
तर त्यस क्षेत्रमा ठूला संरचना निर्माण भएपछि पुरानो ढल प्रणाली अवरुद्ध भयो र त्यसको विकल्पमा नयाँ प्रणालीको क्षमता पर्याप्त रूपमा विस्तार नगरिएकाले अहिलेको समस्या उत्पन्न भएको हो।
यसको अर्को उदाहरणका रूपमा स्थानीयले ल्हाकु वही (जमः वहाः) को प्राङ्गण देखाएका छन्। त्यहाँ लामो समयदेखि पानी जमेर सानो पोखरीजस्तै बनेको छ भने पानीमा हरियो लेउसमेत लाग्न थालेको छ। यसले पानीको निकास प्रभावकारी नभएको देखाउने स्थानीयको भनाइ छ।
स्थानीय चित्राशोभा तुलाधरका अनुसार दरबारमार्गतर्फको ढल पनि साँघुरो भएकाले ठूलो वर्षा हुँदा ढलको मुखबाट पानी उम्लिन थाल्छ र केहीबेरमै ढकनी नै माथि उठ्ने अवस्था आउने गर्छ।
काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभाग प्रमुख अनिरुद्र नेपालले माइतीघर मण्डलाको अध्ययनपछि जमल र दरबारमार्ग क्षेत्रको अवस्थाले पनि काठमाडौंमा डुबानको मुख्य कारण ढल सफाइको अभाव नभई ढल प्रणालीको वहन क्षमता नमिल्नु रहेको स्पष्ट भएको बताए।
उनका अनुसार माथिल्लो भागबाट धेरै पानी आउने तर तल्लो भागमा सानो क्षमताको ढल भएकाले पानी थामिन नसकी डुबान हुने गरेको हो।
नेपालका अनुसार माइतीघर मण्डलाको प्राविधिक अध्ययन गरेको टोलीले अब जमल क्षेत्रको पनि विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्नेछ। त्यस टोलीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयका प्राविधिकसमेत सहभागी हुनेछन्।