जब संसारका पर्वतारोहीहरूले हिउँदयाममा के–टू चढ्नु खतरनाक हो भन्ने मानिरहेका थिए, नेपाली युवा निर्मल पुर्जा 'निम्स दाइ' ले त्यो मान्यतालाई चुनौती दिए।
सन् २०२१ जनवरीमा उनले अरू ९ जना नेपाली आरोहीसँग हातेमालो गर्दै विश्वको दोस्रो अग्लो हिमाल के–टू (८६११ मिटर) को चुचुरोमा पाइला टेके।
चुचुरो पुग्नुअघि १० जना नेपाली आरोही सँगसँगै थिएनन्। अघि जानेले पछाडिका आरोहीलाई पर्खिए। सबै जना जम्मा भएर एकअर्कालाई अँगालो हाले। नेपालको राष्ट्रिय गान गाउँदै शिखरतर्फ उक्लिए। आरोहणको यो भिडिओ संसारभर भाइरल भयो।
हिउँदयाममा के–टूमाथि पाइला राख्न मानव जातिले चार दशक लामो अथक प्रयास गरेका थिए। निम्सको टोलीले त्यो प्रयासलाई पूर्णविराम लगाइदिए। विश्व पर्वतारोहणको इतिहासमा अधुरो अध्याय नेपाली आरोहीहरू मिलेर पूरा गरिदिए।
पाकिस्तानको के–टू आरोहणबाट संसारभर चर्चा कमाएका निम्स पाकिस्तानकै अर्को हिमाल ब्रोड पिक आरोहणका क्रममा गत शनिबार हिउँपहिरोमा परे। हिमालमा हराएका उनीसहित आरोहण दलका सबै सदस्यको निधन हुन पुग्यो।
२०४० साउन ९ गते जन्मिएका निम्सको निधनसँगै नेपालले विश्वविख्यात आरोही र असम्भव ठानिएका कार्यलाई चुनौती दिन सक्ने युवा गुमाएको छ।
हिउँदयाममा के–टू आरोहण गरेर नेपाल फर्किएपछि उनको टोलीलाई पोखरामा स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो। २०७७ माघ २६ गते उनको टोलीलाई पोखरा विमानस्थलबाट गाडीमा राखेर पोखरा सहर परिक्रमा गराइयो। अनि पोखरेली पर्यटन व्यवसायी र पोखरा महानगरपालिकाले सम्मान प्रदान गरेको थियो।
त्यति बेला उनले के–टू आरोहण र आफ्नै हिमालप्रति लगावबारे खुलेर कुराकानी गरेका थिए।
सन् २०२१ जनवरी १६ मा निम्सको नेतृत्वमा १० जना नेपाली आरोहीले पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,६११ मिटर अग्लो के–टू हिमाल पहिलो पटक आरोहण गरेका थिए। त्यही आरोहण नै हिउँदयाममा के–टू हिमालको चुचुरोमा टेक्ने पहिलो मानव पाइला बनेको थियो।
निम्ससँगै त्यो ऐतिहासिक आरोहणमा मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्माजी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा थिए।
उनीहरूमध्ये प्रत्येक आफ्नै क्षेत्रमा स्थापित आरोही थिए— कसैले कम उमेरमै कीर्तिमान बनाएका थिए, कसैले छोटो समयमा धेरै हिमाल चढेका थिए।
निम्स आफै त्यति बेलासम्म अर्को असम्भव कीर्तिमानका कारण संसारभर चर्चित भइसकेका थिए।

सन् २०१९ मा उनले विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिनाभित्र आरोहण गरेर पर्वतारोहणको इतिहास फेरिदिएका थिए।
के–टूको सफलताले भने उनलाई अर्को उचाइमा पुर्यायो, संसारभर लोकप्रिय बनायो। किनकि यो हिमाललाई संसारले 'किलर माउन्टेन' भन्थ्यो। सगरमाथापछिको दोस्रो अग्लो हिमाल भए पनि धेरै पर्वतारोहीका लागि के–टू सबभन्दा कठिन थियो। विशेषतः हिउँदयाममा।
झन्डै ४० वर्षदेखि विश्वका उत्कृष्ट आरोहीहरूले यो हिमाल चढ्ने प्रयास गरेका थिए। धेरै फर्किए। केही कहिल्यै फर्केनन्।
त्यसैले निम्स र उनको टोली पाकिस्तान पुग्दा उनीहरू केवल हिमाल चढ्न गएका थिएनन्। उनीहरू चार दशकदेखि असफल हुँदै आएको एउटा चुनौतीसँग जुध्न गएका थिए।
पोखरामा भएको भेटमा निम्सले त्यो जोखिम सहज रूपमा सम्झाएका थिए।
'के–टू चढ्न गएका प्रत्येक चार जना आरोहीमध्ये एक जनाको ज्यान जान्छ,' उनले भनेका थिए, 'हाम्रै टिममा रहेका तीन जना हराए, त्यसअघि दुई जनाले ज्यान गुमाइसकेका थिए।'
ती हराएका वा मृत्यु भएका आरोही नेपाली थिएनन्। तर उनीहरूको नियतिले के–टूको निर्दयी यात्रा बुझाउन पर्याप्त थियो।
आरोहण क्रममा भेटिएका केही पर्वतारोही चुचुरो नपुग्दै हराए। उनीहरू कहाँ पुगे, कसैलाई थाहा भएन। कतिपयको शव वर्षौंसम्म हिमालमै रह्यो। यही कारण संसारले के–टूलाई 'किलर माउन्टेन' भन्न थालेको थियो।
यस्तो हिमाल चढ्न पुगेको नेपाली टोली सुरूमा एउटै समूह थिएन।
निम्सको नेतृत्वमा एउटा टोली थियो। अर्कोतर्फ मिङ्माजी शेर्पाका दाजुभाइसहित तीन जना अलग अभियानमा थिए। के–टू हिमालमै उनीहरूको भेट भयो।
त्यसपछि मिलेर आरोहण गर्ने योजना बनाए।
'पहिला मिङ्माजीको टोलीसँग प्रतिस्पर्धाजस्तै थियो। त्यहाँ गएर भेटिएपछि उहाँको सोच पनि उस्तै, मेरो पनि उस्तै। व्यक्तिगत स्वार्थ केही पनि थिएन। त्यही भएर हामी मिल्यौं,' उनले भनेका थिए।
निम्सले आफ्ना लागि आएको प्रायोजन पनि सबैसँग बाँडेको बताएका थिए। उनीहरू कोही पनि अघिपछि वा पहिलो एउटाले अनि अर्को चुचुरे चुम्ने योजना बनाएनन्। के–टू सँगसँगै चढ्ने, सँगै फर्कने। र, सम्भव भए इतिहास पनि सँगसँगै लेख्ने।
नभन्दै उनीहरूले संयुक्त रूपमा के–टू आरोहण गरे। नेपालीहरू मिलेर विश्वका सारा पर्वतारोहीले नसकेको आरोहण पूरा गरिदिए।
के–टूको सफल शीतकालीन आरोहणलाई धेरैले साहसको कथा भने। तर निम्सका लागि त्यो सफलताको जग धेरैअघि नै तयार भइसकेको थियो। हिमालमा होइन कि युद्धभूमिमा।
उनी ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिस (एसबिएस) का कमान्डो थिए। गोर्खा सैनिक भर्ती हुन थालेको दुई सय वर्षभन्दा बढी इतिहासमा एसबिएसको कठोर छनोट प्रक्रिया पूरा गर्ने पहिलो गोर्खाली भएको उनी गर्वका साथ सुनाउँथे।

'ब्रिटिस आर्मीमा गोर्खा भर्ती लिन थालेको दुई सय वर्षको इतिहासमा एसबिएस कोर्स गर्ने पहिलो गोर्खाली हुँ म,' निम्सले भनेका थिए, 'त्यो कोर्स पैसाले किन्न सकिँदैन थियो। आफ्नो क्षमतामा भर पर्थ्यो। गोली खाएर पनि बाँचेको मान्छे हुँ म।'
एसबिएसमा बिताएका वर्षहरूले उनलाई एउटा कुरा सिकाएको थियो— कुनै पनि योजनाको एउटा मात्र तयारी हुँदैन।
'स्पेसल फोर्समा प्रत्येक प्लानको ब्याकअप प्लान हुन्छ। ब्याकअप प्लानको पनि ब्याकअप हुन्छ,' उनले सुनाए, 'हामीले के–टू आरोहणमा पनि त्यही लागू गर्यौं।'
सैनिक जीवनका धेरै अनुभव उनले सार्वजनिक गर्न चाहेनन्। उनका नातेदार चौबहादुर गुरूङका अनुसार ब्रिटिस आर्मीका केही महत्वपूर्ण मिसनमा उनी सहभागी भएका थिए, जसका विवरण गोप्य राखिन्थे।
निम्सले केही झलक भने सुनाएका थिए, 'स्पेसल फोर्समा रहँदा कसैलाई सलाम गर्नुपर्दैन थियो। सबैलाई नामैले बोलाइन्थ्यो। लामो कपाल पाल्न पाइन्थ्यो। कहिलेकाहीँ महिनौंसम्म एक्लै गोप्य मिसनमा जानुपर्थ्यो।'
त्यही अनुशासन, त्यही मानसिक तयारी र त्यही जोखिम व्यवस्थापन उनले पछि हिमालमा पनि उतारे।
आर्मीमै रहँदा उनले केही हिमाल आरोहण गरिसकेका थिए। तर सैनिक सेवाभित्र भएका ती उपलब्धि धेरै सार्वजनिक भएनन्। बरू हिमालप्रतिको मोह बढ्दै गयो।
पेन्सन आउन ६ महिना बाँकी थियो। उनले ६ महिना पनि धैर्य राखेनन्। ब्रिटिस आर्मीको जागिर छाडिदिए अनि बनाए हिमाल आरोहणको योजना।
ब्रिटिस आर्मीको जागिर छाडेर सन् २०१९ मा उनले संसारका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल अभूतपूर्व समयमा आरोहण गर्ने योजना सार्वजनिक गरे। त्यति बेला संसारभरका धेरै मानिसले त्यसलाई असम्भव भने।
'संसारभर मलाई बहुला भन्थे। स्पोन्सर पनि कसैले दिन्थेन,' के–टूबाट फर्केर उनले भनेका थिए, 'मैले घरलगायत सम्पत्ति बेचेर हिमाल चढ्ने प्रोजेक्ट बनाएको थिएँ।'
त्यही परियोजनाको नाम थियो— प्रोजेक्ट पसिबल।
विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठ वटा नेपालमै थिए। संसारले नेपाललाई 'हिमालको देश' भनेर चिन्थ्यो। तर धेरै ऐतिहासिक कीर्तिमान विदेशी पर्वतारोहीका नाममा थिए।
त्यो कुरा उनलाई सधैं खट्किन्थ्यो।
'घरमा जति गफ दिए पनि बाहिरका साथीहरू, विदेशीले नचिनेपछि के गर्ने! आफ्नो घरमा त जो पनि हिरो हुन्छ,' उनले भनेका थिए, 'तर मलाई केही गर्नु थियो।'
त्यो 'केही' नै पछि विश्व पर्वतारोहणको इतिहास बन्यो। सन् २०१९ मा उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल ६ महिनामा आरोहण गरेर पुरानो विश्व कीर्तिमानलाई पछाडि पारे।
उनी त्यसैमा रोकिएनन्।
के–टूको शीतकालीन आरोहण सुरू गर्दा पनि व्यक्तिगत कीर्तिमानभन्दा टोलीलाई प्राथमिकता दिए।
'यो आरोहणमा मैले पहिला खर्च गरेको, म पहिला चढ्छु, म फर्स्ट हुन्छु भन्न पनि सक्थेँ। कति स्वार्थी हुने, कति,' उनले भनेका थिए, 'ल दाजुभाइ हो, सबैले बराबर दुःख गरेका छौं। सबैले एउटै भारी बोकेका छौं। सबैको जोखिम एउटै हो। मेरो परिवार छ भने मेरो दाजुभाइको पनि परिवार छ। काम सबैले गर्ने, नाम एक जनाले मात्र किन लाने भनेर हामीले एकसाथ चुचुरो चुम्यौं।'
त्यो क्षण नेतृत्वको दुर्लभ उदाहरण पनि थियो। नेपालीहरू प्रतिस्पर्धीका रूपमा होइन, सहयात्रीका रूपमा विश्वले चिनोस् भन्ने उनको चाहना थियो।
मान्छेको सफलता मेहनतमा भर पर्ने उनको विश्वास थियो। धन सम्पत्ति वा सत्ता र शक्तिभन्दा मेहनत बढी आवश्यक पर्ने उनी बताउँथे।
प्रमाणका रूपमा उनी आफैलाई प्रस्तुत गर्दै भन्थे, 'म पनि गाउँमा खाली खुट्टा नै हुर्किएको हुँ।'

उनले आफूलाई जन्मजात असाधारण मान्न चाहेनन्। बरू असाधारण मेहनतले साधारण मानिसलाई पनि असाधारण बनाउन सक्छ भन्ने विश्वासमा जीवन बिताए।
उनलाई प्रेरणाका रूपमा लिने युवाहरूले 'निम्स सक्सेसफुल' भनेको उनले सुनेका रहेछन्। आफू झुक्किएर सफल नभएको उनी बताउँथे।
'मेरो सफलता झुक्किएर भएको होइन। यसको पछाडि कति मेहनत पर्छ, कति आँसु बगेको छ, कति रगत बगेको छ, कति दुःख छ, त्यो मलाई थाहा छ,' उनले भनेका थिए।
हिमाल खुलेका दिन पोखरामा भव्य स्वागत सत्कार पाएपछि कुराकानीका दौरान निम्स बारम्बार के–टू आरोहणका दुःखजिलो क्षण सम्झिन्थे।
के–टू आरोहणका बेला तापक्रम माइनस ६५ डिग्री सेल्सियसमा झरेको थियो। त्यो चिसोमा पाँच मिनेट शरीरको कुनै भाग खुला रह्यो भने मांसपेशी जम्न सक्थ्यो। निम्सका आफ्नै खुट्टामा चिसोले असर गरेको थियो। उनका केही साथीका गाला डढेका थिएर कसैका औंला र शरीरका अन्य अंगमा शीतदंश लागेको थियो।
ती बाहिर देखिने घाउभन्दा ठूलो पीडा त हिमालमा अक्सिजनको अभाव, तीव्र गतिमा चल्ने हावा र एक–एक पाइला चाल्दा गर्नुपर्ने संघर्ष ठूलो थियो।
'एक पाइला टेक्दा स्याँस्याँ र फ्याँफ्याँ हुन्छ। आफ्नोभन्दा धेरै तौलका भारी बोकेर किन आएको, धत् गधा भन्ने कुरा पनि मनमा आइरह्यो,' उनले भनेका थिए, 'जब आफ्नो लक्ष्य र उद्देश्य व्यक्तिगत स्वार्थभन्दा ठूलो हुन्छ, तब यस्ता काम गर्न सकिन्छ।'
के–टू अभियानका लागि बेलायतमा डोनेसन उठाउँदा धेरै नेपालीले सहयोग गरेका थिए। तर आलोचना पनि कम थिएन।
कतिपयले उनले आफ्नै नामका लागि काम गरिरहेको आरोप लगाए। निम्स त्यस्ता आलोचनाबाट विचलित भएनन्। किनभने उनले जीवनमा मृत्यु धेरै नजिकबाट देखिसकेका थिए।
ब्रिटिस आर्मीमा रहँदा गोली लागेर बाँचेका थिए। नेपालमै एउटा हिमाल आरोहणका क्रममा करिब एक सय मिटर तल खसेर पनि बाँचेका थिए। हिमालमा बारम्बार मृत्युको मुखबाट फर्किएका उनी जीवनलाई फरक ढंगले हेर्थे।
के–टूको सफलतापछि संसारभरबाट उनलाई हजारौं सन्देश आउन थाले। कसैले उनको साहसको प्रशंसा गर्थ्यो। कसैले आफ्नो संघर्ष सुनाउँथ्यो। कतिपय युवाले भने उनको कथा पढेपछि जीवनलाई हेर्ने नजरिया बदलेको बताएका थिए।
'मेरो कथा अहिलेका युवा पुस्तालाई प्रेरणाको स्रोत बनेको छ। कति मान्छेले त मेरो यस्तो समस्याले साह्रै निराश थिएँ, तपाईंको कथा पढेपछि मलाई त केही दुःख रहेनछ भनेर म्यासेज गर्छन्,' उनले भनेका थिए।
यस्ता सन्देशले उनलाई कुनै पनि विश्व कीर्तिमानभन्दा बढी सन्तुष्टि दिन्थ्यो। आफ्नो यात्राले अर्को मानिसलाई उठ्न प्रेरित गरेको थाहा पाउँदा बल्ल उनले हिमाल आरोहणको सफलताको स्वाद पाउँथे।
के–टूको सफलताबाट उनी विश्वलाई एउटा सन्देश दिन चाहन्थे — एकता, साझेदारी र विश्वासको।
हिमाल चढ्दै जाँदा उनले अर्को ठूलो चिन्ता पनि देखेका थिए— जलवायु परिवर्तन। उनका लागि कोरोना महामारीभन्दा पनि दीर्घकालीन संकट यही थियो।
'प्रकृतिसँग कसैले पनि सक्दैन। डाइनासोर जलवायु अनुकूल हुन नसकेर खतम भयो। हाम्रो मानवीय गतिविधिमा जलवायु परिवर्तनलाई फोकस गरेनौं भने हामी पनि जान्छौं। त्यति बेला हामी कहाँ हुन्छौं,' उनी चिन्ता पोख्थे।
पहिलो पटक हिमाल चढ्दा नै उनको हिमालप्रति लत बसिसकेको थियो। उनले प्रकृतिसँग प्रतिस्पर्धा गरेनन्, प्रकृतिलाई गुरू मानेर अघि बढे। प्रार्थना गरे। प्रकृति निकै इमानदार रहेको अनुभूति भएको उनले बताएका थिए।
'मलाई पहिलो पटक हिमाल चढ्दा के लाग्यो भने यो एकदम इमानदार छ। प्रकृतिले मलाई यो भनिरहेको छ। मलाई यो अनुभूति एकदम मनपर्यो,' उनले भनेका थिए।
विश्वको सातौं अग्लो धौलागिरि (८१६७ मिटर) र दसौं अग्लो अन्नपूर्ण (८०९१ मिटर) हिमालको बीचमा पर्ने म्याग्दीको दानामा जन्मिएका निम्स संसारकै गहिरो गल्छीमध्ये एक मानिने कालीगण्डकीको छेउमा हुर्किएका थिए।
उनका बुबा भारतीय सेनाबाट अवकाश प्राप्त सैनिक थिए। हाइस्कुल पढ्न उनी चितवन झरे।
चार दाजुभाइमध्ये जेठा र साइँला दाजु ब्रिटिस आर्मीमा थिए। माइला दाजु अवकाशप्राप्त शिक्षक हुन्। एउटी बहिनी अस्ट्रेलियामा नर्स छिन्। आमाको निधन भइसक्यो।
गाउँको अभावबाट सुरू भएको यात्रा संसारका सबभन्दा अग्ला सबै हिमालसम्म पुग्दा पनि उनले कहिल्यै आफ्नो विगत बिर्सेनन्।
त्यस दिन पोखरामा उनले भनेका थिए, 'म आज भगवानलाई भन्छु। जन्म हाम्रो भइहाल्यो, मृत्यु पनि निश्चित छ। मरिन्छ एक दिन। जतिसुकै कमाए पनि, जति पैसा भए पनि मरेर त लगिँदैन। तथ्य हो यो। हामीले यो तथ्य बिर्सिन्छौं कहिलेकाहीँ।'
निर्मल पुर्जाको सबैभन्दा ठूलो उपलब्धि हिमाल चढ्नु मात्र रहेन, उनले पर्वतारोहणको भाष्य परिवर्तन गरे।
दशकौंसम्म विश्व पर्वतारोहणका अधिकांश चर्चित आरोहणहरू विदेशी आरोहीहरूको नाममा गए। हिमालै हिमालको देश नेपालका आरोही भने भरिया, गाइड वा सहयोगी पात्रका रूपमा मात्र देखिन्थे। भरिया, गाइड वा सहयोगी पनि हिमालका चुचुरोसम्म त पुग्थे, तर इतिहासमा उनीहरूका नाम पछाडि पर्थ्यो।
निम्सले यो कथा उल्टाइदिए। पुराना सबै रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड बनाए। नेपालीका नाममा नयाँ कथा लेखाए।
विश्वलाई सन्देश दिए— नेपालीहरू केवल बाटो देखाउने मानिस होइनन्, इतिहास बनाउने मानिस पनि हुन्।
'सोफामा बसिरहेको भए एकदिन ठ्याक्क मरिन्थ्यो। जीवनको मूल्य नै थाहा हुँदैनथ्यो,' उनले भनेका थिए, 'जब झन्डै मरेको भन्ने थाहा हुन्छ नि, तब बुझिन्छ जीवनको महत्व।'