सिन्धुलीस्थित सुनकोशी नदीमा बेपत्ता हुनेमध्ये एक जना एमाले नेता रहेको खुलेको छ।
फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार एउटा कार सुनकोशी नदीमा खसेको हो।
बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार खसेको हो।
उक्त कारमा सवारमध्ये नेकपा एमालेका ११ औं महाधिवेशन प्रतिनिधि दिलकुमार लामा हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा उनी जुगल गाउँपालिका-७ मा वडाध्यक्ष बनेका थिए।
‘हाम्रो पूर्ववडाध्यक्ष लामा भाइ बेपत्ता हुनुभएको छ भनेर अघि इन्स्पेक्टरले फोन गर्नुभएको थियो,’ जुगल-७ का वडाध्यक्ष रवि तामाङले भने।
उनका अनुसार पछिल्लो समय लामा निर्माण व्यवसायमा कार्यरत थिए।
उनीसँगै सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत बेपत्ता भएका छन्।
कार दुर्घटनाको खबर पाएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोर सहितको टोली परिचालन भएको छ।
बेपत्ता कारको खोजी कार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरूङको कमाण्डमा गोताखोर सहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ।
बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।