सुनसरीको कप्तानगन्जबाट सुरू भएर मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव नियन्त्रण बाहिर जान थालेपछि गत बिहीबार मधेस झरेका गृहमन्त्री सुधन गुरूङ आइतबार राति काठमाडौं फर्किएका छन्।
सुनसरी, सिरहा, धनुषा लगायतका प्रभावित क्षेत्रको सुरक्षा स्थिति क्रमशः सामान्य बन्दै गएपछि र ती क्षेत्रमा लगाइएका कर्फ्यू तथा निषेधाज्ञा हटेपछि उनी राजधानी फर्किएका हुन्।
चार दिनको मधेस बसाइ क्रममा गृहमन्त्री गुरूङले एकातिर अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गरे भने अर्कातिर मृतकका शोकाकुल परिवारहरूसँग रातभरि आफै बसेर सहमति गराउने काम गरे। यति मात्र होइन, तनाव साम्य पार्न उनले विभिन्न धार्मिक समुदायका नागरिक, स्थानीय अगुवा र आन्दोलित पक्षसँग प्रत्यक्ष संवाद पनि गरे।
यो तनावको सुरूआत साउन १० गते साँझ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई धार्मिक समूहबीचको झडपबाट भएको थियो।
स्थिति भड्किएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भयो भने अन्य ९ जना घाइते भए।
कप्तानगन्जको उक्त घटनाले सल्काएको साम्प्रदायिक आगो सुनसरीका विभिन्न भाग हुँदै छिमेकी जिल्ला सिरहा र धनुषासम्म फैलियो। मोरङ र पर्सासहित मधेसका अन्य जिल्ला समेत उच्च सतर्कता अपनाउनुपर्ने संवेदनशील मोडमा पुगे।
सुरूआती चरणमा तनाव नियन्त्रण गर्न सरकार गम्भीर नदेखिएको र 'बल प्रयोग' बाटै स्थिति दबाउन खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो।
सरकारको शैली 'गैरजिम्मेवारपूर्ण' भएको भन्दै जनआक्रोश बढेपछि प्रधानमन्त्री बालेन शाहको देशवासीका नाममा सम्बोधन र काठमाडौंबाट गृहमन्त्री गृहमन्त्री गुरूङको मधेस दौडधुप एकैपटक सुरू भएको हो।
काठमाडौंमा विकसित राजनीतिक दबाबबीच साउन ११ गते सोमबार गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। त्यसै साँझ ५ बजे डाकिएको केन्द्रीय सुरक्षा समिति बैठकमा सुरक्षा निकायका उच्च अधिकारीहरूले 'मधेसलाई शान्त पार्न बल प्रयोग मात्र पर्याप्त नहुने' सुझाव दिएका थिए।
'राजनीतिक सहकार्य र धार्मिक अगुवाहरूसँग छलफलको बाटो अपनाउनुपर्छ भन्ने हाम्रो राय थियो,' बैठकमा सहभागी एक अधिकारीले भने, 'बल प्रयोग कहिलेसम्म गर्ने? बल प्रयोगबाट पनि स्थिति साम्य नभए के गर्ने? यसको समाधान भनेकै राजनीतिक दल र धार्मिक संघ-संस्थाहरूसँग छलफल गर्ने हो भन्ने विषयमा बैठकमा कुरा उठेको थियो।'
त्यस दिन सुरक्षा अवस्था कसरी सामान्य बनाउने भनेर राति अबेरसम्म गृह मन्त्रालयमा छलफल चलेको सम्बद्ध अधिकारीहरू बताउँछन्।
सरकारको ढिलासुस्तीबीच बुधबार बिहान सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरे। त्यतिञ्जेल न प्रधानमन्त्री बालेन शाहले कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिए, न गृहमन्त्री गुरूङले केही बोलेका थिए।
प्रधानमन्त्रीले डाक्नुपर्ने सर्वदलीय बैठक सत्तारूढ दलका सभापतिले बोलाउँदा र उक्त बैठकमा समेत प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नहुँदा अन्य दलका प्रतिनिधिहरूले त्यसको आलोचना मात्र गरेनन्, 'अशान्ति मच्चिरहेका बेला प्रधानमन्त्री र गृहमन्त्री खोई?' भन्दै प्रश्न नै उठाए।
धार्मिक द्वन्द्व फैलिने त्रास तीव्र बनिरहेका बेला गृहमन्त्री गुरूङले मंगलबार आफ्ना स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस क्षेत्रीलाई सुनसरी पठाएका थिए। उनीहरूसँगै प्रहरी तथा सशस्त्र प्रहरीको ड्रोन टोली र पूर्वमन्त्री एवं सांसद दीपककुमार साह पनि संलग्न थिए।
तर गृहमन्त्री आफै जानुपर्ने संवेदनशील घडीमा स्वकीय सचिवहरूलाई खटाइएपछि सरकारको थप आलोचना भयो।
हामीले यसबारे पूर्वाधार मन्त्रीका स्वकीय सचिव पारस क्षेत्रीसँग कुरा गर्दा उनले भने, 'मन्त्रीज्यूले म आफै आउनुपर्छ कि भन्नुभएको थियो। तर हामीले पहिला त्यहाँको अवस्था बुझ्छौं अनि भन्छौं भनेका थियौं।'
'हामी अबेर राति विराटनगर हुँदै सुनसरी पुग्यौं र माननीय दीपककुमार साहजीकै घरमा बस्यौं,' उनले भने।
उनका अनुसार बुधबार सुनसरीमा स्वकीय सचिवहरू, सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरू र देवानगन्ज गाउँपालिकाका अध्यक्षसहित स्थानीय अगुवाहरूको बैठक बस्यो। उक्त बैठकमा उपस्थित स्थानीय अगुवाहरूले पनि स्वकीय सचिवहरू होइन, स्वयं गृहमन्त्री गुरूङको भौतिक उपस्थितिको माग गरे।
'प्रदर्शन दिनप्रतिदिन चर्किँदै गएको र हामी बसेको बैठकमा समेत अब स्थिति नियन्त्रणमा लिन गृहमन्त्री आफै आउनुपर्छ भन्ने कुरा उठेपछि हामीले गृहमन्त्रीज्यूलाई रिपोर्ट गर्यौं,' क्षेत्रीले भने, 'परिस्थिति बिग्रनुअघि नै गृहमन्त्रीज्यू आफै आउन राम्रो हुन्छ भनेर हामीले भन्यौं।'
त्यसैबीच कप्तानगन्जको झडपमा घाइते भई अस्पतालमा उपचाररत जयप्रकाश मेहताको बिहीबार मृत्यु भयो।
उनको मृत्युको खबर सार्वजनिक भएपछि स्थिति झन् अशान्त बन्यो।
त्यसै क्रममा सार्वजनिक तथा निजी सम्पत्तिहरूमा आगजनी र तोडफोड सुरू भयो। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर स्थानीय युवा गणेश यादवको मृत्यु भएपछि त स्थिति झन् नियन्त्रण बाहिर जाला कि भन्ने खतरा पैदा भयो।
घटनाक्रम यसरी द्रुत गतिमा बिग्रिँदै गएपछि प्रधानमन्त्री शाहले बिहीबार अपराह्न गृहमन्त्री गुरूङलाई सिंहदरबार बोलाए।
उक्त बैठकमा स्वास्थ्यमन्त्री निशा मेहता, सांसदहरू बब्लु गुप्ता, खगेन्द्र कर्ण लगायत पनि थिए। त्यहाँ प्रधानमन्त्रीले गृहमन्त्री गुरूङलाई 'तपाईं अब आफै मधेस जानुस्' भनेपछि उनी र स्वास्थ्यमन्त्री मेहता त्यसै दिनको अन्तिम उडानबाट विराटनगर ओर्लिएको क्षेत्री बताउँछन्।
उनका अनुसार गृहमन्त्री विमास्थलबाट सोझै विराटनगरका विभिन्न अस्पताल पुगे, जहाँ सुनसरी घटनाका घाइतेहरू उपचाररत थिए।
त्यो रात अबेरसम्म घाइतेहरूसँग कुराकानी गरेपछि उनी राति नै सुनसरीको कप्तानगन्जस्थित मृतकहरूको घरतर्फ लागे।
कप्तानगन्जस्थित जयप्रकाश मेहताको घर पुग्दा रातको १ बजेको थियो।
गृहमन्त्रीको टोलीले सहमतिको खाका पहिले नै तयार पारिसकेको थियो, जसलाई लिएर गृहमन्त्री गुरूङले मृतकका परिवारसँग प्रत्यक्ष संवाद थाले।
'त्यहाँ स्थानीय जनप्रतिनिधि र नेताहरूको समेत उपस्थिति थियो। वातावरण तनावपूर्ण नै थियो,' क्षेत्रीले भने, 'गृहमन्त्रीज्यूले मृतकहरूको शालिक बनाइदिने र परिवारका एक सदस्यलाई रोजगारी दिने प्रस्ताव अघि सारेपछि अन्ततः सहमति जुट्यो र सिडिओले सहमतिको ड्राफ्ट तयार पार्नुभयो।'
पीडित परिवारसँग लगभग तीन घन्टा भएको वार्ता अवधिभर गृहमन्त्री गुरूङ पनि उपस्थित थिए। पीडित परिवारका सदस्यसँग संवाद गर्ने र सहमतिका लागि मनाउने काम गुरूङले नै गरेको क्षेत्री सम्झन्छन्।
कतिपय अवस्थामा दोहोरो वार्ता सहज बनाउन गृहमन्त्री टोलीसँगै गएका रास्वपाका स्थानीय सांसदहरूले भाषा उल्था गरेर सहयोग गरेका थिए।
यसरी बिहीबार राति १ बजेबाट सुरू भएको वार्ता पौने ४ बजेतिर सहमतिमा पुगेको क्षेत्रीले जानकारी दिए।
'शुक्रबार बिहान ३:४५ बजे जयप्रकाशको परिवारसँग औपचारिक सम्झौता भएको थियो,' उनले भने।
त्यसलगत्तै गृहमन्त्री गुरूङ कप्तानगन्जमा नजिकै रहेको अर्का मृतक ओमप्रकाश मेहताको घर पुगे।
क्षेत्रीका अनुसार त्यहाँ पुग्दा कागजी सम्झौता सरकारले पूरा गर्ला कि नगर्ला भन्नेमा मृतक परिवार सशंकित देखिन्थे। गृहमन्त्रीले उनीहरूलाई आश्वस्त पार्दै भने, 'म गृहमन्त्री हुँ। समस्या समाधान गर्न आफै आएको छु। तपाईंहरू मेरा मतदाता हो, म अहिले तपाईंहरूको अभिभावक हुँ।'
गृहमन्त्रीको यस्तो भनाइपछि शुक्रबार बिहान सवा ५ बजे ओमप्रकाश मेहताको परिवारसँग पनि सहमति भयो। यो सहमति हुँदा स्वास्थ्यमन्त्री मेहता पनि आफ्नो सानो बच्चा काखमा लिएर उपस्थित भएकी थिइन्।
दुवै सम्झौतामा मृतकहरूको अन्तिम संस्कार शुक्रबार दिउँसो २ बजे गर्ने बुँदा उल्लेख गरिएको थियो।
कप्तानगन्जका दुवै पीडित परिवारसँग सहमति गरेपछि गृहमन्त्री गुरूङ त्यहाँबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगे। उनले त्यहाँ डेढ-दुई घन्टा आराम गरेको क्षेत्री सम्झन्छन्।
त्यसपछि उनी मधेसको अर्को प्रभावित जिल्ला सिरहातर्फ लागे।
विराटनगरबाट सिरहा जाँदा दिउँसो करिब १ बजेको थियो। त्यहाँ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँग भएको बैठकमा प्रदर्शन जारी नै रहेकाले गृहमन्त्रीलाई मृतक गणेश यादवको घर जान जोखिम हुन सक्ने बताइएको थियो।
'तर गृहमन्त्रीज्यूले 'म जान्छु, मैले जानुपर्छ' भन्दै अडान लिनुभयो,' क्षेत्रीले भने।
उनका अनुसार सुरक्षा निकायको चेतावनीका बाबजुद गृहमन्त्रीको टोली गोलबजारस्थित गणेश यादवको घर पुग्यो।
यादवको शव धरानस्थित अस्पतालमा राखिएको थियो। उनको परिवारले सहमतिका लागि दुई अतिरिक्त सर्त राखे — वृद्ध आमाबुबाको निःशुल्क उपचार र गणेशले बनाइदिने बाचा गरेको सानो टहरा (घर) को निर्माण।
यो वार्ता राति अबेरसम्म चल्यो।
वार्तामा बसेका सांसदहरू बब्लु गुप्ता, पुरूषोत्तम यादव र शिवशंकर यादवले घर निर्माणमा सहयोग गर्ने ग्यारेन्टी लिएपछि राति पौने २ बजे सहमति जुट्यो। यहाँ पनि गणेश यादवको परिवारलाई मनाउन गुरूङ आफै अघि सरेका थिए। दोहोरो वार्ता सहज बनाउन बब्लु, पुरूषोत्तम, शिवशंकर लगायतले भाषा उल्था गरेर सहयोग गरेका थिए।
सहमतिसँगै अन्त्येष्टिका लागि गणेश यादवको शव धरानबाट हेलिकप्टरमा ल्याउन गृहमन्त्री गुरूङले नै पहल गरेको क्षेत्रीले जानकारी दिए।
'घरमा अन्तिम संस्कार नगर्दासम्म चुह्लो नबाल्ने धार्मिक परम्परा रहेछ। धरानबाट सडक मार्ग हुँदै शव ल्याउन घन्टौं लाग्ने भएपछि गृहमन्त्रीज्यूले तत्काल पहल गरेर हेलिकप्टरमा गणेशको शव गोलबजार ल्याउने व्यवस्था मिलाइदिनुभयो,' उनले भने।
यसरी तीनवटै पीडित परिवारसँग सहमति जुटेपछि गृहमन्त्री गुरूङले 'स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म काठमाडौं फर्कन्न' भन्ने घोषणा गर्दै सरोकारवालाहरूसँग छलफल तीव्र बनाए।
शनिबार दिनभरि उनले आन्दोलित 'हिन्दु सम्राट' समूहका प्रतिनिधिहरूलाई भेटे। त्यस क्रममा उनीहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका माग राखेका थिए।
क्षेत्रीका अनुसार गृहमन्त्री गुरूङले यस्ता मागमा अध्ययन गर्ने आश्वासन दिएका छन्।
आफ्नो मधेस बसाइको अन्तिम दिन आइतबार गृहमन्त्री गुरूङले जनकपुरधाम पुगेर जानकी मन्दिरको दर्शन गरे। सँगसँगै, स्थानीय मस्जिदमा गएर चादर चढाउनुका साथै मुस्लिम समुदायका अगुवाहरूसँग संवाद पनि गरे।
गृहमन्त्री गुरूङको प्रत्यक्ष संलग्नतामा लगातार भएका सम्झौता र संवादसँगै सुनसरी, सिरहा, धनुषा र पर्सामा लगाइएका कर्फ्यू तथा निषेधाज्ञाका आदेश हटाउन थालिएको थियो।
गृहमन्त्री आइतबार राति काठमाडौं फर्किँदासम्म यी जिल्ला सामान्य अवस्थामा फर्किँदै छन्।
***