नुवाकोटको विदुर नगरपालिका-१० का ४२ वर्षीय रमेश तामाङले नेपाली सेनामा १२ वर्ष सेवा गरेका थिए। पल्टनको कठोर अनुशासन र पसिनाबाट आर्जित कमाइलाई उनले नुवाकोटको भैंसे बजारमा होटल व्यवसायमा लगानी गरे।
केही वर्षदेखि व्यवसाय गरेर आफ्नो परिवारको भविष्य कोरिरहेका थिए। तर, बुधबारको एकै रातको भीषण बाढीले उनको जीवनभरको कमाइ मात्र खोसेन, सिंगो बस्तीलाई नै खण्डहर बनाइदियो।
'नेपाली सेनामा १२ वर्ष जागिर खाएँ, त्यसपछि व्यवसाय गरेको थिएँ,' रमेशले भने, 'अहिले मसँग शरीरमा भएको यो एक सरो लुगाबाहेक केही बाँकी छैन। न जग्गाजमिन रह्यो, न लत्ताकपडा, न खाने कुरा। सबै त्रिशूलीले बगाएर लग्यो।'
उनका अनुसार बुधबार बिहान माथिल्लो भेगबाट पहिरो खस्न थालेपछि उनका भाइले तुरुन्तै खबर गरेका थिए। भाइको फोन आउनासाथ रमेशले ढिला नगरी आफ्नो र भाइको परिवारका सदस्यहरूलाई सुरक्षित ठाउँतिर भागेका थिए।
'माथिबाट भाइले खबर दियो र दौडेर मेरो र भाइको परिवार बचाउन सकेँ,' उनी सम्झिन्छन्, 'भैंसे बजारका १०-१५ जना त भाग्नै पाएनन्। हाम्रै आँखाअगाडि लेदो र बाढीले सोहोरेर लग्यो।'
रमेशका अनुसार क्षति यति धेरै हुनुमा विदुर–१० स्थित सडक किनारमा पार्किङ गरी राखिएका केरुङ आउजाउ गर्ने ठूला कन्टेनर (डिब्बा) हरू मुख्य कारक बने। बाढी र पहिरो आउँदा मानिसहरू भाग्न खोजेका थिए, तर सडकभरि अस्तव्यस्त पारिएका ती डिब्बाहरूले भागिसक्ने बाटो नै थुनिदिएको उनी बताउँछन्।
'केरुङ छिर्ने ठूला डिब्बाहरू हाम्रै वडामा सडकभरि पार्किङ गरेर राखिएको थियो। मान्छेहरू ज्यान जोगाउन भाग्न खोज्दा तिनै डिब्बाले बाटो छेक्यो। मान्छेहरू तिनै डिब्बासँगै बगेर गएको उनी बताउँछन्,' उनले भने।
बेत्रावती र भैँसे बजारको अवस्था अहिले कहालीलाग्दो छ।
ऐतिहासिक बेत्रावती बजारको ९० प्रतिशत भूभाग सखाप भएको छ। एकाघरका एक जना बाहेक सिङ्गो परिवार नै बाढीमा विलीन भएको छ।
कोही भागिसकेर बाँचे, भाग्न नसक्ने कोही बाँचेका छैनन्। कुनै घरको आमा छैन, कसैको बुढी छैन, कसैको बाउ छैनन्। उत्तरगया र चण्डेश्वरी स्कुलका बसहरूसमेत बाढीले बगाएको छ। खाल्टे क्षेत्रमा एउटा बस विद्यार्थीसहित बगेको उनले सुनेका छन्।
बालबच्चाहरू नदीपारिको विद्यालयमा फसेको उनी बताउँछन्।
'बच्चाहरू पारि स्कुलमा छन्। हेलिकप्टरले ल्याउन मान्दैनन्,' उनले भने, 'अघि भर्खर नानीहरूसँग श्रीमतीको कुरा भयो।'
उनले थपे- नानीहरू हामीलाई त हेलिकप्टरले पनि ल्याइदिँदैन ममी, छिटो बाबालाई भनिदिनु भनेर भन्दैथिए। उता बच्चाहरू रुन्छन्, यता हामी केही गर्न नसकेर छटपटाइरहेका छौँ।
बजारको घरखेत गुमेपछि रमेशको परिवार माथिल्लो गाउँको एउटा डाँडामा पुगेर आश्रय लिइरहेको छ। तर, त्यहाँ पनि उनीहरू सुरक्षित छैनन्।
गाउँको १०-१५ मिटर नजिकैबाट ठूला-ठूला पहिराहरू खसिरहेको उनी बताउँछन्। विस्थापितहरू प्लास्टिक ओढेर चौरमा बस्न बाध्य भएका उनी बताउँछन्।
'पहाडमा त उक्लियौं। यहाँ पनि बेलुका सुत्न पाइँदैन। भीर र पहिरोको डर छ। १०-१५ मिटरमै पहिरो छ, मान्छेहरू प्लास्टिक ओढाएर बसिरहेका छन्। यो गाउँ नै पहिरोले तानेर लैजाला भन्ने त्रास छ,' उनले भने।
आकाशमा हेलिकप्टरहरू ओहोरदोहोर गरे पनि विपद्मा परेकाहरूलाई उद्धार र राहत दिन नसकेको उनी बताउँछन्।
स्कुल, वडा कार्यालयतिर धेरै विस्थापित बसिरहेका छन्। तर सरकारी निकायले अहिलेसम्म ध्यान दिएको छैन। आफूहरूलाई के आपत पर्यो, कति मान्छे हराए भनेर सोध्न र विवरण लिन समेत कोही नआएको उनी बताउँछन्।
'बजारबाट भागेर माथि पहाडको गाउँमा उक्लिएका छौं। त्यहीको सोचेर होकि कोही आएनन्,' उनले भने, 'तपाईहरू आउनुभयो। हाम्रोकुरा सुनाइदिनुपर्यो।'
एक सरो लुगामा टोलाइरहेका रमेशजस्ता थुप्रै विस्थापितहरू अहिले नुवाकोटका डाँडाकाँडामा त्रिपालमुनि छन्।
हेर्नुस् बेत्रावती र ढुंगे बजार आसपासका क्षेत्र—
-1787828086.jpeg)
-1787828086.jpeg)
-1787828086.jpeg)
-1787828086.jpeg)
-1787828086.jpeg)
-1787828085.jpeg)
-1787828085.jpeg)
-1787828085.jpeg)
-1787828085.jpeg)