नुवाकोटको विदुर नगरपालिका-१ का स्थानीय रमेश बस्नेतको त्रिशूली नदी वारि र पारि दुवै ठाउँमा घर थियो। एउटा घर नदीवारि ढुंगे बजारमा थियो भने एउटा पारि त्रिशूली बजारमै थियो।
निर्माण व्यवसायमा संलग्न उनी केही दिनदेखि त्रिशूली बजारको घरमा बसिरहेका थिए।
बुधबार बिहान आएको बाढीले नदी किनारको बजार क्षेत्र पूरै सखाप पार्दा रमेशका दुवै घरमा क्षति पुगेका छन्। त्रिशूली बजार जोड्ने दुइटै पुल भत्काएकाले उनी पारि नै थुनिएका छन्।
हामीले बाढीपछि त्रिशूली बजारको अवस्थाबारे उनीसँग कुराकानी गरेका छौं।
बस्नेतका अनुसार बुधबार बिहान साढे ८ बजेतिर जिल्ला प्रशासन कार्यालयले बाढी आउने पूर्वसूचनासहित माइकिङ सुरू गरेको थियो। समयमै उक्त माइकिङ गरिएकाले जुन अनुपातमा भौतिक क्षति भएको छ, त्यसको अनुपातमा मानवीय क्षति कम भएको उनको भनाइ छ।
तर कतिपयले माइकिङ नपत्याएर अलमल गर्दा केही मानवीय क्षति भएको उनले बताए।
'जल सतहले जोखिमको मापदण्ड नाघ्नेबित्तिकै यहाँ पूर्वसूचना दिएर माइकिङ गरिन्छ। पहिले पनि बेला बेला यस्तै माइकिङ गरिन्थ्यो। तर माइकिङपछि आउने बाढी खासै ठूलो हुन्थेन। यसपालि पनि पहिलेजस्तै होला भनेर कतिपयले माइकिङ पत्याएनन् र अलमल गर्दै बसे,' बस्नेतले सेतोपाटीसँग भने, 'त्यसरी माइकिङ गर्दागर्दै अलमल गर्दा केही मानवीय क्षति भएको देखिन्छ। तर त्यसको यकिन संख्या अहिलेसम्म सार्वजनिक भएको छैन।'
माइकिङको समय र बाढी त्रिशूली बजार आइपुगेको समय हेर्दा सुरक्षित ठाउँमा जान प्रशस्त समय रहेको उनले जानकारी दिए।
'नगरपालिकाले बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिहरू कति जना छन् भनेर लगत संकलन गरिरहेको छ, सम्पर्कविहीनको संख्या उहाँहरूले दिन सक्नुहुन्छ,' उनले भने।
उनका अनुसार नदी किनारका त्रिशूली बजार र ढुंगे बजार दुवैतर्फ ठूलो क्षति भएको छ। त्रिशूली र ढुंगे बजारमा नदी किनार रहेका घर कुनै पनि सग्लो अवस्थामा छैन। नदी किनारको त्रिशूली बजार त केही पनि बाँकी छैन भने अलि उचाइमा रहेको माथिल्लो बजारको पनि आधा भागमा क्षति पुगेको छ।
'बाढीले बगाएर ल्याएको लेदो र हिलो १०० देखि ३०० सय मिटर माथि रहेको सडक सतहसम्म थुप्रिएको छ,' उनले भने, 'त्रिशूली बजारबाट काठमाडौं जाने राजमार्गमा रहेका नयाँ र पुरानो गरी दुवै पुल बाढीले भत्काइदिएको छ। यसले नदीपारि रहेका मानिस पारि नै अड्किएका छन्। म आफै पारि अड्किएको छु।'
उनका अनुसार त्रिशूली बजार र ढुंगे बजारका विस्थापित घरपरिवारलाई नगरपालिकाले होल्डिङ सेन्टर बनाएर राखेको छ।
ढुंगेतर्फका विस्थापित बासिन्दालाई विदुरको बाल मन्दिर र स्कुल परिसरमा राखिएका छन् भने त्रिशूली बजारका विस्थापितलाई कोलेनी कभर्ड हल र अर्को स्कुल परिसरमा राखिएका छन्।
'दुवैतर्फका होल्डिङ सेन्टरमा २५०-३०० घरपरिवार हुन सक्छन्। यसको पनि यकिन संख्या नगरपालिकाले नै दिन सक्छ,' उनले भने।
होल्डिङ सेन्टरमा रासनपानी, औषधि लगायत अन्य अत्यावश्यक सामग्रीको बन्दोबस्त नगरपालिकाले गरिरहेको उनले जानकारी दिए।
नुवाकोटकै सबभन्दा व्यस्त त्रिशूली बजार बाढीपछि खण्डहर बनेको उनले बताए।
'सधैं गुल्जार रहने बजार अहिले बगर बनेको छ। नदी किनारको भाग त पुनर्स्थापना हुन पनि गाह्रो देखिन्छ,' उनले भने।