ल्हेन्दे खोलाको सिरानमा हिमचट्टान फुटेर पानीको बहाब रोकिँदा ताल बनेको छ।
चीन तर्फको छोचेन र नेपालतर्फको पुरेपु खोलाको दोभान लेदोसहितको बाढीले थुनिएको छ। त्यहाँ अहिलेको क्रमशः पानीको सतह बढिरहेको भनेर चिनियाँ जलस्रोत मन्त्रालयले बिहीबार नै सूचना जारी गरेको थियो।
मन्त्रालयले बिहीबार बिहानसम्म तालमा २० लाख घनमिटर पानी जम्मा भएको भनेको थियो।
शुक्रबारसम्म त्यसको सतह बढेर २५ लाख घनमिटर पानी त्यहाँ जम्मा भइसकेको पनि मन्त्रालयले जनाएको छ। यो भनेको चौबीस घन्टामै तालको पानी २५ प्रतिशत बढेको हो।
उसो भए तालमा जम्मा भएको पानी कति हो?
चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले ताल बनिरहेको ठाउँमा जम्मा भएको पानीको परिमाण सरल ढंगले बुझाउने प्रयन्त गरेको छ।
पोस्टका अनुसार अहिले तालमा जम्मा भएको २५ लाख घनमिटर पानी भनेको करिब एक हजार वटा ओलम्पिक साइजको स्वमिङ पुल बराबर हो।
चीनले ताल भरिदैँ गएको उल्लेख गरको छ। साथै त्यसले तल्लो तटीय क्षेत्रमा जोखिम पनि क्रमशः बढाउँदै छ।
यसअघि नै चीनले तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने जनाएको थियो।
चीनले उक्त क्षेत्र ड्रोन र स्याटेलाइटबाट निगरानी गरिरहेको छ।
साथै तालबाट उत्पन्न हुनसक्ने बाढीको खतराबारे विज्ञहरुले 'मोडलिङ' गरेका थिए। चीनले पछिल्लो पटक परराष्ट्र मन्त्रालयलाई पठाएको सूचनामा भने तालको अवस्था स्थिर रहेको जनाएको छ।
बुधबार बिहान बाढी आएको रसुवाको भोटेकोशी क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेपछि नेपालले चिनियाँ पक्षसँग कुरा गर्दा उनीहरूले ताल स्थिर रहेको बताएका थिए।
'पानीको बहाव बढेको छ। तल्लो तटीय क्षेत्रमा यसअघि हिम-पहिरो (बर्फ र चट्टान) खसेको थियो। तर नदी थुनिएर ताल बनेको माथिल्लो क्षेत्र स्थिर देखिन्छ। अहिले तत्कालै ताल फुटेर ठूलो बाढी आउने जोखिम छैन,' चिनियाँ पक्षलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।
स्रोतले अगाडि भन्यो, 'पानी बढिरहेको छ र तालको आकार ठूलो हुँदै गएको छ। पानी निरन्तर 'ओभरफ्लो' पनि भइरहेको छ, तर कुनै ठूलो विष्फोट वा फुटेको अवस्था छैन।'
चिनियाँ पक्षले थप जानकारी प्राप्त हुनासाथ उपलब्ध गराउने जनाएको छ।
यसअघि बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:३१ बजे सूचना जारी गर्दै भोटेकोशीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेसीसम्म आइपुगेको जनाएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै यही भदौ १० गते भीषण बाढी आएकै क्षेत्रमा पुनः लेदोसहितको पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ।
पानीको बहाब बढेपछि त्रिशूलीको तल्लो तटीय क्षेत्रमा शुक्रबार दिउँसो उद्धार र खोजी कार्य पनि रोकिएको थियो।