बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ। मृतक र सम्पर्कविहीनको संख्या निरन्तर अपडेट भइरहेको छ।
भोट (तिब्बत) बाट सुरू हुने भएकाले माथिल्लो भेगतिर बोलीचालीमा 'भोटेकोशी' भनिने नदीलाई तल आएपछि 'त्रिशूली' भन्ने गरिन्छ।
बिहीबार साँझसम्म उपलब्ध सरकारी विवरण, अमेरिकी भूगर्भ सर्वेक्षण, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा अन्य विश्वसनीय स्रोतका आधारमा यस बाढीबारे जान्नुपर्ने १० मुख्य तथ्य यस्ता छन्।
१. बाढी कसरी आयो? भूकम्पले ठूलो हिमताल फुटाएको हो?
सुरूमा चीनको तिब्बत क्षेत्रस्थित कुनै हिमताल फुटेर यो बाढी आएको अनुमान गरिएको थियो। तर अहिलेसम्मको वैज्ञानिक प्रमाणले त्यसो भन्दैन।
बुधबार बिहान ८:३७ बजे त्यस क्षेत्रमा भूकम्प गएको प्रारम्भिक विवरण आयो। खानी तथा भूगर्भ विभागले ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ। त्यसै आधारमा परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्पका कारण हिमपहिरो गएको हुन सक्ने जानकारी संसदमा दिएका थिए।
तर पछि अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले उक्त कम्पन पुनर्विश्लेषण गर्दा त्यहाँ भूकम्प नगएको निष्कर्ष निकालेको छ। सुरूमा ४.४ म्याग्निच्युडको भूकम्प मानिएको उक्त घटना थप अध्ययनपछि हिमनदी र गेग्रानसहितको विशाल पहिरोबाट उत्पन्न कम्पन भएको युएसजिएसले जनाएको छ।
युएसजिएसका अनुसार हिमनदी र चट्टान भत्किँदा उत्पन्न कम्पनको परिमाण करिब ५.२ म्याग्निच्युडको भूकम्प सरह मापन भएको थियो। अर्थात्, भूकम्पले हिमपहिरो ल्याएको भन्नेभन्दा हिम–चट्टान भत्किँदा भूकम्पजस्तो कम्पन उत्पन्न भएको पछिल्लो वैज्ञानिक निष्कर्ष छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा 'नेपाल-चीन रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वपट्टि हिमपहिरो गएका कारण भोटेकोशीमा भीषण बाढी आएको' निष्कर्ष निकालेको छ।
उक्त हिमपहिरो गएपछि चिनियाँ सिमानाकै ल्हेन्दे खोलामा गेग्रान सहितको बाढी आएको प्राधिकरणले जनाएको छ।
'प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रान सहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ,' प्राधिकरणले फेसबुकमार्फत दिएको सूचनामा भनिएको छ।
बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले प्लानेट ल्याबको डेटा अध्ययन गरेर प्राधिकरणले जारी गरेको सूचना नै अहिलेसम्मको सबभन्दा भरपर्दो सूचना भएको बताएका छन्।
यी सबै प्राविधिक तथ्य विश्लेषण गर्दा नेपाल–चीन सीमा क्षेत्रमा ठूलो हिम–चट्टानको पहिरो गएको र त्यसबाट ठूलो परिमाणमा हिउँ, चट्टान र गेग्रान ल्हेन्दे खोलातिर खसेको देखिन्छ। त्यसले नदीको बहाव थुन्यो र पानी जम्मा भएर अस्थायी तालजस्तो बन्यो। पछि त्यो प्राकृतिक अवरोध भत्किएपछि पानी, हिलो, बरफ र चट्टान एकैचोटि तलतिर बगे र भीषण बाढीको रूप लियो।
अर्थात् अहिलेसम्म देखिएको सम्भावित क्रम यस्तो हो— हिम–चट्टान भत्कियो, नदी थुनियो, पानी जम्मा भयो, प्राकृतिक बाँध भत्कियो र भीषण बाढी आयो।
२. हिम–चट्टान कहाँ भत्कियो? रसुवागढीबाट कति टाढा हो? नदीको नाम के हो?
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटलाइट तस्बिर अध्ययन गर्दा हिम–चट्टान भत्किएको क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व देखिएको जनाएको छ।
त्यस क्षेत्रको बाढीसँग प्रत्यक्ष जोडिएको नदीलाई ल्हेन्दे खोला भनिन्छ।
घटना ठ्याक्कै नेपाल वा चीनको कुन भूभागबाट सुरू भयो भन्नेमा प्रारम्भिक विवरणहरू फरक छन्। केही प्रारम्भिक नेपाली विवरणले तिब्बततर्फ संकेत गरेका थिए। इसिमोडका विज्ञहरूले भने हिम–चट्टानको पहिरो नेपाली भूभागतर्फ गएको बताएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि गियरोङ क्षेत्रमा भएको विनाशलाई नेपालतर्फ गएको पहिरोसँग जोडेको छ।
त्यसैले अहिलेका लागि 'नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टानको पहिरो' भन्नु सबभन्दा बढी तथ्यसंगत हुन्छ।
३. बाढीको पूर्वसूचना दिन राखिएका केन्द्रले नै किन सकेनन् बेलैमा सूचना दिन?
हिमपहिरो ल्हेन्दे खोलामा खसेपछि त्रिशूली नदीमा मिसिएर भीषण बाढी बनिसक्दा पनि किन त्यसको सूचना बेलैमा दिन सकिएन भन्ने गम्भीर प्रश्न उठेको छ।
बुधबार बिहान साढे ८ बजे आसपासबाट सुरू भएको बाढीबारे सही सूचना बेलैमा प्रवाह गर्न नपाउँदा यति धेरै मानवीय क्षति भएको मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका कर्मचारीहरू स्वीकार गर्छन्।
दिनभरिका स्याटेलाइट म्याप र अन्य विवरण संकलन गरेर महाशाखाले तयार पारेको प्राविधिक रिपोर्ट अनुसार बिहान ९:२० बजे मात्र पहिलो पटक भोटेकोशीमा बाढी आएको सूचना एसएमएसमार्फत सर्वसाधारणमा प्रवाह गर्न सकिएको थियो। उक्त रिपोर्ट केलाउँदा मेसेजमार्फत दिइएको सूचना मानिसहरूको मोबाइलसम्म पुग्दा बाढीले रसुवागढी-टिमुरे क्षेत्र बगाएर स्याफ्रुबेसी आइपुगिसकेको देखिन्छ।
सिमानाभन्दा एक किलोमिटर मात्र तल रहेको रसुवागढी जलमापन केन्द्रले बिहान ८:४० बजेपछि विवरण पठाउन छाडेको थियो। त्यस्तै, उक्त केन्द्रबाट ८ किलोमिटर तल पर्ने स्याफ्रुबेसी जलमापन केन्द्रले बिहान करिब ८:५० बजेदेखि तथ्यांक पठाउन छाडेको थियो।
महाशाखाका प्रवक्ता राजन भट्टराईले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा अन्तिम विवरण पठाएको केही समयमै ती केन्द्र बाढीले बगाएको उल्लेख छ।
सिमानाकाकै जलमापन केन्द्र बाढीले बगाएपछि रसुवागढी, टिमुरे र स्याफ्रुबेसीजस्ता माथिल्ला बस्तीका बासिन्दाले पर्याप्त पूर्वसूचना पाउन सकेनन्।
सुरूआती जलमापन केन्द्रमै बाढी आएको थाहा नपाई स्टेसन बगेकाले समयमै सूचना प्रवाह गर्न नसकेको महाशाखाकी हाइड्रोलोजिस्ट शर्मिला विष्टले बताइन्।
'हामीले राखेको जलमापन केन्द्रले बाढी आएको सूचना दिनै नपाई बाढीले बगाएको देखिन्छ,' उनले भनिन्, 'त्यसैले हामीलाई बाढी आएको थाहै भएन। बाढी टिमुरे आइसकेपछि त्यहाँको प्रशासनका अधिकारीले भनेपछि मात्र हामीले थाहा पायौं। त्यसपछि बल्ल हामीले मोबाइलमा सूचना पठाएका हौं।'
त्यति बेला मोबाइलमा सूचना पुग्नु र स्याफ्रुबेसीमा बाढी पुग्नु एकैपटक भएको उनको भनाइ छ। त्यसैले कतिपय मानिस सुरक्षित बस्न सकेको र कतिपय नसकेको उनी बताउँछिन्।
'हाम्रो सामान्य अनुमानमा बाढी आउँदा पानी र लेदो बिस्तारै बढ्दै जान्छ। जलमापन केन्द्रले पनि जलसतह बढ्दै गएको डेटा पठाउँछ। यसपालि भने माथिल्लो क्षेत्रबाट अचानक ढुंगा, माटो र गेग्रानसहितको ठूलो बाढी आयो। बाढीको सतह रेकर्ड गर्न र पूर्वसूचनाको मेसेज पठाउनै नपाई स्टेसनलाई एकैचोटि 'वास आउट' (बगाउने काम) गर्यो,' विष्टले भनिन्।
बुधबारको बाढीले रसुवागढी, स्याफ्रुबेसी र बेत्रावती जलमापन केन्द्रले डेटा संकलन नै गर्न नपाउँदै बगाएको महाशाखाको प्रतिवेदनमा उल्लेख छ। विष्टका अनुसार फुर्केखोलामा रहेको स्टेसनले मात्र सुरूदेखि आफू नबग्दासम्मको विवरण पठाएको थियो।
महाशाखाको प्रतिवेदन अनुसार बेत्रावतीबाट मलेखुस्थित फुर्के जलमापन केन्द्रमा बाढी आइपुग्दा बिहान ११:२६ बजेको थियो। त्यतिखेर जलसतहको सतर्कता तह ७ मिटर थियो। ११:४० बजे जलसतहले खतरा तह ८ मिटर पार गर्यो। त्यसपछि फुर्केमा त्रिशूलीको उच्चतम तह १०.४८ मिटर पुगेर जलमापन केन्द्र नै बगाएको थियो।
'गेग्रान, ढुंगासहितका सामग्री माथि नै थिग्रिँदै पानी र लेदो मात्र बग्दै फुर्केसम्म आएकाले उसले आफू नबग्दासम्म बाढीबारे डेटा पठाउन पायो,' उनले भनिन्, 'माथि भने यस्तो हुन सकेन। हाम्रा जलमापन केन्द्रभन्दा पनि उच्च तहमा एक्कासि गेग्रानसहितको बाढी आएर बगाएकाले स्टेसनले बाढीको सूचना पठाउन नसकेको हुनुपर्छ।'
बाढी तल्लो क्षेत्रतर्फ बढ्दै गएपछि मात्र बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रहरूमा चेतावनीको सूचना पठाउन थालेको थियो। सरकारी प्राविधिक प्रतिवेदन अनुसार नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ वटा चेतावनी एसएमएस पठाइएका थिए।
जल तथा मौसम विज्ञान विभागले समयमै दिइएको उक्त चेतावनीका कारण तल्लो तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान मद्दत पुगेको जनाएको छ।
४. तिब्बतबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणीमा पुगेको हो?
माथिल्लो सीमाक्षेत्रबाट आएको बाढी भोटेकोशी नदी प्रणालीमा मिसियो। त्यसपछि त्रिशूली हुँदै नुवाकोट र धादिङतिर बढ्यो र मुग्लिनपछि नारायणी नदी प्रणालीमा प्रवेश गर्यो।
जल तथा मौसम विज्ञान विभागको प्राविधिक प्रतिवेदन अनुसार बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीबाट भोटेकोशीमा ठूलो बाढी आएको सूचना बाढी पूर्वानुमान महाशाखाले पाएको थियो।
बाढी बिहान करिब १०:२८ बजे गल्छी पुग्यो। त्यसपछि मलेखु हुँदै दिउँसो करिब १ बजे मुग्लिन र ३:२० बजेतिर देवघाट पुगेको थियो।
देवघाटबाट मात्रै सामान्य बहावभन्दा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक अनुमान गरिएको छ।
बाढीले चारवटा स्वचालित जलमापन केन्द्रसमेत बगाएको छ।
५. के भोटेकोशीमा अझै बाढी आउने खतरा छ?
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ।
चीनले परराष्ट्र मन्त्रालय हुँदै पठाएको पछिल्लो सूचना अनुसार बुधबार बिहान बाढी सिर्जना भएको ठाउँमा अझै पनि नदी थुनिएर ताल बनेको र त्यो ताल बढ्दै गएको देखिएको महाशाखाले जानकारी दिएको छ।
'चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका साथै भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार भदौ १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ,' महाशाखाले आफ्नो फेसबुक पेजमा लेखेको छ, 'उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ।'
त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्दार कार्यमा खटिने उद्दारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ।
'नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ,' महाशाखाले भनेको छ।
चीनको जलस्रोत मन्त्रालयले पनि ल्हेन्दे खोलाको हिमपहिरोका कारण ताल बनेको जनाएको छ।
नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भएको र उक्त पानी तालबाट बाहिर जान सुरू गरेको चिनियाँ रिपोर्टमा उल्लेख छ। साथै, आउँदो तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने रिपोर्टमा जनाइएको छ।
चिनियाँ मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा यस्तो ताल बनेको जनाएको छ।
ग्लोबल टाइम्सले उक्त तालका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिमको अवस्था रहेको जनाएको छ।
मन्त्रालयले उक्त दोभानमा बनेको तालको निगरानी गरिरहेको र तालबाट उत्पन्न हुनसक्ने बाढीको खतराबारे 'मोडलिङ' समेत गरेको छ।
भदौ १० मा भोटेकोशी-त्रिशूली नदीको बाढीका कारण चीनतर्फ अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। घटनामा ५५८ जना हराइरहेका छन्। तिनमा २६० जना विदेशी नागरिक समेत छन्।
६. अहिलेसम्म कति मानिसको मृत्यु भयो? कति सम्पर्कविहीन छन्?
नेपाल प्रहरीको विवरणअनुसार बिहीबार साँझसम्म ३५९ जनाको शव फेला परेको छ।
सबभन्दा धेरै चितवनमा १३२, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
तर कुल कति मानिस बेपत्ता वा सम्पर्कविहीन छन् भन्ने अझै यकिन छैन। विभिन्न निकायले छुट्टाछुट्टै सूची बनाइरहेका छन्।
नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार ६४४ जना पर्यटक बेपत्ता छन्। बेपत्ता हुनेमा १२७ नेपाली र ५१७ जना विदेशी नागरिक छन्।
यस अतिरिक्त प्रहरी, सुरक्षा निकाय, जलविद्युत आयोजना, स्थानीय प्रशासन र अन्य संस्थाका छुट्टाछुट्टै सूची छन्। पछिल्ला अन्य संकलनमा योभन्दा ठूलो संख्या पनि आएको छ। तर ती सूचीमा एकै व्यक्ति दोहोरिन सक्ने र सम्पर्कविहीन व्यक्ति पछि सम्पर्कमा आउन सक्ने भएकाले अहिले सबै संख्या जोडेर एउटा कुल बेपत्ता संख्या निकाल्नु उचित हुँदैन।
चीनतर्फ पनि ठूलो मानवीय क्षति भएको छ। बिहीबार बिहानसम्मको चिनियाँ सरकारी विवरण अनुसार ३ जनाको मृत्यु भएको छ भने ५५८ जना सम्पर्कविहीन छन्। तीमध्ये २६० जना विदेशी रहेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै चाइना न्युज सर्भिसले जनाएको छ।
नेपालमा फेला परेका शवमध्ये कति नेपाली र कति विदेशी हुन् भन्ने पूर्ण विवरण अझै सार्वजनिक भएको छैन।
त्यस्तै, बाढीका कारण प्रभावित भएकाहरूको खोजी तथा उद्धार कार्यमा नेपाली सेना निरन्तर खटिरहेको छ। बिहीबार बिहानदेखि सेनाले हेलिकप्टर र जमिनमार्फत उद्धारका साथै स्वास्थ्य सेवा र राहत वितरणको काम गरिरहेको छ।
टिमुरे, स्याफ्रुबेसी, धुन्चे र मैलुङ इलाकाबाट १०१ जना विदेशीसहित ६९६ जनाको हेलिकप्टरमार्फत र २०० जनाको जमिनमार्फत जम्मा ८९६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
साथै, त्रिशूलीमा स्थापित आपतकालीन उपचार केन्द्रबाट ३५४ र धुन्चेको मेडिकल टिमबाट ५४६ गरी जम्मा ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले भनेको छ।
सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी नेपाली सेनाको फौज परिचालन गरिएको छ।
सेनाले पृथ्वी राजमार्गको लेदो सफा गरी सडक सञ्चालन गर्ने र शव उद्धार गर्ने काम समेत गरिरहेको छ। शुक्रबार नदी किनारमा शव खोजतलास, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुवेशीका सुरङ्ग (टनेल) हरूमा सम्पर्कविहीन भएकाहरूको खोज उद्धार तथा त्रिशूली-धुन्चे सडक सञ्चालन गर्ने सेनाको योजना छ।
७. कुन-कुन बस्तीमा सबैभन्दा धेरै क्षति भयो? कति घर बगे?
सबभन्दा ठूलो क्षति रसुवागढी, टिमुरे र स्याफ्रूबेसी क्षेत्रमा भएको देखिन्छ।
त्यसपछि बाढीले मैलुङ, बेत्रावती, सोले, शान्तिबजार, ढुंगे, त्रिशूली बजार, बट्टार र देवीघाट लगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
रसुवागढी–टिमुरे क्षेत्रमा भन्सार तथा सीमा प्रशासन, बजार, सुरक्षा निकायका भवन, सडक र सवारी साधनमा ठूलो क्षति पुगेको छ।
नुवाकोटको त्रिशूली बजार, तल्लो ढुंगे, बेत्रावती लगायतका तटीय क्षेत्रमा मात्रै करिब ४०० घरमा क्षति पुगेको विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताएका छन्।
उनका अनुसार नदी किनारका त्रिशूली बजार र ढुंगे बजार दुवैतर्फ ठूलो क्षति भएको छ। त्रिशूली र ढुंगे बजारमा नदी किनार रहेका घर कुनै पनि सग्लो अवस्थामा छैन। नदी किनारको त्रिशूली बजार त केही पनि बाँकी छैन भने अलि उचाइमा रहेको माथिल्लो बजारको पनि आधा भागमा क्षति पुगेको छ।
तर बाढीले समग्रमा कति घर पूर्ण रूपमा बगायो वा क्षति पुर्यायो भन्ने एकीकृत र प्रमाणित संख्या अझै आएको छैन।
८. जलविद्युत र विद्युत प्रणालीमा कति क्षति भयो?
यो बाढी जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ।
ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको पछिल्लो प्रारम्भिक विवरणअनुसार ४३१.१ मेगावाट क्षमताका १२ विद्युत उत्पादन केन्द्र बन्द भएर राष्ट्रिय प्रणालीबाट बाहिरिएका छन्। यो नेपालको कुल विद्युत उत्पादन क्षमताको करिब १० प्रतिशत हो।
तर ती सबै उत्पादन केन्द्रमा बाढीले प्रत्यक्ष भौतिक क्षति गरेको होइन।
प्राधिकरणको पछिल्लो विवरण अनुसार ६ जलविद्युत आयोजना र एउटा सौर्य आयोजना गरी सात उत्पादन केन्द्रमा प्रत्यक्ष असर परेको छ। बाँकी आयोजना प्रसारण प्रणालीमा भएको क्षतिका कारण बन्द भएका हुन्।
यससँगै निर्माणाधीन १५ जलविद्युत आयोजना, कुल करिब ४७० मेगावाट, मा पनि भौतिक क्षति पुगेको प्रारम्भिक सरकारी विवरण छ।
त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। २२०, १३२ र ६६ केभीका प्रसारण लाइन तथा टावरमा पनि क्षति पुगेको छ।
रसुवामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरूद्ध भएको सरकारी विवरण छ। नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा पनि आंशिक असर परेको छ।
विद्युत आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदुरसमेत सम्पर्कविहीन रहेको ऊर्जा मन्त्रालयको प्रारम्भिक विवरण छ।
९. कति पुल र सडक बगे?
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक समेत बन्द अवस्थामा छ।
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको मन्त्रालयले जनाएको छ।
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाईका ७ वटा बेलिब्रिज छन्। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको उल्लेख छ।
पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन।
सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको उल्लेख छ।
क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ।
पुलहरू भत्किँदा धेरै ठाउँका बजारहरूको मुख्य राजमार्गसँग सम्पर्क टुटेको छ। खासगरी त्रिशूली बजार जोड्ने दुईवटा पुल नै बगाएकाले अहिले त्रिशूली बजारको नदीपारि क्षेत्र जाने बाटो बन्द भएको छ। पारिका मान्छे पारि नै अड्किएका छन्।
१०. नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट कस्तो सहायता आइरहेको छ?
बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाले सहायता उपलब्ध गराउन थालेका छन्।
भारतले भारतीय वायुसेनाको जहाजमार्फत करिब १० टन राहत सामग्री र औषधि नेपाल पठाएको छ। त्यसमा अस्थायी आवास सामग्री, कम्बल, सरसफाइ सामग्री, सोलार बत्ती र औषधि छन्।
अमेरिकाले ५ लाख अमेरिकी डलर आपत्कालीन सहायता घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले विपद प्रतिकार्य सल्लाहकारसमेत परिचालन गरेको छ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघले नेपाल रेडक्रसको राहत कार्यका लागि करिब १० लाख स्विस फ्र्याङ्क आपतकालीन कोष उपलब्ध गराएको छ।
विश्व स्वास्थ्य संगठनले औषधि, आपत्कालीन स्वास्थ्य सामग्री र बहुउद्देश्यीय टेन्ट पठाएको छ।
चीनले नेपाललाई तत्काल नगद सहायता उपलब्ध गराउने जनाएको छ। तर कति रकम दिने भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन।
बंगलादेशले पनि नेपाललाई राहत तथा उद्धारमा आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।
संयुक्त राष्ट्रसंघले आफ्ना टोली र साझेदार संस्थाहरूले नेपालमा सहायता सामग्री र जनशक्ति परिचालन गरिरहेको जनाएको छ।
विश्व बैंकले विभिन्न स्रोतबाट १७ करोड डलर (२५ अर्ब बढी) परिचालन गर्न सकिने जनाएको छ।
कति रकम परिचालन हुने, त्यो अनुदान हो कि ऋण हो, चालु परियोजनाको रकम पुनः विनियोजन हो वा अन्य वित्तीय व्यवस्था हो भन्ने अझै टुंगिएको छैन। अहिलेको अन्तर्राष्ट्रिय सहयोग मुख्यतः खोज तथा उद्धार, अस्थायी आवास, स्वास्थ्य, खानेपानी र तत्काल राहतमा केन्द्रित छ।
तर दर्जनौं पुल, लामो सडकखण्ड, विद्युत आयोजना, प्रसारण संरचना र सीमा पूर्वाधारमा भएको क्षतिका कारण पुनर्निर्माणको आवश्यकता र लागत निकै ठूलो हुने देखिन्छ।
***