'हामीसँग अब केही बाँकी रहेन, सबै बाढीले बगायो,' पूर्णबहादुर घलेले अस्पतालको बेडबाट मलीन स्वरमा भने।
उनी रसुवाको उत्तरगया गाउँपालिका–४ स्थित मालिकादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।
भदौ १० गतेको बाढीपछि उनलाई उद्धार गरेर काठमाडौं महाराजगन्जको मनमोहन अस्पताल भर्ना गरिएको छ। सुरूमा इमर्जेन्सी कक्षमा उपचार गराएपछि सोमबार सामान्य वार्डमा सारिएको छ।
'एक्कासि आएको बाढीको तीव्र भेलमा परेँ। ठूलो लेदोबाट भाग्यवश बाँच्न त सफल भएँ, तर धेरै माटो र लेदो निलिएकाले फोक्सोमा पुगेको छ,' उनले भने, 'आफू नै अस्पतालमा भएकाले विद्यालयको अवस्थाबारे तत्काल केही भन्न सक्दिनँ।'
उनको फोक्सोमा माटो छिरेकाले श्वासप्रश्वासमा समस्या हुनुका साथै रक्तचाप उच्च रहेकाले डाक्टरहरूले धेरै बोल्न दिएका छैनन्।
पूर्णबहादुर मानसिक रूपमा पनि आहत छन्।
किनभने, उनकी श्रीमती, आमा मात्र नभई आफन्तहरूसहित चिनजानका २९ जना बेपत्ता भएका छन्।
स्कुलका विद्यार्थीसहित अभिभावकहरू पनि बेपत्ता भएको सुनेर उनी आफूलाई सम्हाल्न सकिरहेका छैनन्।
'त्यो दिन स्थानीय हेडसरहरूको मिटिङ भएकाले विद्यालय गएको थिइनँ। छलफलमा जान तयार हुँदै थिएँ,' पूर्णबहादुरले भने, 'विद्यालयमा को को आइपुगेका थिए, को को बेपत्ता भए थाहै छैन।'
उनले थपे, 'विद्यालयको बारेमा अहिले म थप केही बोल्न सक्दिनँ।'
कक्षा ५ सम्मको उक्त स्कुलमा २० देखि २५ जना विद्यार्थी पढ्थे। बुधबार आएको बाढीले स्कुलमा पूर्ण क्षति पुर्याएको छ।
विद्यार्थीहरू कति हराए, कति सकुशल छन् यकिन विवरण छैन।
पूर्णबहादुरले अभिभावक, विद्यार्थी र गाउँले गरी ५३ जना हराएकोसम्म जानकारी पाएका छन्।
'म आफै घाइते छु, धेरै बोल्न पनि सक्दिनँ। गाउँको यो अवस्था सम्झिँदा छाती फुटेर आउँछ,' उनले भने।
विद्यालयमा २–३ वर्षका बालबालिकासमेत धेरै बेपत्ता भएको उनले सुनेका छन्।
पूर्णबहादुरको घर, लत्ताकपडा सबै बाढीले बगाइदिएको छ। लगाएको एक सरो लुगा पनि धुजा–धुजा भएको थियो।
सोमबार मात्र कसको मद्दतमा नेपाल टेलिकमबाट उनले आफूले चलाएको पुरानो सिम निकालेका हुन्।
उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङका अनुसार विद्यालय परिसरबाट हराएका अभिभावक अहिलेसम्म कोही फेला परेका छैनन्। खोजी कार्य भइरहेको छ।
विद्यालय परिसरबाटै बेपत्ता भएका भनिएका १५–२० जना अभिभावक पनि अहिलेसम्म फेला परेका छैनन्। स्थानीय सरकारले केन्द्रसँगको समन्वयमा खोजी कार्य गरिरहेको उनी बताउँछिन्।