अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा पानीजहाजमाथि प्रहार गर्न रोक्न इरानमाथि फेरि हमला गर्नेबारे विचार गरिरहेका छन्।
इरानलाई पानीजहाजमा आक्रमण गर्नका लागि आफ्नो राडार र क्षेप्यास्त्र क्षमता पुनःस्थापना गर्नबाट रोक्न सीमित आक्रमण गर्नेबारे ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले विचार गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
सो सीमित आक्रमणको योजना मध्यपूर्व हेर्ने अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले गत हप्ता बनाएको हो। रक्षामन्त्री पिट हेगसेथ पनि यसको पक्षमा मानिन्छन्। तर ट्रम्पले भने सो योजनालाई अनुमोदन गरेका थिएनन्।
इरानसँग सप्ताहन्तमा हानाहान भएपछि भने ट्रम्पले यसलाई अनुमोदन गर्नसक्ने एक्सियसले जनाएको छ। यो योजनाको मुख्य उद्देश्य तेल बोक्ने पानीजहाज, अमेरिकी नौसेनाका जहाजहरू र वायुसेनाका विमानहरूमाथि इरानले गर्ने आक्रमणको जोखिम कम गर्नु हो।
‘राष्ट्रपतिको अधिकार क्षेत्रमा रहेका सबै विकल्पहरू सुरक्षित छन्। इरानीहरू सम्झौता गर्न चाहन्छन्। तर उनीहरू सधैँ ढिलो र अलिक कम लचिलो हुन्छन्,’ एक अधिकारीले भने।
हर्मुज जलमार्गमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले बारूदी सुरूङ बिच्छ्याउने तयारी गरेको आरोपमा अमेरिकाले आइतबार इरानमाथि हमला गरेको थियो।
सेन्टकमका अनुसार इरानको लाराक द्वीपमा रहेको दुइवटा प्रक्षेपण प्रणालीलाई लक्ष्य गरी हवाई हमला गरिएको थियो।
आइआरजिसीका सैनिकहरूले हर्मुजमा बिच्छ्याउन बिस्फोटक पदार्थहरू बोकेका रकेट प्रहारको तयारी गरिरहेको देखिएपछि अमेरिकाले हवाई हमला गरेको थियो। त्यसपछि इरानले पनि जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर मिसाइल प्रहार गरेको थियो।
त्यसपछि ट्रम्पले सीमित आक्रमण गर्ने सेन्टकमको योजनालाई अनुमोदन गर्नेबारे सोच्न थालेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)