रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि तल्लो तटीय क्षेत्रमा धेरै व्यक्तिहरू हराएका छन्। उनीहरूको खोजी र उद्धार कार्य जारी छ।
हराएका व्यक्तिहरूको खोजी भइरहँदा आफन्त र परिवार गहिरो पर्खाइ र छटपटीमा छन्।
कामको सिलसिलामा तथा भ्रमणका लागि रसुवा पुगेका आफ्ना मानिसहरूसँग एकाएक सम्पर्क टुटेपछि उनीहरूका आफन्त प्रहरी प्रशासन र अस्पताल धाउन थालेका छन्। अस्पतालका इमर्जेन्सी भवनको अगाडितर्फ पूरै बाढीमा बेपत्ता भएकाहरूको तस्बिर टाँसिएको छ।
बेपत्ता भएका परिवार अस्पतालमा आउने हेर्ने र तस्बिर टाँस्ने काम गरिरहेका छन्।
त्यसै क्रममा टिचिङ अस्पताल महाराजगञ्ज आएर हराइरहेका आफन्त खोजिरहेका केही व्यक्तिसँग हामीले कुरा गरेका छौं —
बुवाको खोजीमा अस्पताल-अस्पताल डुलिरहेकी छोरी सुष्मा
बुवाको खोजीमा छोरी
नमस्कार, मेरो नाम सुष्मा तामाङ हो।
म २५ वर्षको भएँ। हाम्रो घर नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ मा पर्छ। भदौ १० गते आएको बाढीमा हराउनु भएको मेरो बुवा हो।उहाँको नाम सोमबहादुर तामाङ हो।
बुवा ४५ वर्षको हुनुभयो। बुवा सवारी चालक हुनुहुन्थ्यो। उहाँले काम गर्ने ठाउँ मैलुङ सुरूङमा हो। बुवा हराउनुभन्दा केही दिनअघि मात्र जापानबाट फर्किएकी हुँ।
ममी-बुवा, दाजुभाइ जोडिएको ग्रुप छ। बुवासँग मंगलबार (भदौ ९ गते) त्यहीँ एकैछिन मात्र कुराकानी भएको थियो। म कामले गर्दा बाहिर निस्किनु पर्ने भएकाले धेरै बेरसम्म कुराकानी हुन पाएन। त्यही एकैछिनको कुराकानी नै अन्तिम बन्यो।
त्यसपछि बुवासँग थप कुराकानी भएको थिएन। बुधबार बिहान बुवा ड्युटीबाट फर्किएपछि कुरा गर्ने सोच थियो।
किनकी बुवाको ड्युटी रातिको समयमा थियो। बिहान फोन गर्ने सोचमै थिएँ। साथीहरूले बाढीको बारेमा समाचारहरू पठाउन थाले। बुवा सुरूङभित्रको काम सकाएर निस्किसक्नु भयो होला भन्ने सोचेर हतार हतार फोन गरेँ।
सुरूमा बिजी आयो। जसले गर्दा सुरक्षित हुनुहुन्छ भन्ने आस जाग्यो। तर एकपछि फोन भइहाल्यो। लगभग दिउँसो २ बजेतिर बुवा फोन अफ भएको थियो।
बुवा सुरूङभित्र नभई ड्युटी सकेर बिहान फर्कने क्रममा हराउनुभएको हो। त्यसैले बाढीमा पर्नु भएन भन्ने लाग्थ्यो। तर अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन।
त्यो दिन आफन्तको घरमा केही कार्यक्रम भएकाले सबै परिवार र आफन्तहरू घर बाहिर थियौं। बुवा मात्र छुट्नुभएको थियो।
बिहानपख बुवाले अंकललाई फोन गरेर 'कहिले आउने' भनेर कुरा गर्नुभएको रहेछ। घटना हुनुभन्दा अगाडि अंकलसँग कुरा भए पनि त्यसपछि भने कसैसँग पनि सम्पर्क हुन सकेको छैन।
फोन अहिलेसम्म अफ छ। कहाँ बेपत्ता हुनुभयो भनेर अहिलेसम्म थाहा छैन। उद्धार भएकाहरूलाई काठमाडौंको टिचिङ, वीर र ट्रमा सेन्टरमा ल्याइएको छ भनेपछि ती ठाउँहरूमा हेरियो। तर कतै भेटिएको छैन।
श्रीमान खोजिरहेकी उर्मिलादेवी पौडेल
श्रीमान खोजिरहेकी उर्मिलादेवी
मेरो नाम उर्मिलादेवी पौडेल हो। हामी काठमाडौंको सोह्रखुट्टेमा बस्छौं। मेरो श्रीमान पनि पहिला यही थिए। तर एक महिना अघिमात्र काम पाएपछि रसुवास्थित हाइड्रोपावरमा काम गर्न जानुभएको थियो।
मेरो श्रीमानको नाम सामन्त पौडेल हो।
उहाँ जेसिबी (एस्काभेटर) चालक हुन्। काठमाडौंमा जागिर नपाएपछि रसुवा जानु भएको हो। त्यहाँ काममा गएको भर्खर दुई महिनामात्र भएको थियो। भदौ १० गते बाढी आएपछि उहाँ सम्पर्कविहीन हुनुहुन्छ।
हाम्रा साना-साना तीन जना बालबच्चाहरू छन्। (९ वर्ष, ४ वर्ष र ३ वर्षका) छन्।
बाढी आएको दिन बिहान श्रीमानसँग कुराकानी भएको थिएन। छोराछोरीलाई स्कुल पढाउन खाना पकाउन उनीहरूलाई तयार गर्न व्यस्त थिए।
मसँग कुरा नभए पनि देबरले फोन गर्नुभएको थियो। उहाँले फोन गर्दा करिब सवा ९ भएको थियो भन्नुहुन्छ। त्यतिबेला श्रीमानले 'बाढी आइरहेछ, म भागिरहेको छु' भनेर देवरलाई भन्नुभएको भन्नुहुन्छ। त्यही अन्तिम पटक कुरा भएको हो। त्यसको १०/१५ मिनेटपछि फोन लागेन।
फोन लाग्छ कि भनेर पटक पटक गरिरह्यौं। तर अहिलेसम्म फोन लागेको छैन। सोमबार (भदौ १५ गते) सम्म कुनै पनि जानकारी आएको छैन। काठमाडौंका सबै अस्पतालहरू हेरिसकियो। तर अहिलेसम्म कतै भेटिएको छैन।
यो सरकारलाई दुई हात जोडेर बिन्ती गर्छु। मेरो श्रीमानलाई जसरी भए पनि खोजी गरिदिनुहुन आग्रह गर्छु। श्रीमान बिना छोराछोरीलाई कसरी पाल्नु। म कसरी बाँच्नू? जसरी भए पनि मेरो श्रीमानलाई खोजिदिनुहोस् न।
हामीले श्रीमानको खोजीका लागि पुग्न सकिने ठाउँहरू- प्रहरी, शिक्षण अस्पताल (टिचिङ) लगायतका ठाउँहरूमा निरन्तर खोजिरहेका छौं।
देबरहरूले जिल्लातिर र यता विभिन्न अस्पतालहरूमा पुगेर कतिपय शवहरूसँग डिएनए परीक्षण समेत गराउनुभएको छ, तर अहिलेसम्म केही अत्तोपत्तो पाउन सकिएको छैन।
आज छ दिन भइसक्यो, उहाँको कुनै अत्तोपत्तो नहुँदा हामी साह्रै पीडामा छौं। साना-साना बालबच्चा छोडेर खोज्न हिँडिरहँदा म उभिन नसक्ने भैसकेको छु।
५ जना आफन्त खोज्दै दावा लामा
हराएका व्यक्तिहरू
नमस्कार, मेरो नाम दावा लामा हो। मेरो उमेर २४ वर्ष भयो। हाम्रो घर रसुवाको नौकुण्ड गाउँपालिकामा पर्छ। हाल भने हामी गोसाइँकुण्ड गाउँपालिकामा बस्दै आएका थियौँ।
यहाँ भित्तामा टाँसिएका फोटोहरू मेरो आफ्नै एउटै परिवारका पाँच जना सदस्यहरूको हो।
सुरेश तामाङ, तेन्जिङ, मनोज तामाङ, विजय र मिलन तामाङ हुनुहुन्छ।
सम्बन्धले उहाँहरू मेरो दुई जना भाञ्जा र तीन जना भाइहरू हुनुहुन्छ। उहाँहरू पाँचै जना पेसाले गाडी चालक हुनुहुन्छ। नयाँ गाडी लिन उहाँहरू केरूङ जानु भएको थियो।
बाढी आउनुभन्दा दुई दिनअघि मात्रै उहाँहरूसँग मेरो काठमाडौंमा भेट भएको थियो। त्यसपछि उहाँहरू केरूङतर्फ लाग्नुभयो। घटना भएको दिन बिहान करिब ९ बजेतिर उहाँहरूले फोन गरेर 'हामीले बोर्डर क्रस गर्यौं भन्नुभएको थियो। तर बोर्डर क्रस गरेर इन्ट्री गर्ने बित्तिकै लेदो सहितको भीषण बाढी आएछ। बाढीबाट भाग्दाभाग्दै उहाँहरू सबैजना त्यहीँ पर्नुभयो भन्ने हाम्रो अनुमान छ।
त्यसपछि उहाँहरूसँग कुनै सम्पर्क हुन सकेको छैन। म त वैदेशिक रोजगारीका लागि स्विट्जरल्यान्ड जाने सिलसिलामा काठमाडौं आएको थिएँ, तर यो खबर पाएपछि उता जाने कुरा छाडेर बिहीबारदेखि नै आफन्तहरूको फोटो बोकेर खोजीमा भौँतारिरहेको छु।
मैले काठमाडौँका त्रिवि शिक्षण अस्पताल (टिचिङ), वीर अस्पताल, ट्रमा सेन्टर र मनमोहन अस्पताल लगायतका सबै ठाउँहरूमा पुगेर खोजिसकेँ, तर कतै केही खबर पाउन सकिएको छैन। आज पाँच दिन भइसक्यो, म निरन्तर घुमेको घुमै छु। उता केरूङ नाकातर्फको बाटो खुल्दैछ भन्ने सुनेको छु, सायद त्यहाँ पहिरो वा पहराले थिचेको छ कि भन्ने आशंका छ।
यदि कसैले उहाँहरूको बारेमा केही सूचना पाउनुभएमा मलाई ९७६११६६८९४ (9761166894) मा सम्पर्क गरिदिनुहोला।
भाइलाई खोज्दै दिदी अनिता
-1788260921.jpg)
मेरो नाम अनिता चौधरी हो। हाम्रो घर दाङको तुलसीपुर-१५ मा पर्छ। अहिले हराइरहेको मेरो भाइ करूण चौधरी हो। ऊ २२ वर्षको भयो। पेसाले इन्जिनियर हो। कामको शिलशिलामा रसुवामा थियो।
हाम्रो घरमा बुवा-आमासहित ६ जना दिदीबहिनी छौं। भाइ एउटा मात्रै हो। तीन जना दिदीहरूको विवाह भइसकेको छ। भाइसँग दिनहुँ कुराकानी भइरहेको हुन्थ्यो।
बुवाको नाम चिन्ताबहादुर चौधरी हो।
बुधबार ( भदौ १० गते) बिहान ८ बजेतिर बुवाले फोन गर्नुभएको थियो। त्यतिबेला भाइले फोन उठाएको थिएन। म्यासेज गरेको थियो। भाइले आज ढिलो भयो, कुरा गर्न पाउँदिनँ। म ड्युटी हिँड्न लागेको हो। सरले फोन गरिसक्नुभयो भनेर म्यासेज छोडेर काममा गएको थियो।
म्यासेज गरेको एक घन्टा नबित्दै रसुवागढीमा बाढी आयो भनेपछि घरबाट फोन गर्यौं। त्यतिबेला पनि फोन लागेको थिएन। अहिलेसम्म फोन लागेको छैन।
भाइसँग सम्पर्क हुन नसक्दा घरमा सबै जना चिन्तामा हुनुहुन्छ। हामीले खोजीका लागि पुग्न सकिने ठाउँहरू घोरही, काठमाडौंका सबै हस्पिटलहरू खोजिसक्यौं। खोज्न थालेको ६ दिन भइसक्यो। तर अहिलेसम्म कतै भेटिएको छैन। उद्धार गरिएको नामावलीमा कतै भाइको नाम छ कि भनेर हेरिरहेका छौं। तर कतै भेट्न सकिएको छैन।
हामी सबैले उसका लागि भगवानसँग प्रार्थनमा गरिरहेका छौं। सकुशल भेटिए हुन्थ्यो भन्ने आश छ।
प्रकाश कायस्थको खोजिदिन परिवारको आग्रह

मेरो नाम सुनिता कायस्थ हो। मेरो श्रीमान प्रकाश कायस्थ भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ। श्रीमान रसुवा अपर त्रिशूली जलविद्युत आयोजनामा काम गर्नुहुन्थ्यो।
श्रीमान त्यहाँ कोरियाली कम्पनी डुबानका लागि काम गरिरहनुभएको थियो। त्यहाँ गाडी चलाउहुन्थ्यो। दुई महिनाअघि मात्र घर आएर जानुभएको थियो।
घर नुवाकोट भएपछि छोराछोरी पढाउन हामी काठमाडौं तार्केश्वर नगरपालिकामा बस्छौं। उहाँले पहिलादेखि गाडी चलाउने काम गर्नुहुन्छ। बाढी आउने दिनमा पनि बिहान कुराकानी भएको थियो। बाढी आएपछि भने फोन सम्पर्क हुन सकिरहेको छैन।
श्रीमानले चलाउने बस देखिएको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। त्यसमा बस पुरिएको वा के भयो भनेर अन्तिममा केही देखिँदैन। त्यसैले श्रीमान कतै हुनुहुन्छ कि भन्ने आस छ।
उहाँले बागमती प्रदेश००६-५२०८ रातो बस चलाउनुहुन्छ। उक्त बसमा मैलुङ हाइड्रो 216 कोरियन कम्पनी डोसाङको स्टाफ ओसार पसार गर्ने गर्नुहुन्थ्यो।
उक्त बसमा बाढी आउने बेलामा दौडिएर कतै उद्धारको पर्खाइमा हुनुहुन्छ कि जस्तो लाग्छ। त्यसैले छिटो भन्दा छिटो खोजीकार्य गरिदिन आग्रह गर्छु।
उक्त बसमा उहाँमात्र नभएर अरू पनि छन् भन्ने खबर आएको छ। तर को को थिए अहिलेसम्म केही जानकारी आएको छैन। बाढीग्रस्त र जङ्गल क्षेत्रहरूमा केवल हेलिकप्टरबाट मात्र नभई पैदल उद्धार टोली परिचालन गरेर खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दछु।