भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको बाढीले ७ हजार ५७० वटा निजी घरमा क्षति पुगेको छ।
सहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा ७ हजार ५७० वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रवीन्द्र बोहराले बाढी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनर्स्थापना योजनाबारे जानकारी दिएका हुन्।
विभागको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा ३ हजार ९७७, धादिङमा ३ हजार ४५१ र रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेको छ।
यसैगरी गोरखामा २६३ र चितवनमा ६१ वटा घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ।
त्यस्तै, ४५ वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिव साढे ४ अर्ब रुपैयाँ बराबर रहेको छ।
हाल बाढीपहिरो प्रभावित ३ हजार ४५० जना व्यक्तिहरू १८ वटा विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन्। विद्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने भएकाले विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले तीन हप्ताभित्र ‘ट्रान्जिसनल सेल्टर’ (अस्थायी आवास) निर्माण गर्ने लक्ष्य राखेको छ।
प्रिफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिब एक हजार डलरको लागतमा अस्थायी घरहरू निर्माण गरिनेछ। यसका लागि करिब ९० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा विभिन्न दातृ निकायहरूको समेत सहयोग रहने अपेक्षा गरिएको छ। २०७२ सालको भूकम्पको तुलनामा यस पटकको विपद्को प्रकृति फरक रहेको विभागको ठम्याइ छ।
स्थायी बसोवासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त स्थानका रूपमा प्रारम्भिक अध्ययन सुरू गरेको छ। स्थायी आवास निर्माणका लागि सरकारले प्रतिघर ७ लाख रुपैयाँसम्म अनुदान दिनसक्ने अनुमान गरिए पनि यसबारे मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।
हाल विभागका चार वटा प्राविधिक टोली धादिङ, नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा खटिएका छन्। ती टोलीको विस्तृत प्रतिवेदन आएपछि ट्रान्जिसनल सेल्टर र स्थायी बस्ती विकासको कामलाई थप गति दिइने विभागले जनाएको छ।
-न्युज एजेन्सी नेपाल