रसुवाको भोटेकोशी र त्रिशूलीको बाढीमा परेर ज्यान गुमाएका र पहिचान हुन नसकेका शवहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्न थालेको छ।
कार्यालयले सोमबारदेखि काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ दक्षिण ढोका नजिकै रहेको सरकारी वन क्षेत्रमा शव गाड्न थालेको हो।
सोमबार ४०/५० जनाको शव गाडिएका छन्। मंगलबार साँझसम्म ७०/८० जनाको शव गाडिने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख ईश्वरराज पौडेलले जानकारी दिए।
'अहिले पहिचान नभएका शवहरूलाई पछि आफन्तले दाबी गर्न आएको खण्डमा सजिलै उत्खनन गर्न सकिने गरी व्यवस्थापन गरेर गाड्न थालिएको हो,' उनले भने।
टिचिङ अस्पतालमा ११४ वटा शव आइपुगेका छन्। जसमध्ये हिजो ४८ वटा र आज २२ वटा पठाइसकिएको छ। बाँकी पनि पठाउने प्रक्रियामा रहेको टिचिङ अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म ९ जनाको मात्र पहिचान खुलेको छ। बाँकी शवहरू चिन्न नसक्ने अवस्थामा छन्।
'बाढी र पहिरोको लेदोमा पेलिएर आएका कारण शवहरू एकदमै क्षतविक्षत र चिन्नै नसकिने अवस्थामा छन्,' सूचना अधिकारी रोस्याराले भने, 'एउटै शरीरका विभिन्न भागमा ठोक्किएर गम्भीर चोट लागेको र पानीमा धेरै समय रहेकाले सुन्निएका छन्।'
सुन्निएका शरीरहरू घाम पर्नसाथ गल्न थालिसकेका छन्। जसले गर्दा पहिचान गर्नसक्ने अवस्थामा नभएको उनी बताउँछन्।
शवको लुगाकपडा, हुलिया, फिंगरप्रिन्ट, शरीरमा भएका ट्याटु वा अन्य चिह्नहरूलाई आधार बनाएर शवको पहिचान गरिएको छ। साथसाथै अन्तिममा डिएनए परीक्षण गरेर मात्र पठाइएको हो।
अहिले गाड्न पठाइएका शवहरूको पनि डिएनए नमूना सुरक्षित राखिएको छ। खोज्न आउनेहरूले चाहेको अवस्थामा शव निकालेर लैजान सक्ने उनी बताउँछन्।