नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह–आयोजनामा पहिलोपटक सिएमसी चितवन प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
नारायणगढस्थित क्याम्पाचौरमा माघ १७ देखि २५ गतेसम्म प्रतियोगिता हुने इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए।
चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको चौधरीको भनाइ छ।
चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै प्रतियोगिताले युवा खेलाडीहरुलाई थप मौका प्रदान गर्ने बताए।
उनले क्रिकेट विकासकै लागि नारायणी एडर्भटाइजिङसंग सहकार्य गर्दै अघि बढेको बताए।
प्रतियोगिताको लिग चरणका केही खेलहरु निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमुना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा चितवनका पाँच टिमको सहभागिता रहेको छ। जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्यापिड्स रहेका छन्।
भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने र राप्तीको मार्की प्लेयरमा आकाश थापा रहेका छन्।
प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ पाउनेछन्।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ।
प्रतियोगिताका खेल प्राइम टाइम्स टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ।