सहिद स्मारक ए डिभिजन लिगमा संकटाले फ्रेण्ड्स क्लबलाई पराजित गरेको छ।
शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेण्ड्स क्लबलाई २-१ गोलले पराजित गरेको हो। जारी लिगमा संकटाले हात पारेको पहिलो जित हो।
खेलमा फ्रेण्ड्सले पहिले अग्रता लियो। फ्रेण्ड्सका लागि कप्तान प्रकाश बुढाथोकीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। ४३ मिनेटमा उनले सेकेन्ड बार च्याँप्दै हानेको प्रहारले जाली चुमेको थियो।
पहिलो हाफमा पछि परेको संकटाका लागि निरज बस्नेतले ५७ मिनेटमा बराबरी गोल फर्काए। उनले डिबक्समा हेडमार्फत गोल गरेका थिए।
खेल सकिन तीन मिनेट बाँकी छदा संकटाले अग्रता लियो। संकटाका लागि फोफनाले गोल गरेका थिए।
यसअघि पहिलो खेलमा संकटाले हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो।
फ्रेण्ड्सले भने नवप्रवेशी सातदोबाटोसँगै गोलरहित बराबरी खेलेको थियो।