मःम र चाउमिनको मूल्यमा पिज्जा आउने भए धेरैले आफ्नो दैनिक खाजा पिज्जा नै खान्थे होलान्!
यो स्टोरी त्यस्तै एक युवाको हो, जसले सस्तो मूल्यमा मिठो पिज्जा कसरी बेच्न सकिन्छ भनेर उदाहरण देखाए।
उनी हुन्, ४० वर्षीय सुधीर श्रेष्ठ।
सुधीर सन् २००३ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले त्यहाँ व्यवस्थापनमा स्नातक तह पूरा गरे र केही समय काम पनि गरे।
करिब १३ वर्ष अमेरिकामा बसे पनि उनलाई स्थायी रूपले उतैको हुन्छु भन्ने कुनै इच्छा थिएन। उनी नेपाल फर्केर आफ्नै व्यवसाय सुरू गर्न चाहन्थे।
यही रनाहामा उनी नेपाल आए र नयाँ व्यवसायको आइडिया बुन्न थाले।
अमेरिकामा रहँदा उनको खाजा प्राय: पिज्जा र बर्गर हुन्थ्यो। त्यसमध्ये पनि पिज्जाको स्वाद उनलाई एकदमै मन पर्थ्यो। काठमाडौंमा भने उनले सस्तो मूल्यमा मिठो पिज्जा पाइने ठाउँ कतै भेटेनन्। राम्रो पिज्जा प्राय: ठूला रेस्टुरेन्टमा मात्र पाइन्थ्यो। सामान्य रेस्टुरेन्टमा पाइने पिज्जाको भाउ सस्तो भए पनि स्वाद मिठो हुन्थेन।
यही देखेर उनले आफै पिज्जा रेस्टुरेन्ट खोल्ने निधो गरे।

अमेरिकामा छँदा उनी एक भारतीय रेस्टुरेन्टमा काम गर्थे। काउन्टरमा बसेर हिसाबकिताब हेर्नु उनको जिम्मेवारी थियो।
त्यसैले रेस्टुरेन्ट कसरी चलाउने, खर्च कसरी घटाउने र ग्राहकलाई कसरी खुसी पार्ने भन्ने काइदा उनले जानेका थिए। त्यही अनुभवले काठमाडौं आएर रेस्टुरेन्ट खोल्ने आँट पलाएको उनी बताउँछन्।
यसको तयारीका लागि एकदिन उनले घरमै बसेर पिज्जा बनाउने प्रयास गरे। उनको लक्ष्य कम खर्चमा गुणस्तरीय र स्वादिलो पिज्जा बनाउँछु भन्ने थियो।
धेरैचोटि प्रयास गरेपछि एकदिन उनी सफल भए। उनले बनाएको पिज्जा घरपरिवार र साथीभाइले खुब मन पराए। सबभन्दा ठूलो कुरा त, त्यसमा लगानी पनि खासै धेरै परेको थिएन।
घरकै भान्सामा गरेको सफल प्रयासपछि उनले विद्यार्थी र सर्वसाधारणलाई लक्ष्य गरेर कोटेश्वरमा सस्तो मूल्यको पिज्जा रेस्टुरेन्ट सुरू गरे।
र, ब्रान्डको नाम राखे — पिज्जा स्पट।
आठ वर्षअघि करिब चार लाख रूपैयाँ लगानीमा खोलेको यो रेस्टुरेन्टले सुरूकै दिनदेखि ग्राहक आकर्षित गरेको उनको भनाइ छ। दुई साताअघि मात्र उनले शंखमुलमा नयाँ शाखा खोलेका छन्।
'मैले यो रेस्टुरेन्ट खोल्दा सुरू सुरूमा स्थानीय बासिन्दा र चिनजानका मान्छे धेरै आउँथे। बाहिरी ग्राहक तान्न केही समय लाग्छ होला भन्ने सोचेको थिएँ। तर सस्तो मूल्य भएकाले कम समयमै मैले सोचेभन्दा धेरै ग्राहक आए,' उनले भने।
ग्राहकको मुखबाटै आफ्नो रेस्टुरेन्टको धेरै प्रचारप्रसार भएको उनको अनुभव छ।
'मेरो लक्ष्य नै म:म र चाउमिनको मूल्यमा पिज्जा बेच्छु भन्ने थियो,' उनले भने, 'त्यही भएर ग्राहकहरूले मन पराउनुभएको हो भन्ने लाग्छ।'
उनी सुरूका दिनमा १०० रूपैयाँमा एउटा पिज्जा बेच्थे। अहिले कुखुराको मासुदेखि चीज, ससेज, च्याउ लगायत सामग्रीको भाउ बढेपछि पिज्जाको मूल्य पनि बढेको छ। अहिले यहाँ चिकेन, चीज र ससेज पिज्जाको १८० रूपैयाँ पर्छ भने च्याउ र भेज पिज्जाको १९० रूपैयाँ पर्छ।
चिकेनभन्दा भेज पिज्जा किन महँगो नि?
सुधीरलाई यो प्रश्न धेरैले सोध्छन्। मैले पनि त्यही सोधेँ।
जबाफमा उनले भने, 'हामी भेज पिज्जामा चीज धेरै राख्छौं। त्यसैले चिकेनभन्दा भेज पिज्जाको मूल्य १० रूपैयाँ बढी राखेका हौं।'


उनी रेस्टुरेन्टका लागि चाहिने मासु र तरकारीहरू लिन हरेक बिहान आफै जान्छन्। पिज्जाका लागि हड्डी नभएको मासु मात्र प्रयोग गरिन्छ। हरेक दिन ३० देखि ३५ किलो मासु खपत हुने उनी बताउँछन्।
पिज्जा बनाउन मैदाको पिठो प्रयोग गरिन्छ। एक किलो पिठोबाट १२ वटा पिज्जा बनाउन सकिन्छ।
मासु, तरकारी, पिठो र ससेजभन्दा धेरै महँगो पर्छ, चीज। राम्रो चीजको मूल्य प्रतिकिलो १२ सय रूपैयाँसम्म पर्छ। बजारमा सस्तो चीज पनि पाइन्छ। तर त्यो राम्ररी पग्लिँदैन। नतन्किने समस्या पनि हुन्छ। राम्रो चीज महँगो भएकाले नै पिज्जाको भाउ बढाउनुपरेको उनको भनाइ छ।
आगामी दिनमा पनि चीजकै कारण पिज्जा महँगो पर्ने देखेर उनले एउटा उपाय सोचे — आफै चीज उत्पादन गर्ने।
यसको सुरूआत कोरोना लकडाउनमा भयो। त्यो बेला रेस्टुरेन्ट बन्द रहेकाले उनले घरमै चीज बनाउने प्रयास गरे।
'मैले युट्युबमा विभिन्न भिडिओ हेरेँ। अरू अनुसन्धान पनि गरेँ। त्यसै आधारमा चीज उत्पादन गर्न थालेँ,' सुधीरले भने, 'त्यस क्रममा कयौं लिटर दूध यसै फाल्नुपरेको थियो।'
सुधीरको एउटा स्वभाव छ — कुनै नयाँ काममा हात हालेपछि उनी त्यसलाई जसरी भए पनि फत्ते गरेरै छाड्छन्।
यही स्वभावका कारण उनले पटक पटक असफल भएर पनि आखिरमा चीज उत्पादन गरिछाडे। अहिले उनी रेस्टुरेन्टमा पिज्जा बनाउन आफ्नै चीज प्रयोग गर्छन्। उनको चीज कारखाना ललितपुरको टिकाथलीमा छ।
'हामीकहाँ पिज्जाको आकार अरू ठाउँभन्दा अलि सानो छ। तर हामी त्यसमा चीज राख्न लोभ गर्दैनौं। सकेसम्म राम्रो र मिठो हुने तरिकाले धेरै चीज प्रयोग गर्छौं,' उनले भने, 'चीजको परिमाण मात्र हेर्ने हो भने पनि अरूतिरको पिज्जाभन्दा हामीकहाँ धेरै सस्तो हो।'
यहाँ पाइनेजस्तै पिज्जा कसैले घरमै बनाए पनि १८० रूपैयाँमा कुनै हालतमा नबन्ने उनको दाबी छ।
'हामी एकैचोटि धेरै परिमाणमा पिज्जा बनाउँछौं, त्यही भएर अहिलेसम्म ठिक्कको फाइदा भइरहेको छ,' सुधीरले भने।

यो रेस्टुरेन्टको अर्को मुख्य विशेषता भनेको, यहाँ सधैं ताजा र तातो पिज्जा खान पाइन्छ।
ग्राहक आएर अर्डर गरेपछि मात्र पिठो डल्लो पार्न सुरू हुने उनी बताउँछन्। यसले कतिपय ग्राहकको गुनासो पनि सुन्नुपर्छ। उनीहरू अरू ठाउँभन्दा ढिलो भयो भन्दै झर्कने गर्छन्।
रेस्टुरेन्ट सञ्चालन दिउँसो १२ देखि राति ८ बजेसम्म हुन्छ। यसबीच ३ देखि ७ बजेसम्म ग्राहकको धेरै भिड लाग्छ। प्राय: ३० वर्षमुनिका ग्राहक धेरै आउँछन्।
'हाम्रो दैनिक कारोबार २० देखि ३० हजार रूपैयाँको बीचमा हुन्छ,' उनले भने, 'केही समययता फुड भ्लगरहरूले हाम्रो रेस्टुरेन्ट हिट बनाइदिएका छन्। यसले पनि कारोबार केही बढेको छ।'
सुधीर जति पिज्जाका पारखी छन्, उनकी ११ वर्षकी छोरीलाई पनि पिज्जा एकदमै मन पर्छ।
'मेरी छोरीलाई कहिलेकाहीँ बाहिरको पिज्जा खुवाउन लगेँ भने बाबाको रेस्टुरेन्टकै मिठो भन्छिन्,' सुधीरले मुसुक्क हाँस्दै भने, 'म यही कुरा अरूको मुखबाट पनि सुन्न चाहन्छु।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***


