सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दुई पटक पछि परेको स्थिति उल्टाउँदै न्युरोड टिम (एनआरटी) सँग अंक खोस्न सफल भएको छ।
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो खेलमा एपिएफ र एनआरटीले ३-३ गोलको बराबरी खेलेका हुन्।
खेलको ३२ मिनेटमा दर्शन गुरूङको गोलबाट एनआरटीले खेलमा अग्रता लियो। ३७ मिनेटमा एपिएफका लागि आसिस लामाले बराबरी गोल फर्काए।
४८ मिनेटमा दर्शनले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। ६० मिनेटमा मेसाउकेले अर्को गोल गरेपछि एनआरटी ३-१ गोलले अघि बढ्यो।
६५ मिनेटमा एपिएफका दिपेश धिमालले गोल गर्दै खेललाई ३-२ को स्थितिमा पुर्याएका थिए। ६९ मिनेटमा एपिएफका नवीन लामाले गोल गरेपछि एपिएफले दोस्रो पटक खेललाई बराबरीमा ल्याएको थियो।
बराबरीसँगै एघारौं स्थानको एपिएफले ६ खेलबाट ५ अंक जोडेको छ। एनआरटी भने ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ।