अन्तत: प्रतिक्षाको घडी समाप्त भएको छ। ४८ टिमबीच एक महिनाभन्दा बढी लामो समयदेखि चलेका खेलहरूपछि युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिनाबीच विश्वकप उपाधिका लागि आइतबार राति प्रतिस्पर्धा हुँदैछ।
दुवै टिमको फाइनलसम्मको यात्रा निकै रोमाञ्चक रह्यो। पहिलो खेलमै डेब्यू टोली केप भार्डेसँग बराबरीमा रोकिएको स्पेनले त्यसपछि बिस्तारै लय समात्यो।
स्पेनले प्रतियोगिताकै बलियो मानिएको साबिक उपविजेता फ्रान्सको चुनौती सेमिफाइनलमा उत्कृष्ट तरिकाले पन्छाएको थियो। प्रतियोगितामा अहिलेसम्म एक गोल मात्र खाएको स्पेन सन् २०१० पछि उपाधि जित्ने अभियानमा छ।
अब्बल रक्षापंक्ति र चुस्त मिडफिल्डका कारण स्पेनलाई बलियो मानिएको छ। यस्तोमा स्पेनले संसारकै उत्कृष्ट खेलाडी तथा यो प्रतियोगितामा लयमा रहेका लिओनल मेसीको अर्जेन्टिनासँग भिड्नु पर्नेछ।
अर्जेन्टिनाको राम्रो पक्ष मेसी हुनु त छदैछ, उनको जुझारूपन पनि हो।
नकआउट चरणमा अर्जेन्टिनाका लागि कुनै पनि खेल सहज हुन सकेन। इजिप्ट र इंग्ल्यान्डविरूद्ध अर्जेन्टिनाले पछि परेको अवस्था उल्ट्याएको थियो। कुनै पनि बेला खेलमा फर्कन सक्ने क्षमता नै अर्जेन्टिनाको बलियो पक्ष हो।
स्पेनिस भाषा बोल्ने दुवै टिमबीचको फाइनल हुनु पनि रोचक पक्ष हो।
खेलमा स्पेनका डिफेन्डर लापोर्टे र अर्जेन्टिनाका प्लेमेकर मेसी, दुवै टिमका मिडफिल्डरद्वय रोद्री र इन्जो फर्नान्डेज तथा स्पेनका विंगर लामिन यमाल र अर्जेन्टाइन लेफ्ट-ब्याक टाग्लियाफिको बीचको भिडन्त पनि हेर्नलायक हुनेछ।
यिनै विषयमा सेतोपाटीका प्रेम ढकाल र सीताराम कोइरालाले विस्तृत विश्लेषण गरेका छन्।
हेर्नुहोस् भिडिओ —