काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण आगामी डिसेम्बर ९ देखि १३ सम्म आयोजना हुने भएको छ। पाँच दिने महोत्सवका लागि हाल फिल्म छनोटको काम भइरहेको महोत्सवकी निर्देशक रम्यता लिम्बूले सेतोपाटीलाई जानकारी दिइन्।
सिनेमा प्रदर्शन, अन्तर्क्रिया र विभिन्न गतिविधिका साथ आयोजना हुने किम्फमा यस पटक 'ग्रीन ग्रोथ : ग्रीन रिकभरी' विषयमा सर्ट फिल्म प्रतियोगितासमेत आयोजना हुँदैछ। किम्फले सो प्रतियोगितामा फिल्मकर्मीहरुलाई सहभागी हुन आह्वान गरेको छ।
किम्फको वेबसाइटमा राखिएको जानकारी अनुसार सर्ट फिल्म प्रतियोगिताका लागि आगामी नोभेम्बर १२ सम्म फिल्म बुझाइसक्नु पर्नेछ। पाँच मिनेट अवधिका फिल्म जलवायु परिवर्तनका मुद्दा, त्यसका अवसर तथा चुनौतीका विषयमा केन्द्रित हुनुपर्ने बताइएको छ।
'जलवायु परिवर्तनको विश्वव्यापी असर देखिएको बेला फिल्ममार्फत् नेपाल र नेपालीमाझ जलवायु परिवर्तनको बदलिँदो स्वरुपबारे बुझन् यो सर्ट फिल्म फेस्टिभल आयोजना गर्न लागिएको हो,' निर्देशक लिम्बूले भनिन्।
संसारभर असर पारेको र छलफल भइरहेको यस विषयमा नेपाली पनि सहभागी हुनु जरुरी भएको उनले जोड दिइन्।
'ग्रीन ग्रोथ : ग्रीन रिकभरी' विषयमा सर्ट फिल्म प्रतियोगिता किम्फ र वार्षिक रुपमा राजधानीमा आयोजना हुने किम्फ र नेपाल-युरोपियन युनियनको आयोजनामा हुन लागेको हो।
प्रतियोगितामा फिक्सन र ननफिक्सन दुवै खालका सिनेमा पठाउन पाइने छ। मोबाइलबाट खिचिएका फिल्म पनि मान्य हुनेछन्।
प्रतियोगितामा छनोटमा पर्ने फिल्मबारे नोभेम्बर १५ मा जानकारी सार्वजनिक गरिने छ। उत्कृष्ट १० फिल्म १९ औं संस्करणको अवधिबीच डिसेम्बर ९ देखि १३ भित्र प्रदर्शन गरिने छन्। प्रथम हुने फिल्मलाई ५०० युरो प्रदान गरिने समेत जानकारी दिइएको छ।
'ग्रीन ग्रोथ : ग्रीन रिकभरी' सर्ट फिल्म प्रतियोगिताबारे https://kimff.org/kimff-short-film-contest/ मा विस्तृत जानकारी लिन सक्नु हुनेछ।