नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन्।
सोमबार दिउँसो महरले देउवासमक्ष राजीनामा पत्र बुझाएका थिए।
महरले आफ्नो कार्यकालमा गरेको कामको प्रशंसा गर्दै देउवाले धन्यवादसमेत दिएका छन्।
११ औं महाधिवेशनबाट महर नेविसंघ सभापतिमा विजयी भएका थिए। उनी सभापति देउवा पक्षका हुन्।
नेविसंघको दुई वर्षे कार्यकाल सकिएको अवस्थामा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि पदमा बसिराख्नु उचित नहुने भन्दै महरले राजीनामा दिएका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेविसंघबारे अब के गर्ने भन्ने एजेन्डामा छलफल नभए पनि महरको राजीनामा स्वीकृत गरिएको जानकारी भने दिइएको थियो।
कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार फेरि बस्ने गरी स्थगित गरिएको छ।