निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ।
शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतकहरूको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
उनका अनुसार समिति सात सदस्यीय हुनेछ। जसमा कांग्रेस र एमालेबाट २/२ जना सदस्य रहनेछन्। बाँकी अरू दलबाट राखिनेछ।
छानबिन समितिमा राज्य व्यवस्था तथा सुशासन समितिकै सदस्यहरूलाई भने नराख्ने सहमति भएको छ।
दलहरूले नाम दिएपछि समिति गठन हुनेछ।
समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिने निर्णय भएको पनि सभामुख घिमिरेका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए।
समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी 'कुलिङ पिरियड' को व्यवस्था उक्त विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेको थियो।
यसबारे समितिमा हंगामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेका थिए।
यो पनिः सांसदहरूले हंगामा मच्चाएको कुलिङ पिरियड षड्यन्त्रको 'मक्सद' के?