चौरासी वर्षीय मेरी आमा नातिले पठाइदिएको फराकिलो ग्याजेटमा हाँस्दै भन्नुहुन्छ, 'के गर्नु बस्छु कौसीमा। हेर्छु बाटोतिर। डुल्छन् आँखा परपरसम्म। को को हिँड्छन् बाटामा भनेर गन्छु।
कहिले आँखामा हातको पाली लगाएर हेर्छु, देख्छु कि आफन्ती कोही भनेर। तिमीहरू पनि आउँदै छौ कि भनेर अझ चनाखो भएर हेर्छु बाटोतिर।
निकैबेर बाहिरै बसेर हेरिरहन्छु अनि भित्र पस्छु के गर्नु तिमीहरू आउँदैनौं। फेरि पल्टिन्छु खाटमा अनि आउँछन् मेरा प्रिय सखीहरू नजिकै।'
आमा बडो काव्यिक पाराले बोल्दाबोल्दै अचम्मित भएर सोध्छु, ‘आमा हजुरका सखीहरू को छन् ?’
आमा चिम्सा आँखा पूरै छोपिने गरी हाँस्दै बोल्नुहुन्छ, ‘तिनै त छन् जो कहिले मबाट टाढा हुँदैनन्। अतितका सम्झना र वर्तमानका कल्पना। अहिले तिनै त छन् मेरो निकट।‘
हाँस्दै भन्छु आमालाई, ‘अँ आमा! के भन्छन् त हजुरका सखीहरू?’
आमा पनि हाँस्दै भन्नुहुन्छ, ‘सम्झनाले त मलाई घुमाउँछ फनफनी भिमान, महेन्द्रनगर, जनकपुर, आम्बोटे, बाडीगाउँ जम्मै पुर्याउँछ निमेषभरमा। धेरै घुमेपछि कल्पनाले भन्छे- भो भो अब धेरै घुम्नु हुँदैन, चुप लाग।
कतै जानु पनि पर्दैन नानी! खाटैमा पल्टिएर घुम्छु अब म त!'
आमाको कुरा सुनेर म जोडले हाँस्छु तर मन रून्छ आमाको बुढेसकाल सम्झिएर।
खुब हिँड्नुपर्ने. घुम्नुपर्ने, काम गर्नुपर्ने र बात गरिरहनुपर्थ्यो आमालाई। भिमानमा कहिले खेत, कहिले खोला, कहिले सत्सङ, कहिले हाट, कहिले भिमान बजार, कहिले सिन्धुली, कहिले जनकपुर घुमिरहनुपर्थ्यो संसारी भएर।
आमा फोनमा पुनः बोल्नुहुन्छ, ‘कहिले आउँछेस् नानी?’
आमाको प्रश्न सुनेपछि मलाई चरी भएर हुरूरू उडेर कपन पुग्न मन लाग्छ तर कर्तव्यको भारीले थचक्क थिचेको छ। अनि हाँस्दै आमालाई भन्छु, ‘मीमांसाको १८ गते परीक्षा सकिन्छ म त्यही दिन आउँछु आमा।‘
मेरो कुरा सुनेर आमा हतासिएको वाणीमा निरास भए जसरी बोल्नुहुन्छ।
‘अठार गते पो?’ फेरि आफैं बोल्नुहुन्छ, ‘हुन त हो, के गर्नु कसैलाई फुर्सद छैन। मलाई पो फुर्सद छ त! कसैका छोराछोरीको जाँच। कसैका नातिनातिना साना। लौ लौ मिलाएर आऊ म बाटो हेरिरहन्छु।'
मेरो मुटुमा गाँठो पर्यो आमाको बोली सुनेर। आमासँग केहीबेर कुराकानी गरेपछि मैले तुरून्त उर्मिला दिदीलाई फोन गरेँ, ‘दिदी आमालाई भेट्न भोलि कपन जाम् है।'
उही रगतबाट बनेको मुटु न हो, उत्तिनखेर दिदीले भन्नुहुन्छ, ‘मैले हिजै तँलाई भन्छु भनेकी थिएँ। लु लु उसो भए भोलि नै जाम्। अचेल आमाले छोरीहरू नजिक आएर सँगै बसिदिए हुन्थ्यो जस्तो गर्न थाल्नुभएको छ। खाना खाने गरी नै जाम् न है कान्छि! उषालाई पनि फोन गर।'
योजना अनुसार हामी तीन दिदीबहिनी कपन गयौं। आमाको अनुहार उज्यालो भयो।
मेरो दाजु शालीन छ। कम बोल्छ। आमा निकै दिन बिरामी भएर बसेको बेला एकदिन भनेको थियो, ‘राम्री, उज्याली, तङ्ग्रिएकी तेरी आमा। पीडामा छट्पटिएकी, तड्पिएकी जिङग्रिङ्ग भएकी मेरी आमा।'
मलाई दाजुको औधी माया लागेर आयो। हुन पनि हो आमा निकै पटक बिरामी भएर उठ्नु भएको छ। दाजु भाउजुले नै गर्दा आज हामीले आमा भनेर रमाउन पाएका छौं। कर्तव्यको हिमाल लिएर हिँडेका दाजुभाउजुको भृकुटी चुम्न मन लाग्छ।
एक वर्षअघि आमालाई सोधेकी थिएँ, ‘आमा! हजुरलाई कुन समय सबैभन्दा बढी रमाइलो लाग्छ। कुन समयमा बाँच्न पाए हुन्थ्यो लाग्छ?’
आमाको उत्तर सुनेर म तीन छक्क परेकी थिएँ।
‘मलाई त यही वर्तमानको समय ठिक लाग्छ। जे हातमा छ त्यसमा पो रमाउनुपर्छ! त्यो पो राम्रो। हिजोको समय आज खोजेर पाइन्छ? हिजो हिजै राम्रो थियो आज झन् राम्रो छ। जे जे भोगियो त्यो त सक्कियो। कति गरियो दुःख कति। अब सम्झेर साध्ये छ र? कति हैरानी, एक छाक भात खानैकै लागि कत्रो परिश्रम। बाफ्रे! जिम्मेवारी निभाउँदा नभाउँदा काँधै गलिसकेका थिए। अब त आनन्द छ।
अहिले त म घरभित्रको जोगी हुन पाएकी छु। यी यसरी आनन्दले खाटमा सुतेकी छु। भान्साको चिन्ता छैन। थालमै आउँछ तातो भात। गरेका छन् तेरा दाजुभाउजुले।
कत्रो छ खर्च। छोराछोरी पढाउनुपर्यो। समय अनुसार गर्नै पर्यो। यो बुढेसकालमा अरू के खोज्नु्? सन्तोक छ। भोक लाग्नुभन्दा अगाडि नै तातो खान पाएकी छु। छोराछोरी लड्लान भन्ने पिर छैन। मर्लान् भन्ने चिन्ता पनि छैन। सबै आ-आफ्नो थान्कामा लागिसके। कस्तो चैनको जीवन छ अहिले। मलाई त यही उमेर ठिक छ।'
म जिल्ल परेँ आमाको कुरा सुनेर। अनि फेरि सोधेँ, ‘आमा घरभित्रको जोगी भनेको के हो नि?’
गालाभरिको चाउरी तन्काएर उज्यालो अनुहार पार्दै भन्नुभयो, ‘कसैको कुरामा चासो नदिने। तँलाई थाहा छ। बुढाबुढी भएपछि आँखा नदेख्ने, कान नसुन्ने र कम बोल्ने गर्नुपर्छ। अनि शान्ति हुन्छ घरमा। धेरै खोजिनिन्दा गरेको राम्रो होइन। कसैका नराम्रा कुरा गरेर नबस्ने। चियोचर्चो नगर्ने। चासो धेरै नगर्ने। सन्तोषलाई गुरू थाप्ने। भगवानको नाम जप्ने। सत्सङ सुन्ने। ध्यान गर्ने। छोरा बुहारीमा विश्वास राख्ने। छोरा बुहारीले चौपट्टै गरेका छन् भनेर खुशी हुने। सबै कुराबाट जोगिएर हिँडेपछि भइएन त जोगी।' आमाको दीर्घ हाँसोले हामी आमाछोरी नै हाँसेका थियौं।
मैले मेरी आमालाई नमन गर्दै पुनः सोधेँ, ‘आमा हजुरले आजसम्म कहिले पनि अरूले जस्तो छोराबुहारीको नराम्रो कुरा हामी छोरीहरूसँग गर्नुहुन्न त किन? साँच्चै आमा हाम्रा दाजुभाउजुमा केही कमी छैन?’
आमाले झन् हाँस्दै भन्नुभयो, ‘तेरी आमाको कमिकमजोरी छ कि छैन? तेरो छ कि छैन? तेरा छोरीहरूको छ कि छैन? कमिकमजोरी सबैको हुन्छ। मान्छेको राम्रो कुरा हेर्नुपर्छ।
तेरी भाउजु हाँसेर हिँडेकी छे। घरै उज्यालो पार्छे। समयमा तातो लगाएर दिन्छे। रोग लाग्दा उपचार गर्छे। बिहान बेलुकै भात खाए जसरी खानुपर्ने औषधि टुटेको छैन। नाति नातिनाले घरै रमाइलो पारेका छन्। मलाई त्यसैमा आनन्द छ नानी! तिमीहरूलाई पनि राम्रो गरेका छन्।
हेर नानी! जसले छोरीसँग आफ्नी बुहारीको कुरा गर्छ त्यो जस्तो मूर्ख यो संसारमा अरू कोही हुँदैन। कति घरमा त छोरीहरूले नथेग्ने माया गरेका छन्। तातो न छारोको माया फोनबाट पोखेका छन्। भाउजु बुहारीले गरेको व्यवहारमा आमालाई उचालेका छन्। गुनासोको बनमारा फैल्याएका छन्। कुराकै खेती गरेर दिन काटेका छन्। पर बसेर पनि उचालेका छन् आमालाई। देखाएका छन् साखुल्ले पल्टिएर भाउजु बुहारीका व्यवहारमा दाग र धब्बाहरू। तराजुमा जोखेर बस्छन् भाउजु बुहारीको व्यवहार। ३६५ दिन सेवा गरेर बसेकी बुहारीका नराम्रो नराम्रा कुरा शिला खोजेर छोरीको परिवारलाई सुनाएर, मायाको भिख चाहिँ फेरि छोरा बुहारीसँग गरेका हुन्छन्।
छोरीले कठैबरी मेरी आमा भन्दा आफूलाई कोही त भाग्यमानी ठान्छन्। किन कसैले कठैबरी भन्नुपर्यो?
पर बस्नेको सम्झना त आउँछ तर घरकालाई नङ्ग्याएर पर बस्नेलाई चाहिँदोभन्दा धेरै विश्वास गर्दा राम्रो हुन्छ त? घरमा के के हुन्छ हुन्छ, जम्मै कुरा छोरीलाई सुनाउँछन् त? तीन माना भात पेटमा अट्छ तीनवटा कुरा पेटमा अट्दैँन मान्छेको। राम्रो कुरा पो सुनाउने नराम्रो किन सुनाउने। काम न काजले कुरैको लागि कुरा गर्नू त! दाजुभाउजुले यो गरे, त्यो गरे भनेर नचाहिने कुरा हरेक दिन तँलाई सुनाएँ भने तेरो र भाउजुको सम्बन्ध यस्तै हुन्छ?
तँ मिल्न सक्छेस् भाउजुसँग? मलाई त छोरी र बुहारी मिलेर हिँडेको मनपर्छ। देखिस्, आमालाई पिरो खानुहुँदैन भनेर तरकारी र अचार छुट्याएर राखिसकी। यो हो नि त माया। यो संसारमा कुनै पनि कुरा दिगो हुँदैन। आज छ भोलि छैन।
त्यसैले आजमा खुशी हुन जान्नुपर्छ। अझ अहिले मान्छे त कुरा गर्नकै लागि कुरा गर्छन्। भगवानको पनि तीन ढकिया कुरा काटेर बस्छन्। कुरा सुनाउने बानी त निकै खराब हो! कोही त दिनभरि फतौरा चुटेर पनि बस्न सक्छन् बाफ्रे! म त बत्ती कात्छु, ध्यान गर्छु, टीभी हेर्छु।
हिजो टिभी हेर्छु भन्दा हेर्न पाइन्थ्यो र? आज हेर त, ओछ्यानमा सुतेर, पल्टिएर, लडेर भगवानका लीला हेर्न पाइएको छ।'
आमाको कुरा निकै चेतनामूलक लाग्छन् मलाई। विश्वविद्यालयबाट प्राप्त गरेर नसकिने ज्ञान दिँदै हुनुहुन्छ मेरी आमा!
हामी तीनै दिदीबहिनीहरू आमाको वरिपरी बसेका छौं। आमाको अनुहारको चमक नै अर्कै छ।
दाजुले निकै अगाडि देखेको रहेछ कि क्या हो आमाको यो अवस्था आउँछ भनेर। आमालाई घुमाउनसम्म घुमायो।
आमाको मन खुब राम्रोसँग बुझेको रहेछ दाजुले। आमाको मुखबाट निस्किएको इच्छा पूरा गरिदियो। भारतका धेरै ठाउँ घुमायो। साइँलीले पनि आमाको मन पढेर होला अमेरिका घुमाएर ल्याई।
आमालाई गाडिमा हिँड्डुल नगर्न डाक्टरले सल्लाह दिएको छ महिनाभन्दा बढी भयो। ढाडको हड्डी थोरै भाँचिएकोले झण्डै तीन महिना त खाटमै सुत्नुभयो। बल्लतल्ल अहिले केही कम छ। दाजु भाउजुको अटल सेवा र डाक्टरको परामर्शले आमा छतसम्म उक्लिन सक्नुभएको छ अहिले।
आमा बोल्नलाई उत्सुक हुनुहुन्छ। आफ्ना कुरा सुनाउन आतुर हुनुहुन्छ अनि उज्यालो अनुहार पार्दै बोल्नुहुन्छ, ‘उः छततिर जान्छु, माटो चलाउँछु। हिँड् न म देखाउँला तँलाई छतमा के के रोपेको छु। छतमा नै डुल्छु। तल झर्छु टिभी हेर्छु। खान्छु, सुत्छु, उठ्छु फेरि खान्छु, सुत्छु उठ्छु।'
आमाको कुरा सुनेर बडो ऊर्जा मिल्छ। मनमा आनन्द आउँछ। आमाले आइज आइज भने पनि घरी घरी आउन पाउदिनँ। हुन त नजिकै हुनुहुन्छ आमा, कपन आकशेधाराभन्दा अलि माथि त हो नि मेरो माइतीघर।
गुर्जुधाराबाट एउटै गाडिमा आइन्छ तर पनि एक- दुई महिना कट्छ। फोनमा पनि दिनदिनै कुरा हुन पाउँदैन। अभ्यस्त हुनुहुन्न मेरी आमा प्रविधिमा। आउँदैन आमालाई मोबाइल चलाउन।
हामी सबैलाई घरमा भ्याइनभ्याई हुन्छ। सबैको घरमा सबैले कामको पहाड लिएर हिँडेका हुन्छन्। जीवनको उतरार्धमा मेरी आमा समयको आकाश ओडेर बस्नुभएको छ। समयको पृथ्वीमा फुर्सदले उभिनुभएको छ। हामीलाई अहिले समयको चाबुकले कोर्रा हान्दै गरेको बेला छ। लाग्छ हामीलाई पनि समयको आकाश ओडेर बस्ने दिन पनि त आउँछ तर त्यति बेला आमासँग बोल्न पाउँला र!
आशुतोष छोराले अमेरिकाबाट पठाइदिएको छ ठूलो मोबाइल। बेलाबेलामा नाति मानसले जोडिन्छ छोरीहरूसँग कुरा गर्न आमालाई।
'खाना खान आइस्यो अब,' भाउजु बोलाउनुभयो।
हामी सबैजना मिलिजुली भान्साको काम सकेर आमालाई वरिपरी राखेर पुनः बैठक कोठा गफिएका छौं। आमा पनि पुराना पुराना कुरा झिकेर निकै रमाउनु भएको छ।
'नानी मान्छेले आकाश ठूलो छ भन्छन् तर थाहा छ आकाशभन्दा ठूलो हुन्छ मान्छेको पेट। जम्मै कुरा आफ्नै पेटमा हालौं भन्छ। कहिले अघाउँदैन मान्छे। यो पनि हालौं त्यो पनि हालौं भन्छ।'
आमाको कुरा सुनेर दंग छौं हामी। अनि आमासँग गाला टाँस्दै सोध्छु, ‘आमा कुन कुराले मान्छेलाई पुग्छ त?’
आमा चहकिलो मुहार लगाउँदै बोल्नुहुन्छ, ‘माया र प्रेमले भरिपूर्ण हुन्छ हृदय, आकाश। मायाले जत्रो पेट पनि भरिन्छ। सबैलाई पुग्छ माया।'
आठ सन्तानकी आमा। जीवन संघर्षको मैदानमा एक्लै हिँडेकी एक धावक महिला। आमालाई फेरि अर्को प्रश्न तेर्स्याउँछु, ‘आमा सबैभन्दा बढी कुन छोरीले माया गर्छे।'
‘सबैले गर्छन् बरोबरी। सबैलाई उसैगरी जन्माएँ, हुर्काएँ। आ-आफ्नो क्षमता अनुसार गर्छन् व्यवहार पनि उत्तिकै।'
आज एकादशी भएकोले उर्मिला दिदीले फापरको दाना लिएर आउनुभएको रहेछ। फापरको दाना रोटी पकाउन भिजाएको छ।
हामीले त खाना नै खायौं। आमाले भिमानमा पकाएको फापरको त्यो रोटीको स्वाद मुखमा आएपछि मैले पनि दिउँसो फापरको रोटी खाने भनेँ।
भान्सामा बसिरहेको हामीलाई आमाले भन्नुभयो, ‘हिँड माथि छतमा मेरो खेती हेर्न। मैले के के रोपेकी छु।' हामी सबैजना आमाको पछि लागेर गयौं। हरियाली ओडेर बसेको मेरी आमाको भिमान देखियो। बिघौँ बिघा जमिनमा कुदेकी कर्मवीर आमा आज छतबारीमा उत्सव मनाउँदै गरेको देख्दा नमन गर्न पुगेँ आमालाई।
उस्तै आमा भए भिमानको त्यो स्वराज सम्झिएर बिरामी नै पर्थे होलान् तर मेरी आमा छतमा राखेको गमलाको माटोबाट पुग्नुहुन्छ भिमान। दौडनुहुन्छ खले गरा, बारीखेत, द्वारेकित्तामा।
दाजु भाउजु भन्नुहुन्छ, ‘आमा खाली छतमा जानुहुन्छ कतै लड्नुभयो कि भनेर डर लाग्छ।'
दाजु भाउजुको डर पनि नाजायज त हैन तर आज म आमाको मुहारमा हेर्छु खुशीको खजाना छ। माटो छोएर अतित भेट्नुहुन्छ सायद आमाले। गमलामा फलेका तरकारीमै देख्नुहुन्छ भिमानको त्यो सम्पूर्ण सृष्टि।
आमाको कौसी खेतीमा ‘भिन्डी छन् फलेका, जिम्मु काट्नेबेला भएको छ। कागती, साग छ। फूलहरू ढकमक्क फुलेका छन्। ड्यागन फ्रुट लहलह भएको छ। तुलसीदेखि बाबरी, कडी पत्ताले छतबारी रमझम देखिएको छ।
आमाको उत्साह सानो छैन, छोरीहरूलाई आफ्नो पौरख देखाउन पाउँदा। कडी पत्ता टिपेर लैजा भन्नुहुन्छ। जिम्बु पनि काट्न लगाउनुहुन्छ। आमालाई कौसी निकै मनपर्छ किनकी छतमा माटो छ। आमा माटोसँग जोडिनु भएको छ।
जबजब माटोमा आमाको हात पर्छ आमाको अनुहारमा वसन्त फुल्छ। म दंग पर्छु कौसी खेतीको यो संस्कृतिप्रति।
मनभरि आमाको त्यो समय र यो समय तुलना गर्दै घर फर्किन्छु। कानभरि आमाको वाणी गुञ्जाएमान हुन्छ ‘जे शेष छ त्यही विशेष छ।'