नेपाली महिला राष्ट्रिय फुटबल टोलीको पछिल्लो १५ वर्षको प्रदर्शनमा खोट लगाउने ठाउँ छैन। सन् २०१० देखि १३ वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेलिसकेको छ नेपाली टोलीले।
राष्ट्रिय महिला टोलीका खेलाडी अहिले घरेलु फुटबलमा मात्र सीमित छैनन्। अन्तर्राष्ट्रिय लिग खेलिरहेका छन् त्यो पनि दक्षिण एसियामा होइन युरोपमा।
भर्खरै राष्ट्रिय टोलीको कप्तानी पाएकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गत दुई सिजन फ्रान्सको शीर्ष डिभिजनको लिग खेलिन्। गोलकिपर अन्जिला तुम्बापो सुब्बाले एक सिजन ग्रिसको लिग खेलिसकिन्।
अर्की फरवार्ड रेखा पौडेल युएईको शीर्ष क्लबबाट खेलिरहेका छिन्। भारत र भुटानमा लिग खेलेका नेपाली महिला खेलाडीको संख्या बढिरहेको छ।
यस्तोमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा महिला विश्वकप र एसिया कप खेल्ने योजना अघि बढाएको छ। तर खेलाडीका लागि पर्याप्त सुविधा र व्यवसायिकता भने खड्किरहेको छ।
शनिबार उज्वेकिस्तानमा सकिएको एएफसी एसियन कप २०२६ को छनोट खेलअघि नेपाली टोलीमा एकता देखिएन। एन्फको कमजोरीका कारण एकै खेलमा दुई कप्तानको नाम घोषणा भयो।
भर्खरै राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका बेल्जियन प्रशिक्षक प्याट्रिक डि विल्डेले उज्वेकिस्तान जानुअघि नै कप्तान फेर्ने संकेत दिइसकेका थिए।
तर विल्डेले छनोटअन्तर्गत लाओसविरूद्धको पहिलो खेलको आधा घन्टाअघिसम्म पनि कप्तानको नाम उपलब्ध गराएनन्।
लाओसविरूद्धको खेलका लागि उनले नियमित कप्तान अन्जिलाको स्थानमा अन्जना रानामगरलाई खेलाएका थिए। अनि उनले कोही पनि कप्तान उल्लेख नगरी प्लेइङ-११ को नाम एन्फा व्यवस्थापनलाई उपलब्ध गराए।
त्यसपछि एन्फा व्यवस्थापनले सिनियर खेलाडी र यसअघि पनि अन्जिला टिममा नहुँदा कप्तानी गरिरहेकी रेनुका नगरकोटेको नाम कप्तानमा रूपमा रहेको भन्दै सार्वजनिक गर्यो। तर प्रशिक्षक विल्डेले भने कप्तानको आर्म ब्यान्ड साम्बलाई लगाइदिए।
यो विषयमा एन्फा व्यवस्थापनले प्रशिक्षकसँग राम्रोसँग कुराकानी नगरेको प्रष्ट देखिन्छ। कप्तानको विषयमा टिम व्यवस्थापनसँग असमझदारी बढेपछि नेपालबाट एन्फा पदाधिकारीले प्रशिक्षककोअनुसार अघि बढ्न एन्फा व्यवस्थापनलाई निर्देशन दिएको थियो।
यसरी टोलीभित्र र बाहिर तालमेल मिलाउन नसकेको एन्फा व्यवस्थापनको असर नेपाली टोलीमा पनि देखिन्छ। किनभने नेपाली टोली निर्णायक र महत्वपूर्ण खेलमा सधैं चुकिरहेको छ।
निर्णायक र महत्वपूर्ण खेलमा लगातार चुकिहरेको नेपालको नियती शनिबार पनि दोहोरियो। सन् २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुनका लागि घरेलु टोली उज्वेकिस्तानविरूद्धको निर्णायक खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।
दोस्रो हाफ पुरै १० खेलाडीमा खेलेको उज्वेकिस्तनानविरूद्ध नेपाल पहिलो हाफमा ३-१ गोलले पछि परेको थियो। दोस्रो हाफमा नेपालका लागि साम्बाले दुई गोल फर्काउदा खेल ३-३ गोलको बराबरीमा पुगेको थियो।
समूह विजेता मात्र एसियन कपमा छनोट हुने व्यवस्था छ। निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा नेपालका लागि दुई खेलाडी गोल गर्न असफल भए।
पहिलो पेनाल्टी प्रहार गरेकी कप्तान सावित्रा भण्डारी साम्बाको प्रहार पोलमा लागेर फर्कनु नेपालका लागि दुर्भाग्य सावित भयो।
त्यसपछि गीना राना र सविता रानाले गोल गरे। तर चौथो पेनाल्टी हानेकी गोलकिपर अन्जना रानामगर असफल भइन्। उनको प्रहार उज्वेकिस्तानकी गोलकिपरले विफल पारिन्। उज्वेकिस्तानका लागि भने चारै खेलाडीले पेनाल्टीमा गोल गरे।
यसअघि दुवै टोलीले लाओस र श्रीलंकलाई पराजित गरेका थिए। नेपालले लाओसलाई ९-० र श्रीलंकलाई ८-० गोलले हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले पराजित गरेको थियो। दुवै टोलीले गोलअन्तर १७ भएकाले खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नजिताको टुंगो लगाइएको हो।
नेपाली महिला फुटबल टोली गत फागुनमा आफ्नो १३औं फाइनलमा पराजित भएको थियो। दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालमाथि म्यानमारले २-० गोलले पराजित गरेर उपाधि जितेको थियो।
नेपालले गत कात्तिकमा १२औं फाइनल खलेको थियो। साफ महिला च्याम्पिनसिपको फाइनलमा दशरथ रंगशालामा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित हुँदा लगातार १२ औं फाइनलमा पनि उपविजेतामै सीमित बनेको थियो।
नेपाली महिला फुटबलका लागि अन्तर्राष्ट्रिय फुटबलको फाइनल लगातार पीडादायी बनिरहेको छ।
नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनल गुमाएको छ। २०२४ को साफको फाइनल गुमाएको नेपालले बंगलादेशसँग सन् २०२२ को संस्करणको फाइनलमा पनि ३-१ गोलको पराजय भोगेको थियो। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।
नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको थियो। सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो।
नेपालले २०१९ मा भारतमा भएको वुमन्स गोल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो। तर नेपाली टिम उपाधि भिडन्तमा म्यानमारसँग पराजित हुन बाध्य भयो। सन् २०१९ मै किर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि नेपालले उपविजेतामै चित्त बुझाउन पर्यो। नेपाली टिम उज्वेकिस्तानसँग पराजित भएको थियो।
दुई वर्षअघि नेपालले वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) विमेन्स फुटबल प्रतियोगिताको फाइनलमा पुगेर एघारौं पटक उपाधि नजिक पुग्यो। उपाधि जोर्डनसँग फाइनल खेल्दा फेरि नेपाल अभागी सावित भयो। जोर्डनसँग नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो।