नेपालको अद्यावधिक (राजनीतिक\प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गरेकी हुन्।
विगतमा विभिन्न कारणले छुट्याइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक\प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो। सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो।
नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरूरी हुने भएकाले उक्त प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जानकारी दिएको छ।
अंग्रेजी संस्करणको नक्सा प्रकासन भएसँगै संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।
अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कूटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय समुदायमा पठाउनका निम्ति बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत् पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।