अवैधानिक तरिकाले नगरसभा सम्पन्न गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयसहित पाँच विरुद्ध असन्तुष्ट वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।
उपमहानगरका नगरप्रमुख लालकिशोर साहले कानुनविपरित फर्जी हस्ताक्षर गराएर नगरसभा सम्पन्न गरेको भन्दै सर्वोच्चमा वडाध्यक्षहरुले उत्प्रेषण मुद्दा दर्ता गराएका हुन्।
मुद्दा दर्ता गराउनेहरुमा वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, ९ का वडाध्यक्ष परमेश्वर साह र नगरसभा सदस्य नाजिर हुसैन छन्।
उनीहरुले संयूक्त रुपमा दर्ता गराएकाे मुद्दामा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, नगरसभा, नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिताकुमारी मिश्र र प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मीलाई विपक्षी बनाइएकाे छ।
जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा अवैधानिक तरिकाले गरिएकाले मुद्दा दायर गरिएको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए।
आफूहरुले अवैधानिक तरिकाबाट सम्पन्न नगरसभा रद्द हुनुपर्ने माग दावी सहित सर्वोच्चमा उत्प्रेषण मुद्दा हालेको वडाध्यक्ष साहले बताए।
जनकपुरधाम उपमहानगरपालिकाले पाँचौं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका वावजुद पनि असार १० गते राति सम्पन्न गरेको थियो।
मेयर लालकिशोर साहले १५/२० जना बसेर फर्जी हस्ताक्षर गरी बहुमत पुर्याएको देखाएर गैरकानूनी ढंगबाट नगरसभा सम्पन्न गरेको अधिकांश वडाध्यक्षहरुले आरोप लगाएका थिए।
यता सर्वोच्चले निवेदक तथा विपक्षीहरुलाई साउन ५ गते हाजिर हुनका लागि बाेलाएकाे छ।