राजधानी दोहामा आफूलाई दोस्रो पटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य यही साता कतार जाने भएको छ।
ईस्लाम धर्मावलम्बीहरूको चाड ‘इद अल अदा’को सार्वजनिक बिदाका समय त्यहाँ बसोबास गर्दै आएका नेपाली समुदायलाई सांगीतिक कोसेली लिएर ब्याण्ड त्यसतर्फ जान लागेको हो।
नेपथ्यले अगस्ट १२ सोमबार (साउन २७) बेलुकी सात बजेदेखि दोहास्थित ‘एसियन टाउन एम्पीथिएटर’मा प्रस्तुती दिनेछ।
यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ मा ब्याण्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो।
नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरूले हल्ला चलाउँदै र कतिपयले टिकटसमेत बेचेर सोझासाझा दर्शकहरूलाई दुःख दिइरहेको पृष्ठभूमिमा पाँच वर्ष पहिले अचानक ब्याण्ड पुग्दा धेरैले ‘फेरि पनि झुक्याइएको’ ठानेका थिए।
उक्त कन्सर्ट सकेर फर्कँदै गरेका नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई विमानस्थलमा भेट्ने तन्नेरीहरूमध्ये कतिपयले कन्सर्टको बारेमा जानकारी नै नभएको त कतिपयले पहिलेजस्तै झुक्याइएको हुन सक्ने ठानेर नगएको बताएका थिए।
‘त्यतिबेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपालि फेरि हामीलाई त्यहाँस्थित ब्याण्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु।’
मजदुरी गर्नका निम्ति विदेसिएका नेपाली दाजुभाइको भोगाइमै आधारित रहेर नेपथ्यले केही वर्षअघि ‘मै मरि जाउँला, जीवन छोट्टो छ’ बोलको गीतमा म्युजिक भिडिओ बनाएको थियो। त्यो भिडिओ परदेशमा रहेका तन्नेरीले आफ्नी श्रीमतीसँग गरेको संवादका रूपमा ‘कमिक एनिमेसन’को प्रयोगबाट तयार पारिएको थियो। सन् २००८ मा सार्वजनिक भएको यस गीतलाई दुई वर्षअघि म्युजिक भिडिओ बनाएर युट्युबमा राखिएपछि अत्यधिक मन पराइएको छ।
‘यसरी परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइहरूलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लाग्ने गर्छ,’ गायक अमृत भन्छन्, ‘सधैं जस्तै नेपथ्यले नेपाली माटोबाटै उब्जिएको लोकभाकाहरूमा आधारित आफ्ना सिर्जनामार्फत् ती दाजुभाइहरूलाई मनोरञ्जन गराउने छौं।’
अघिल्लोपटक नेपथ्य पहिलो प्रस्तुतीका निम्ति दोहा पुग्दा त्यहाँको स्थानीय अवस्था र चालचलनबारे अनभिज्ञताकै कारण पनि कतिपय मुश्किलको सामना गर्नुपरेको ब्याण्डको अनुभव छ।
‘जस्तो कि कतारमा एक दिनको निम्ति मात्र कार्यक्रम स्थल बुक गरिएको थियो र अर्कातर्फ बिहान एघार बजेदेखि बेलुकीसम्मै गर्मीले गर्दा त्यहाँ काम गर्न सरकारले अनिवार्य रोक लगाएको अवस्था थियो,’ गायक अमृत अघिल्लो अनुभव सुनाउँदै भन्छन्, ‘यस्तोमा कार्यक्रमस्थलको प्राविधिक परीक्षण र विशेषतः ध्वनी व्यवस्थापनको पर्याप्त तयारीबिनै कन्सर्ट देखाउनुपरेको थियो।’
यसपटक भने त्यस्ता अनुभवहरूलाई ध्यानमा राखेर तयारी गरिने ब्याण्डले जनाएको छ ।
कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाईजिङ एण्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईंले गरेका हुन्। आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् ।
‘स्रोता दर्शकहरूको अपार माया पाएको कतारमा प्रस्तुतीका निम्ति सधैंजस्तै यसपालि हामीले गीतहरू समेत विशेष तवरबाट छनोट गरेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतीलाई अविस्मरणीय बनाउन तत्पर छौं।’
सधैंजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरू ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्।