चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' ले घरेलु बक्स अफिसमा १२ करोड रूपैयाँको आँकडा पार गरेको छ।
माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ३० दिनमा सिनेपाः बक्सअफिसमा १२ करोड २३ लाख ३८ हजार ८२९ रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ४ लाख ६१ हजार ५७२ वटा टिकट बिक्री भएका छन्। यो विवरण फागुन १६ गते शनिबारसम्मको हो। सोमबार फिल्मले प्रदर्शनको ३२ औं दिन पूरा गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबारसम्मको बक्स अफिस विवरणअनुसार 'आबाट आमा' यस वर्ष धेरै कमाउनेमा तेस्रो नम्बरमा छ। पहिलो नम्बरमा फिल्म 'परान' छ। यसले नेपालमा १७ करोड ८४ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। दोस्रो नम्बरमा फिल्म 'जेरी अनटप' छ। यसको कमाइ १२ करोड २६ लाख ६ हजार छ।
'जेरी अनटप' लाई 'आबाट आमा' ले कमाइमा छिट्टै पछि पार्ने आँकलन गर्न सकिन्छ।
'आबाट आमा' का कलाकारहरूको कुरा गर्दा यसमा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ। यो भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो।
'आबाट आमा' सुपरहिट भएसँगै 'आबाट आमा २' को समेत निर्माण घोषणा भइसकेको छ। यतिबेला हलमा नयाँ रिलिज फिल्म नभएकाले 'आबाट आमा' निर्वाचन पछिसम्मै हलमा टिक्ने अनुमान गरिएको छ।