फागुन २१ गते (बिहीबार) हुने निर्वाचनलाई लक्षित गर्दै सिनेमा हलहरू बन्द हुने भएका छन्।
देशका प्रमुख मल्टिप्लेक्स चेनहरूले यसबारे सूचना जारी गर्दै दर्शकहरूलाई जानकारी दिएका छन्।
सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फागुन २१ गतेका दिन आफ्ना सबै हलहरू बन्द रहने जानकारी दिएको छ। साथै, निर्वाचन अघिल्लो र पछिल्लो दिन केही स्थानका हलहरूको सेवा प्रभावित हुने समेत जनाएको छ। क्यूएफएक्सले हल जानूअघि आधिकारिक एव वा वेबसाइट जाँच गर्न सुझाव दिएको छ। साथै, सबैलाई मतदानमा सहभागी हुन समेत प्रेरित गरेको छ।
त्यस्तै, बिग मुभिजले निर्वाचनलाई लक्षित गर्दै फागुन २० र २१ गते दुई दिन हल बन्द हुने जानकारी दिएको छ। बिग मुभिजले आफ्ना कर्मचारी र सर्वसाधारणलाई मतदान गर्ने अधिकार प्रयोग गर्न प्रोत्साहित गरेको छ। सिनेमा हल कहिलेदेखि खुल्ने भन्नेबारे बिग मुभिजले खुलाएको छैन।
आईएनआई सिनेमाजले सूचना जारी गरेको छैन। यद्यपि, वेबसाइटमा बुधबारका लागि शो तय गरेको छ भने बिहीबारदेखि शो तालिका उपलब्ध छैन। वान सिनेमाज पनि बुधबार खुला रहनेछ।
यतिबेला हलमा 'आबाट आमा', 'रमिताको पिरती', 'प्रवासी जीवन' लगायतका नेपालीसहित केही हिन्दी फिल्म प्रदर्शनरत छन्।